कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ । 

विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तक्र्रिया विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो । अन्तक्र्रियामा औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्याङ्क सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्य हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोट खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताउनुभयो ।    

उहाँका अनुसार हुम्लाको ताजाकोट १, चङ्खेलीको २, अदानचुली गाउँपालिकाको २ र ३, मुगु सोरु गाउँपालिकाको ४, ५, खत्याडको १, वीरेन्द्रनगर नगरपालिका–७ सहित गरी नौ वडा मध्यम जोखिमका रहेका छन् । सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जादाँ हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि मलेरिया फैलिन थालेको हो ।    

तापक्रम वृद्धिकै कारण तराईका विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको जनाइएको छ । जसका लागि कर्णाली प्रदेशमा औलो नियन्त्रण कार्यक्रम तीव्ररूपमा सञ्चालन भइरहेको निर्देशनालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताउनुभयो ।    

उहाँका अनुसार स्थानीय औलो रोग शून्यमा झार्ने रणनीति अनुरुप नियन्त्रणका विभिन्न कार्यक्रम भइरहेका छन् । माइक्रोस्कोपी र आरडिटी विधिबाट औलो परीक्षण र उपचारका कार्य भइरहेको जनाउँदै उहाँले औलो रोगविरुद्धको अभियानअन्तर्गत पछिल्लो समय बिरामीको सङ्ख्या घट्दै गए पनि यसको प्रभाव हिमाली क्षेत्रमा देखिन थालेको बताउनुभयो । उहाँका अनुसार सुर्खेतमा २०, दैलेखमा तीन र कालिकोटमा एक गरी हाल कर्णालीमा २४ जना औलोका बिरामी छन् । उनीहरु सबैको निःशुल्क उपचार भइरहेको छ ।    

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले औलो रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो । सोही लक्ष्यअनुसार कर्णालीमा पनि तीव्ररूपमा औलो नियन्त्रणको कार्यक्रम भइरहेकोे बताउँदै उहाँले औलो परीक्षण गरिएका व्यक्तिहरूलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीमाथि औलो परीक्षण तथा निगरानी भइरहेको जनाउनुभयो ।    

निर्देशनालयका अनुसार छिमेकी देश भारतलगायत तेस्रो मुलुकबाट आउने व्यक्तिबाट समेत औलो सङ्क्रमणको जोखिम रहेकाल उनीहरुको परीक्षणमा कठिनाइ भएको छ । कर्णाली प्रदेशमा औलो रोग नियन्त्रण गर्न आवश्यक जनशक्तिको कमी, छुट्टै किट विज्ञ नहुनु र बजेटको अभावका कारण परीक्षण कार्यमा कठिनाइ देखिएको छ ।    

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link