विकास खोज्दै स्थानीयले बनाएको सन्दकपुरको ढापपोखरी

इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेपे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ। सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवर्द्धन हुन नसकेको हो।

चन्द्रपाल थेपे ढापपोखरी सिमसार संरक्षण समितिका अध्यक्ष युवराज भट्टराईले पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढापपोखरीमा आवश्यक बजेट अभावमा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धनको काम गर्न समस्या भएको बताउनुभयो। स्थानीयले ८ वर्षअघि बाँध बाँधेर पानी जम्मा गरी विकास र विस्तार गरेको ढापपोखरीको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नजाँदा ढापपोखरी सङ्कटमा परेको उहाँको भनाइ छ। सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन।

प्रचुर सम्भावना भएर पनि सङ्कटमा परेको संरक्षण समितिका अध्यक्ष भट्टराईले बताउनुभयो। “ढापपोखरी पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने, पोखरी वरिपरि पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सेल्फी पार्क बनाउनुपर्ने, पानीको फोहोरा फाल्ने संरचना निर्माण गर्नुपर्ने, डुङ्गा सञ्चालनका लागि व्यवस्थित बोटघर निर्माण गर्नुपर्ने, वरीपरी ड्रेन बनाउनुपर्नेलगायतको संरचना र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक छ,” अध्यक्ष भट्टराइले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको हैसियतले सन्दकपुर गाउँपालिकाले स्वामित्व ग्रहण गरी आवश्यक पहल गर्नुपर्छ।”

ढापपोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण आकर्षक गन्तव्यका रूपमा विकास भए पनि आवश्यक संरक्षणको अभावमा सङ्कटमा परेको समितिका उपाध्यक्ष निरबहादुर फागोले बताउनुभयो। “पोखरीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि यसको संरक्षण र प्रवर्द्धनसँगै र प्रचारप्रसार गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “पोखरीको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न सकेमा धेरै पर्यटकको उपस्थिति हुने सम्भावना छ, त्यसका लागि तिनै तहको सरकारको ध्यान जान जरुरी छ।”

ढापपोखरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आएको अध्यक्ष भट्टराईले बताउनुभयो। सुरुका वर्ष पोखरीको संरक्षण र विकासका लागि केही बजेट आए पनि पछिल्लो चार वर्षदेखि आउनै छाडेको उहाँको गुनासो छ। ढापोखरीसँगै रहेको गजाधर–धनमाया रङ्शाला र मन्दिरलाई समेत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको भए पनि स्रोतसाधनको अभावमा समस्या रहेको उहाँले बताउनुभयो। ढापपोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ। दुई सय १५ मिटर लम्बाइ र एक सय मिटर चौडाइ रहेको पोखरीको क्षेत्र विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिने भट्टराईले बताउनुभयो।

विसं २०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर ढापपोखरी निर्माण अभियान सुरु गरेका थिए। दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरीको निर्माण भएको हो। क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र ढुङ्गाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ। डुङ्गा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन्।

इलाम सदरमुकामदेखि करिब २१ किलोमिटर उत्तरमा पर्ने ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयले घरबास सञ्चालन गरेका छन्। ढापपोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई आकर्षणको केन्द्र भएको छ। तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link