स्कुल राम्रा तर छैनन् विद्यार्थी, एउटै पालिकाका २५ सामुदायिक विद्यालय बन्द

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन् भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन्।

विद्यार्थीको अभावमा उक्त गाउँपालिका–७ स्थित विसं २०३२ मा स्थापित स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनाबाट बन्द भयो। गाउँपालिका कार्यालयले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकको सृजनशील माविमा विद्यार्थीलाई अध्ययन गराउने जनाउँदै स्वस्थानी मावि बन्द गर्ने निर्णय गरेको थियो। सो विद्यालयमा चालु शैक्षिक सत्रका लागि ३५ जना विद्यार्थी भर्ना भएका थिए। “विद्यार्थी नहुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरियो”, गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भन्नुभयो।

उक्त गाउँपालिकाको स्वस्थानी माविझैँ अन्य प्राथमिक र निम्न माध्यमिक गरी २४ विद्यालय बन्द भइसकेका छन्। गाउँपालिका कार्यालयले नै विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि निर्णय गरी विद्यालय बन्द (स्थगन) गराइएको चौलागाईले बताउनुभयो। उहाँका अनुसार नौवटा वडा अवस्थित गाउँपालिकाका १२ मावि तहका विद्यालयमध्ये हाल दश सञ्चालनमा छन्। गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास बन्द गरिएको हो।

गाउँपालिकाका शिक्षा शाखाप्रमुख कालीप्रसाद पाण्डेका अनुसार गाउँपालिकामा प्राथमिक तहका १५ विद्यालय बन्द गरिएका छन्। यस्तै, आधारभूत तहका आठवटा विद्यालय बन्द छन्। विद्यार्थीको सङ्ख्या बर्सेनि घटेपछि गाउँपालिकाले केही विद्यालयको तह घटुवासमेत गरेको छ। आगामी शैक्षिकसत्रबाट गाउँपालिकाको दर्जनौँ विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ।

स्वस्थानी माविलगायत विद्यालय बन्द भएपछि गाउँपालिकाले नजिको विद्यालय जनाउँदै तोकिदिएको विद्यालय जान पहिलेको भन्दा टाढा हिँडेर जानुपर्ने बाध्यतामा छन्। शिक्षा शाखाका अनुसार चालु शैक्षिकपत्रमा गाउँपालिकामा कक्षा १२ सम्म दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन्। शैक्षिकसत्रको सुरुआतमा दुई हजार आठ सय भर्ना रहेकामा करिब छ सय विद्यार्थी ‘ड्रपआउट’का कारण घटेको अनुमान गरिएको छ।

गाउँपालिकामा सबै तहमा चार सय १० जना शिक्षक कार्यरत छन्। शिक्षा ऐनअनुसार विद्यार्थी–शिक्षक अनुपात पहाडमा ४५–१, उपत्यकामा ५०–१ र हिमालमा ४०–१ रहने व्यवस्था छ। गाउँपालिकामा कक्षा ११ र १२ मा भर्ना भएका अधिकांश विद्यार्थी सङ्घीय राजधानी काठमाडौँ वा अन्यत्र गएको हुनसक्ने गाउँपालिकाले जनायो। शिक्षा शाखाका अनुसार हाल एसइई परीक्षामा गाउँपालिकाका दुई सय २७ विद्यार्थी सहभागी भएका छन्। विसं २०६७ सम्म सो गाउँपालिकामा करिब आठ हजार विद्यार्थी थिए।

वडा नं ९ का अध्यक्ष रामबहादुर लामा युवाहरू विदेश र सहर पलायन भएका कारण गाउँ रित्तिँदै गएको बताउनुहुन्छ। उहाँ एकातिर कम सन्तान जन्माउने र अर्कातर्फ अभिभावक रोजगारका लागि परिवारसहित विदेश पलायन हुँदा गाउँ रित्तिँदैछ। यसकारण विद्यालमा बालबालिका कम हुँदै जाने नै भए। उहाँका अनुसार विद्यार्थी अभावमा विद्यालय बन्द हुँदै गएपछि स्थानीय शिक्षकले आफूहरूलाई नजिकको अन्य विद्यालयमा व्यवस्थापन गरिदिन गाउँपालिकामा धाउन थालेका छन्।

जिल्लाको कोशीपूर्वको उत्कृष्ट रुपमा रहेको प्रभा उच्च मावि कात्तिकेदेउरालीमासमेत बर्सेनि विद्यार्थीको सङ्ख्या घटिरहेको पाइएको छ। हाल ३१ शिक्षक कर्मचारी रहेको सो विद्यालयमा तीन सय ५० विद्यार्थी रहेका छन् तर त्यहाँ पनि नियमित विद्यालय आउने विद्यार्थीको सङख्या घटेको बताइन्छ।

गाउँपालिका अध्यक्ष चौलागाई भूकम्पपछि पुनःनिर्माण भएका विद्यालय भवन निकै राम्रा छन् तर विद्यार्थी अभावका कारण सङ्कट उत्पन्न हुँदै गएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “गाउँगाउँमा विद्यालय, स्वास्थ्य संस्था, पक्की सडकलगायत विकासका पूर्वाधार हुँदै गएका छन् तर स्थानीयहरू अवसरको खोजीमा सहर जान थालेपछि विद्यार्थीसमेत सङ्कटमा पर्न थालेका छन्।” उहाँका अनुसार बन्द भएका विद्यालय र बन्द हुँदै जाने विद्यालयका शिक्षकको व्यवस्थापनमा चुनौति देखिएको छ।

आवरण तस्बिरः चौँरीदेउराली गाउँपालिकाको एउटा स्कुल

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
स्कुल राम्रा तर छैनन् विद्यार्थी, एउटै पालिकाका २५ सामुदायिक विद्यालय बन्द
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link