अध्ययन बिना मकै खेती विस्तारले बढायो हात्ती समस्या

सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ। कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएका कारण जिल्लामा जनधनको क्षति बढेको बताउनुभयो। उहाँले विगत पाँच वर्षयता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यावसायिक खेती गरिरहेको बताउनुभयो।

“जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “मकै हात्तीको मनपर्ने खाना हो। जति यसको खेती बढ्यो उति हात्तीको सङ्ख्या र क्षति बढिरहको हाम्रो अनुसन्धानले देखाएको छ।” उहाँले सोबारेमा सरकारको ध्यानाकर्षण गरिसकेको बताउनुभयो। जिल्लामा बढिरहेको हात्ती समस्या न्यूनीकरणका लागि बाली परिवर्तन अनिवार्य देखिएको उहाँले बताउनुभयो। उहाँले विगतमा पनि मकै खेतीकै कारण वैशाख पहिलो सातादेखि असारको तेस्रो हप्तासम्म जिल्लामा भारतबाट आउने जंगली हात्ती समेत थपिएर आतंक मच्चाउने गरेको जानकारी दिनुभयो। उहाँले जिल्लामा ३० भन्दा बढी रैथाने हात्ती रहेको बताउनुभयो।

प्रमुख राईले हाल दैनिक सातदेखि आठ वटा राहतका लागि निवेदन लिएर कार्यालयमा हात्ती पीडित किसान आउने गरेको बताउनुभयो। उहाँले विसं २०८० असार ८ गतेदेखि हालसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छ जना, घर र बालीनालीमा क्षति पुर्याएको पाँच सय ३३ र घाइते गरी रु एक करोड ३० लाखभन्दा बढी रकम जिल्लामा राहत स्वरुप बाँड्न बाँकी रहेको जानकारी दिनुभयो।

यसैगरी बुद्धशान्ति गाउँपालिकाका किसान जङ्गली हात्तीले दैनिक जसो पुर्याउने क्षतिबारे राज्य बेखर बनेको भन्दै आक्रोषित बनेका छन्। स्थानीय सीताराम बाँस्तोलाले सरकारले हात्ती न्यूनीकरणमा देखाएको उदासिनताका कारण आफूहरु मारमा परेको बताउनुभयो। उहाँले सो पालिकामा मात्र दैनिक जसो साँझ परेपछि आउने जंगली हात्तीले १० बिघाभन्दा बढी क्षेत्रको मकै खेती खाएर र कुल्चेर नष्ट गरेको बताउनुभयो।

स्थानीय आदर्श सामुदायिक वनमा बस्ने हात्तीले साँझ परेपछि गाउँबस्तीमा पसेर बालीनाली नष्ट गर्ने गरेको उहाँको गुनासो छ। उहाँले मकै खान आएको हात्तीलाई लेख्टन खोज्यो भने उल्टै मानिसलाई नै आक्रणम गर्न आउने गरेको बताउनुभयो। “हात्ती थेतरो भइ सकेछ”, उहाँले भन्नुभयो, “पहिला पहिला त हो होल्ला गर्दा भाग्थ्यो। अहिले त उल्टै हामीलाई नै आक्रमण गर्न फर्कन्छ।”

उहाँले सरकारले हात्ती प्रभावित क्षेत्रमा साइसनसहितको गाडीले गस्ती गर्ने हो भने पनि स्थानीयलाई राहत हुने बताउनुभयो। उहाँले समस्या बारे पटकपटक स्थानीय सरकार र डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदा अटेर गरेका कारण हात्ती पीडित मिलेर आन्दोलन गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “शान्तपूर्वकको मागलाई कसैले सुन्दोरहेनछ। सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आन्दोलन नै रोज्नुपर्ने परिस्थितिको सृजना भइसक्यो।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link