गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ ।
काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ ।
कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरेको भए पनि ‘विड ओपनिङ’ गर्ने, मूल्याङ्कन हुने र ठेकेदार फिल्डमा आउने प्रक्रिया नै बाँकी रहेकाले अहिले तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताउनुभयो ।
खोलाको उचाइ पनि बढेको र अहिले बगरमा नै गाडी गुडाइरहेको कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ । त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्रगतिमा काम भइरहेको छ । बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा करिब आठ किलोमिटर सडक बगाएको थियो ।
“तत्कालका लागि बगाएको सडक ग्राभेल गर्ने, सफा गर्ने र कतिपय स्थानमा खोलाबगर भएर चल्ने गरी बाटो बनाएका छौँ”, उहाँले भन्नुभयो, “अहिले जहाँजहाँ खोलाको सतह भएर बाटो बनाइएको छ, ती ठाउँमा खोलाको धार परिवर्तन गर्ने र भएको सतहभन्दा माथि उठाएर बाटो बनाउने क्रममा छौँ ।”
भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार अहिलेसम्ममा मङ्गलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको तथा माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चार सयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ । अहिले चौकीडाँडामा काम भइरहेकामा केही दिनमा नै सो खण्ड सम्पन्न हुने छ ।
सो कार्य सम्पन्न गर्न अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सबइन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन् । आगामी वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ । त्यसरी सडक बनाएको खण्डमा बर्खायाममा पनि बिपी राजमार्गमा सवारीसाधन सञ्चालन हुने आशामा यात्री छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चन्दा सङ्कलन गरी पदमार्ग निर्माण
- म्यान्मा भूकम्प प्रभावितलाई सहायता निरन्तर जारी : संयुक्त राष्ट्रसङ्घ
- तीनकुने घटनामा दिवङ्गत पत्रकार रजकलाई लुम्बिनीमा श्रद्धाञ्जली
- किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
- म्यान्मामा भूकम्पः मृतक सङ्ख्या दुई हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा
- नागरिकतासहित तीनवटा विधेयक छलफलका लागि समितिमा पठाइयो
- मकै छोडेर कफीखेतीमा महाभारतका किसान
- ईरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
- ढोरपाटनमा सुरु भयो सिकार याम
- म्यान्माको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो
