‘उल्लु सर’ राजु आचार्यलाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार

नेपालमा लाटोकोसेरो संरक्षणको पर्याय बन्दै जानुभएका कास्कीको पोखराका राजु आचार्य विश्व प्रसिद्ध ह्विट्ली पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।

लाटोकोसेरो र वन्यजन्तुको संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै उहाँलाई ५० हजार पाउन्डको सो पुरस्कारबाट पुरस्कृत गरिएको हो। बेलायती राजकुमारी एनले बुधबार लन्डनमा आयोजित एक समारोहमा आचार्यलाई पुरस्कार प्रदान गर्नुभएको हो। आचार्यसँगै ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका छ जना संरक्षणकर्मीहरूर्ला सो पुरस्कार प्राप्त गरिएको थियो।

विगत ३५ वर्षदेखि निरन्तर वन्यजन्तुको अध्ययन र संरक्षणमा क्रियाशील आचार्य ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको कार्यकारी निर्देशकसमेत हुनुहुन्छ। उहाँ डेढ दशकभन्दा लामो समयदेखि  लाटोकोसेरोको संरक्षणमा क्रियाशील हुनुहुन्छ।  आफूले प्राप्त गरेको पुरस्कार गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको काममा खर्च गर्ने आचार्यले जानकारी दिनुभयो। नेपाल सरकारले बनाएको १० बर्से ‘लाटोकोसेरो संरक्षण कार्य योजना’ले तोकेको कार्यहरूमध्ये केहीमा पुरस्कार रकम खर्च गर्ने उहाँले बताउनुभयो। आचार्यले भन्नुभयो,“मेरो जीवनको सबैभन्दा खुसीको दिन हो। यो पुरस्कार ती सबै चराको लागि समर्पित छ जो दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेका छैनन्।”

लाटोकोसेरोसम्बन्धी उहाँका पाँच पुस्तक प्रकाशित छन्। नेपालबाट विद्युतीय रूपमा प्रकाशित हुने लाटोकोसेरोसम्बन्धी पत्रिका ‘हाप्सिलो’ का सम्पादकसमेत रहनुभएका आचार्यका १२५ भन्दा बढी प्रकृतिसम्बन्धि आलेखहरूसमेत प्रकाशित छन्। आचार्यकै सकृयतामा प्रत्येक वर्ष लाटोकोसेरेको संरक्षणमा सचेतना जगाउने उद्देश्यका साथ ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ पनि सञ्चाालन हुँदै आएको छ। लाटोकोसेरोका क्षेत्रमा क्रियाशील भएकै कारण उहाँलाई ‘उल्लु सर’ को उपमा पनि दिने गरिएको छ।

लाटोकोसेरोका साथै ब्वाँसो, जङ्गली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना माङ्साहारी, गिद्ध, कालिज, मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय आदि क्षेत्रमा पनि काम गरेका आचार्य सन् २०११ मा अमेरिकाबाट ‘स्पेसल अचिभमेन्ट अवार्ड’ र सन् २०१८मा नेपाल सरकारको ‘राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार’ लगायत पुरस्कृतबाट समेत पुरस्कृत भइसक्नुभएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link