नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगर प्रमुख प्रशान्त विष्ट र गैरसरकारी संस्था एसएनभी नेपालकी वास नेता (लिडर) नादिरा ख्वाजाले संयुक्त रूपमा दिसाजन्य लेदो व्यवस्थापन क्षेत्रको शुभारम्भ गर्नुभयो। उपमहानगरसँगको समन्वयमा एसएनभी नेपालले ‘स्वास्थ्य तथा विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम’अन्तर्गत निर्मित अस्थायी ट्रेन्च केन्द्र उपमहानगर हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले उपमहानगरले अस्थायी रूपमा दिसा विसर्जन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएपछि खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताउनुभयो। उहाँले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई प्रदूषित पार्ने र सङ्क्रामक रोगको महामारी फैलिने जोखिम हटेको उल्लेख गर्नुभयो।
“घरजन्य र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो व्यवस्थापन कसरी गर्ने भन्ने समस्या थियो। आज अस्थायीरूपमै भए पनि संरचना बनेको छ”, प्रमुख विष्टले भन्नुभयो। केन्द्र बनाउनका लागि डम्पिङ साइट क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढेको र सङ्घीय सरकारसँग पनि सहयोग मागेको जानकारी दिँदै अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न संयन्त्र बनाइने उहाँले बताउनुभयो।
एसएनभीकी वास टोली नेता ख्वाजाले नेपालगञ्ज उपमहानगरको सुरक्षित दिसाजन्य लेदो व्यवस्थापनको प्रयासलाई सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालगञ्जलाई स्वास्थ्यजन्य हिसाबले सुरक्षित बनाउन यसले भूमिका खेल्ने उल्लेख गर्नुभयो।
रू २४ लाख लागतमा निर्माण गरिएको दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्रको जग्गा पाँच वर्षका लागि लिजमा लिइएको उपमहानगरले जनाएको छ। दुई बिगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ खाल्डा खनिएका छन्।
एसएनभीका कन्सल्टेन्ट इञ्जिनियर मुनबहादुर खड्काका अनुसार दिसाजन्य लेदो व्यवस्थापन गर्न ४० मिटर लम्बाइ, दुई मिटर उचाइ र १.२० मिटर चौडाइ भएका खाल्डा खनिएका छन्। सो क्षेत्रलाई तारजाली लगाएर सुरक्षित बनाइएको छ। द्रुत गतिमा काम गरेर एक महिनामै ट्रेन्च केन्द्रको निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सामाजिक सञ्जालको सदुपयोग गर्दा …
- ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
- ‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
- देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
- अमेरिकी डलरको भाउ बढ्यो
- आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
- महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
- शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
- मुस्ताङ
- सूर्योदय