वायु प्रदूषण गम्भीरः सावधान रहन सुझाव

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको हो।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २७ चैतमा दिउँसो काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ। इन्डेक्सका अनुसार काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको छ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरको वायूमा परेको बताउनुभयो। “केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ”, उहाँले भन्नुभयो। उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो।

“जानजान वनमा डढेलो लागाउनु भएन, डढेलो लगाउनेलाई कडा रुपमा कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो, “जथाभावी रुपमा फोहर पनि जलाउनु भएन, मानवीय जनचेतनाका काराण पनि यो समस्या आएको छ। सबै सरोकारवालाको पहलमा अव प्रदूषण नियन्त्रणमा जुट्नुपर्छ।”

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्युआइलाई पनि त अस्वस्थकरका रुपमा लिइन्छ।

दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५०सम्मलाई अति खतरा मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ। यसप्रकारको विपद् रोक्नका लागि कार्य योजनामा फोहर जलाउने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानीअपनाउन सार्वजनिक सूचना जारी गर्न कार्य योजनामा उल्लेख छ।

राष्ट्रिय वातावरण नीति २०७६ मा प्रदूषण न्यूनीकरण गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने सरकारी रणनीति उल्लेख छ। प्रमुख सहर, औँद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्साङ्कन गरिनेछ रणनीतिमा उल्लेख छ।

भरतपुर अस्पतालका फिजिसियन डा प्रतीक न्यौपानेले डढेलोका कारण वायुमण्डलमा परेको असरले श्वासप्रस्वासमा समस्या हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “दमका बिरामीलाई अस्पतालमा राखेर भर्ना गर्नुपर्ने, अक्सिजनको मात्रा कम हुनेलगायत समस्या देखिन थालेको छ।” यसले मानव स्वास्थ्य नराम्रोसँग प्रभावित भइरहेको उहाँको भनाइ छ।

वायु प्रदूषणका कारण बालबालिकामा दमको समस्या देखापर्न सक्ने डा प्रतीक न्यौपानेले बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकामा झिज्झिन्ने, रुघाखोकी लाग्ने समस्या हुन सक्छ।” वायुमण्डलमा भएको प्रदूषणका कारण मुख तथा नाक सुक्खा हुने हुँदा नियमित पानीको सेवन गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, माक्स लगाएर मात्रै घरबाहिर निस्कनेलगायत उपाय अपनाउन सकिने उहाँको सुझाव छ।

त्यस्तै अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कने, थकान लाग्ने काम नगर्नेलगायत उपाय अपनाउँदा वायुमण्डलमा भएको प्रदूषणका कारण हुने समस्याबाट बाँच्न सकिने डा न्यौपानेको भनाइ छ। भरतपुरका अस्पतालमा वायुमण्डको प्रभावका बिरामीको सङ्ख्या बढ्न थालेको उहाँले जानकारी दिनुभयो।

भरतपुर आखाँ अस्पतालका नेत्र रोग विशेषज्ञ प्रा डा सुनु दुलालले वायुमण्डलमा भएको प्रदूषणका कारण टाउकोदेखि माथिका भागलाई असर गर्ने बताउनुभयो। उहाँका अनुसार आँखा पोल्ने, बिझाउने, सुक्खा हुने, पाक्नेलगायत समस्या देखिने गर्दछ।

आँखा पोल्ने तथा बिझाउने हुँदा आँखा मिच्न नहुने डा दुलालले बताउनुभयो। आँखा मिच्दा आँखामा घाउ हुन सक्ने र अन्धोपन समेत देखिने हुँदा त्यस्तो गर्न नहुने उहाँको भनाइ छ। वायुमण्डलमा डढेलोका कारण अहिले देखिएको असरको दीर्घकालीन समस्या नहुने भए पनि यसबाट जोगिन जरुरी रहेको उहाँले बताउनुभयो।

डा दुलालले भन्नुभयो, “यसले दीर्घकालीन समस्या नपरे पनि यसबाट बाँच्नुपर्छ।” यसबाट बाँच्नका लागि चस्मा लगाउने, आँखा बेलाबेलामा सफा पानीले धोई रहने, चिसो कपडाले आँखाको बाहिरी भाग पुच्छ्ने जस्ता काम गर्नुपर्ने उहाँको सुझाव छ।

चितवन जिल्लामा रहेका सामुदायिक वन क्षेत्र, डिभिजन वन कार्यालयका वन क्षेत्र र निकुञ्ज क्षेत्रमा अहिले डढेलो लगाउने क्रम जारी छ। यसले गर्दा वायुमण्डल मात्रै प्रदूषण नभई आसपास बसोबास गर्ने बासिन्दाको धनकोसमेत क्षति हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गरेको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार डढेलो नियन्त्रणका लागि काम भइरहेको छ। समुदायमा सचेतना जगाउने र नियन्त्रणका लागि अग्नी रेखा कोर्ने, अग्नी नियन्त्रक सामान तयारी अवस्थामा राख्ने काम गरिएको उहाँले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link