मुस्ताङको घरपझोङ गाउँपालिका–३ मा रहेको मार्फाखोलामा बेमौसमी बाढी आउन थालेपछि बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित हुन थालेको छ। पछिल्लो एक हप्तायता साँझपख खोलामा पानी र बाढीको सतह बढेर आउन थालेको छ। मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको र बाढी आउन थालेपछि जोखिम बढेको हो।
गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले मार्फाखोलाको बाढीले बेनी–जोमसोम सडकमा यात्रा गर्ने स्थानीयवासी, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको बताउनुभयो। खोलामा बाढी आउँदा सवारीसाधन वारपार गर्न नसक्ने, खोला तार्ने क्रममा फसिने, इञ्जिन बिग्रने, बाढीले मोटरसाइकल, स्कुटरलाई बगाएर दुर्घटना हुने जोखिम बढेको उहाँले बताउनुभयो।
मुस्ताङ घुम्न गएका पोखराका केशव अधिकारीले मार्फा खोलामा बाढीले करिब दुई घण्टासम्म रोकिनुपरेको बताउनुभयो। धवलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लँदा ठाडो खहरे खोलामा बाढी आएको हो।
ठाडो खहरे खोलामा कालो लेदो माटोसहितको बाढी आएपछि सवारीसाधन वारपार गर्न सक्दैनन्। छायाँवृष्टि हुने सुक्खा बलौटे भूगोल भएको मुस्ताङमा पछिल्ला वर्ष बाढीपहिरोले दुःख दिन थालेको छ।
बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईँले बाढी आउँदा सवारी वारपार गर्नका लागि अस्थायी पुल बनाउने तयारी गरेको बताउनुभयो। आयोजनामार्फत मार्फाखोलामा एक सय २० मिटर लामो पुल बनाउन पाँच वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु २१ करोड ६० लामा ठेक्का सम्झौता गरेको थियो।
पुलका तीनमध्ये दुईवटा स्पाम ढलान भएको छ। बीचको स्पाम ढलान गर्न र पहुँचमार्ग बनाउने काम बाँकी छ। निर्माण व्यवसायीलाई पुल निर्माणलाई गति दिन ताकेता गरिएको इन्जिनियर चापागाईँले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
