सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ। नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा एक हजार नौ सय ४३ किलो फोहोर सङ्कलन गरेको हो।
सङ्कलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन्। सफा हिमाल अभियान जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फोहोर सङ्कलनको काम भइरहेको छ, अहिले नेपाली सेनाले आधार शिविरमै बसेर सङ्कलन गरिरहेको छ, जल्ने खालको एकैचोटि नाम्चेमा ल्याएर नष्ट गर्ने र नजल्ने काठमाडौँ लैजाने योजना छ।”
हिमालमा मानवीय गतिविधिले फोहोर थुप्रिरहेकाले हिमालको स्वच्छता कायम गर्नमा अभियान सफल हुने उहाँको विश्वास छ। सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुख/प्रतिनिधिहरूको समन्वयमा सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ।
‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ। गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने प्रधान सेनापति प्रभुराम शर्माले बताउनुभयो।
आवरण तस्बिरः मनाङको फोहोर
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
