स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गरः मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ। आयोगले स्वच्छ र स्वस्थ वातावरणको सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेका प्रावधानको कार्यान्वयन गर्न तीनै तहका सरकारलाई अपिल गरेको हो। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगत केही वर्षदेखि नेपाल वायु प्रदूषित हुने देशको विश्वव्यापी सूचीको अग्रस्थानमा परिरहेको र यस वर्ष पनि उक्त सूची दोहोरिन गएकाले नागरिकको स्वास्थ्यमा पर्नसक्ने असरप्रति ध्यानाकर्षण भएको उल्लेख छ।

“वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ मा वायु प्रदूषणबाट हुने असर न्यूनीकरण वा निराकरण गर्न आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने उल्लेख छ”, विज्ञप्तिमा भनएिको छ, “तर गुणस्तरीय वायुसहित नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको हकको सुनिश्चिताका लागि तीनै तहका सरकारको प्रयास भएपनि नागरिकको जीवनको अधिकार प्रत्याभूत हुन नसकेको उल्लिखित तथ्याङ्कबाट देखिन्छ।”

पछिल्लो समय बढ्दै गइरहेको वायु प्रदूषण र यसबाट नागरिकको स्वास्थ्यमा परिरहेको असरबारे आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। वन डढेलो, ग्रामीण क्षेत्रमा इन्धनको रुपमा काठ दाउरा तथा गुइँठाको प्रयोग, पेट्रोल तथा डिजेलजन्य सवारी साधनको प्रयोग, पुराना सवारीसाधन, उद्योगधन्दा, अन्तरदेशीय वायु प्रदूषणलगायत आदिका कारण काठमाडौँ उपत्यकालगायत देशभरिका अधिकांश स्थानमा वायु गुणस्तरको पीएम २.५ र पीएम १० को तह राष्ट्रिय तथा विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा निकै बढी रहेको तथ्याङ्क चैत २८ मा पनि सार्वजनिक भएको छ।

प्रारम्भिक अनुगमनका क्रममा नेपालमा स्थापित वायु गुणस्तर मापन गर्ने २७ संयन्त्रमध्ये १५ संयन्त्रले काम नगरेको जानकारी प्राप्त भएको छ। तोकिएको मापदण्डभन्दा उच्च वायु प्रदूषणले विशेष गरी दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, नवजात शिशु, गर्भवती, अपाङ्गता भएका व्यक्तिलगायतको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको छ।

वायु प्रदूषणका कारण विश्वमा प्रतिवर्ष ७० लाख नागरिकको मृत्यु भइ जीवनको अधिकारबाटै वञ्चित भएको अध्ययनबाट देखिएको छ। नेपालमा प्रतिवर्ष ४२ हजारभन्दा बढी नागरिकले वायु प्रदूषणका कारण मृत्युवरण गर्नुपर्ने बाध्यता रहेको आयोगले जनाएको छ।

काठमाडौँ उपत्यकामा मात्रै प्रतिवर्ष पाँच हजार बढीको मृत्यु वायु प्रदूषणका कारण भइरहेको पाइएको छ। मुख्यगरी दीर्घकालीन फोक्सोको रोग, मुटुको रोग, मस्तिष्कघात, श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण आदि स्वास्थ्य समस्या हुने गरेको अनुगमनका क्रममा देखिएको छ।

नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकलाई मौलिक हकको रुपमा उल्लेख गर्दै प्रत्येक नागरिकलाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको व्यवस्था गरिएको छ।

वन डढेलो सङ्कट घोषणा गर्न माग

यसबीच नेपाल वन प्राविधिक सङ्घ (एनएफए) ले वन ढडेलो सङ्कट घोषणा गर्न सरकार समक्ष माग गरेको छ।

२८ चैतमा प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो वन डढेलो नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्न माग गरेको हो। महासङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलोका कारण देशव्यापी रुपमा प्रभाव परेको, वातावरणीय प्रदूषण बढिरहेकोले वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताउनुभएको छ।  “वन डढेलोको कारण वनविनास भएको छ, बस्ती जोगाउनै मुस्किल भएको छ”, उहाँले भन्नुभयो, “वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि जुटाउन र सङ्कट घोषण गर्न आवश्यक छ।” उहाँले वन डढेलो नियन्त्रणको क्रममा मृत्यु हुने नेपाली सेनाका जवान प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।

प्राकृतिक स्रोत संरक्षण कार्य चुनौतीपूर्ण रहेको डोल्पाको घटनाले प्रष्ट पारेको उहाँको भनाइ छ। कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरि नगरपालिका बडा नं ३ र ४, तिन्नाको मस्टा भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा मंगलबार डोल्पास्थित देवीदत्त गुल्ममा कार्यरत ३८ वर्षिय जमदार केशवबहादुर जागा मगर, सिपाहीहरू २२ वर्षिय हेमन्त रावत र ३८ वर्षिय  आशिष बुढाको मृत्यु भएको थियो। विजय कोइराला गम्भीर घाइते भई काठमाडौँमा उपचारत हुनुहुन्छ।

वन डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका जवानलाई संरक्षण सहिद घोषणा गर्न र घाइतेको निःशुल्क उपचार गर्न एनएफएले माग गरेको छ। मृतकको परिवारजनलाई राहत उपलब्ध गराउन माग गरिएको छ।

वायु प्रदूषण यस वर्षकै उच्च

२८ चैतमा मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ। देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार चैत २८ को काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ। चैत २७ मा एक्यूआई दुई सय पुगेको थियो।

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २८ चैतमा  काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ।

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताउनुभयो। उहाँले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताउनुभयो। “दिनानुदिन प्रदूषण बढिरहेको छ। एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषण गर्नुपर्ने हुन्छ।” उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो।

आकाशबाट तुवाँलो नहट्ने

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो। उहाँका अनुसार २८ चैतमा देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

काठमाडौँ उपत्यकाको २८ चैतको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् झाले बताउनुभयो। उहाँले भन्नुभयो, “आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवना छैन।”

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link