हिमालका मुद्दामा साझा धारणा बनाउन खोज्दै सरकार

नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ। आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरूलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने मन्त्रालयद्वारा ३ वैशाखमा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रममा वनमन्त्री नवलकिशोर साह सुडीले संवादमा सबैको सरोकारको विषय भएकाले सबैको सहयोगको अपेक्षा गर्नुभयो। उहाँले पर्वतीय राष्ट्रहरूमा जलवायु परिवर्तनको समस्या समाधानका लागि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुतिका लागि महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा अरनिको पाण्डेले यस संवादले स्थानीय मुद्दाहरूलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री दाहालका जलवायु सल्लाहकार डा पपुलर जेन्टलले हिमालका मुद्दामा साझा धारणा तय गर्न संवाद गर्न लागेको बताउँदै यसमा हिमालका साथै सम्पूर्ण पारिस्थितिकीय प्रणालीका बारेमा समेत छलफल हुने उल्लेख गर्नुभयो।

मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी यो संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरूलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको बताउनुभयो। साथै उहाँले पर्वतीय  देशहरू र सम्बद्ध सरोकारवालाहरूलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गत कार्यक्रमहरूमा सहकार्य गर्न वातावरण बनाउने संवादको लक्ष्य राखिएको जानकारी दिनुभयो।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले संवादका क्रममा पर्वतीय क्षेत्रमा साझेदारलगायत सबै पर्वतीय देशहरूका प्रतिनिधिहरूले संयुक्त रूपमा संवादबाट साझा निष्कर्षहरू निकाल्ने बताउनुभयो। साथै उहाँले अन्तर्राष्ट्रिय संवादलाई सफल बनाउन समग्र रणनीतिक मार्गदर्शन प्रदान गर्न सरकारले विभिन्न समिति गठन गरेको बताउनुभयो।

मन्त्रालयका प्रवक्ता डा बद्रीराज ढुङ्गानाले तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुईवटा प्लेनरी र सातवटा संवाद सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो।

पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्याङ्क’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटसन्नता र जोखिम,  हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने समावेश गरिने उहाँको भनाइ छ।

दोस्रो सत्रमा ‘पहाड र प्रकृतिमा आधारित भएर समाधानका उपायहरूमा’ केन्द्रित भएर छलफल गरिनेछ र तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने विषयहरू समावेश गरिएको छ।

यस संवादले पर्वतीय राष्ट्रहरूका सरकार, सरोकारवालाहरू र सहयोगीहरूलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानहरू अझ गहन रूपमा बुझ्न, विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न र साझा सङ्कल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमका बारेमा सचेतना जगाउने, पर्वतीय देशहरूको साझा मुद्दा र समस्या पहिचान गरी सहयोग आदानप्रदान गर्ने र हिमाली क्षेत्रमा बसोबास गर्न वा आश्रित समुदायहरूलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रक्रियाहरूमा उनीहरूको हकअधिकार प्रदान गर्न साझा मञ्चको विकास गर्ने लक्ष्य रहेको छ।

यसैगरी, जलवायु परिवर्तनको असरसँग अनुकूलन हुन पर्वतीय क्षेत्रका जनता र उनीहरूको जीविकोपार्जनमा हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न, स्वच्छ ऊर्जा सङ्क्रमणलाई प्रवद्र्धन गर्ने, अब पर्वतीय ज्ञान, अनुसन्धान र नवीन समाधानहरू तथा अन्वेषणहरू एकापसमा आदानप्रदान गर्ने पनि लक्ष्य छ।

पर्वतीय राष्ट्रहरू र यस क्षेत्रमा बसोबास गर्ने वा आश्रित बासिन्दाका लागि प्रविधि हस्तान्तरण, क्षमता विकास र जलवायु वित्तसम्बन्धी बहुपक्षीयता, सहयोग तथा साझेदारीलाई बढावा दिने पनि संवादको लक्ष्य छ। उक्त विशेषज्ञ संवाद कार्यक्रममा नेपाललगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदायहरू, विकास साझेदारहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू र नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागी हुने अपेक्षा गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link