सालको पातले फेरियो शान्ति र खुशीराम चौधरीको जीवन

दाङको घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त हुनुहुन्छ। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यही व्यवसायमा उहाँहरूको दैनिकी बित्ने गरेको छ।

यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आउनुभएको छ। “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरू पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अलि गाह्रो भनेको वनबाट सालको पात टिपेर ल्याउँदा हुने गरेको छ।” बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उहाँले बताउनुभयो।

“पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरूको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ”, उहाँले भन्नुभयो, “अहिले घरको सबै काम सकेर श्रीमान्ले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।” उहाँको दम्पतीले मासिक रु १५ हजार आम्दानी गर्दै आउनुभएको छ।

दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहनुभएको छ। चाडपर्वको समयमा मागअनुसारको बजार पुर्‍याउन समस्या हुने उहाँको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उहाँले सुनाउनुभयो। उत्पादित ठूलो बौत्तालाई रु साढे दुई र एक सय वटा भएको प्याकेटलाई रु साढे दुई सयमा बिक्री गरिएको छ।

यसैगरी, टपरी रु पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउनुहुन्छ। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उहाँको अनुभव छ।

मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जानुहुन्छ। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उहाँको भनाइ छ। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।

प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पुर्‍याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।

उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले बताउनुभयो। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उहाँ बताउनुहुन्छ।

सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उहाँको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्नुहुन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link