४३६ स्थानमा डढेलो, निरिह सरकार

देश भर वन डढेलोको अवस्था बिकराल बन्दै जाँदा जोखिम पूर्वतयारीका सरकारी निकायहरू निरिह बनेका छन् र राजनीति नेता आँखा चिम्लिएर बसेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहिबार  ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ।

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो। “आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ। नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ।”

उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन्। उहाँका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरू हुन्छन्।

“असी प्रतिशत वन डढेलाको घटनाहरू फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ”, शर्माले भन्नुभयो। मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरू हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो। प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो।

अर्को सुख्खायाम सुरुहुनुभन्दा अगावै  डँडेलो पूर्वानुमान र नियन्त्रणका लागि आवश्यक योजना र त्यसलाई कार्यान्वयन गर्नका लागि चाहिने आर्थिक स्रोत सुनिश्चित गर्नुपर्छ । यस्तो योजनामा वडा र सामुदायिक वन तहहरूमा पर्याप्त प्राविधिक, स्रोतसाधन र तालिमको व्यवस्था गर्नुपर्छ -नेवापस

आपतकालः नेवापस  

नेपाल वातावरण पत्रकार समूह(नेवापस)ले एक विज्ञप्ति जारी गर्दै हालैका दिनहरूमा देशभर आगलागि, डँडेलोको घटनाहरू बढ्दै गएको र यसका कारण वनजंगलमा क्षति पुग्नुका साथै मानविय हताहती र घरवार नष्ट भएको समस्याहरू प्रति आफ्नोको गम्भिर ध्यानाकर्षण भएको छ।

नेवापसको एक विज्ञप्ति अनुसार जलवायु परिवर्तनका कारण संसारभर डँडेलोको घटना बढ्दै जाने कुरा जलवायु परिवर्तन यस सम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसि) ले पटक पटक आफ्नो रिपोर्टहरूमा उल्लेख गर्ने गरेको छ। हरेक वर्ष हिउँद र वर्षत विचको सुख्खायामको समय बढ्दै गएको अनुसन्धानले देखाएको छ। यी सबै कुराहरूलाई ध्यानमा राख्दा डँडेलोको घटनाहरू आगामि वर्षहरूमा अझै बढेर जाने र हरियो वन नेपालको धन आख्यानमामात्रै सिमित हुन सक्ने देखिन्छ।

नेवापसको एक विज्ञप्ति अनुसार, डँडेलोको विषय नागरिकको मौलिक हकसँग पनि जोडिएको छ। नेपालको संविधानको धारा ३० अनुसार नेपाली जनताका स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत कुण्ठित भएको छ। डँडेलोका कारण राजधानी लगायत देशका विभिन्न स्थानहरूमा वायु प्रदुषणको मात्रा अत्यधिक रुपमा बढ्न गएको छ। यसका कारण बालबालिका र वृद्धिवृद्धाको स्वास प्रस्वामा नै समस्या देखिन थालेको छ।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष रोशनी अधिकारी पाठकका अनुसार, यसो भैरहँदा सरकारी निकायको पूर्व तयारी निकै फितलो रहेको देखिएको छ। आगो लाग्दा निभाउने संयन्त्रमा खटिएकाहरूलाई नत पर्याप्त तालिम छ, नत प्राविधिक स्रोत र साधन नै छ। आगोको लप्काको अगाडि निरिह देखिएका स्थानीय प्रतिनिधि, कर्मचारी र समुदायहरू जोखिममा देखिएका छन् र कसैकसैको ज्यान नै गएको छ।

नेवापसका रोशनी अधिकारी पाठकको एक विज्ञप्ति अनुसार, नेवापस नेपाल सरकारलाई डँडेलो नियन्त्रण र राहत वितरणलाई गम्भिर रुपमा हेर्न विशेष आग्रह गर्दछ। यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्नका लागि आपत्कालिन स्थितिको घोषणा गर्नुपरेमा गर्न समेत आग्रह गर्दछ।

नेवापसका रोशनी अधिकारी पाठकको एक विज्ञप्ति अनुसार, अर्को सुख्खायाम सुरुहुनुभन्दा अगावै नै डँडेलो पूर्वानुमान र नियन्त्रणका लागि आवस्यक योजना र त्यसलाई कार्यान्वयन गर्नका लागि चाहिने आर्थिक स्रोत सुनिश्चित गर्न माग गर्दछ। यस्तो योजनामा वडा र सामुदायिक वन तहहरूमा पर्याप्त प्राविधिक, स्रोतसाधन र तालिमको व्यवस्था गर्न माग गर्दछौँ।

काठमाडौँ सबैभन्दा प्रदूषित सहर

काठमाडौँ २० वैशाखमा फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ।

एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ। यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ।

डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिनुभएको छ। “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण बढेर काठमाडौँलगायतका मुख्य सहरका हावा अस्वस्थ बनेको छ”, उहाँले भन्नुभयो, “केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा रहेको छ।” तर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसारकेही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन।

विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रीन सिङ्गलले चिनिन्छ। “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेंलो सङ्कतले चिनिन्छ। यसैगरी एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ”, उहाँले भन्नुभयो, “एक सय ५१ देखि दुई सयदेखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रुपमा लिइन्छ र तीन सय एकदेखि चार सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ।”

बढ्दो वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने बताउनुहुन्छ वातावरण अभियन्ता राजन थापा। काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दाबढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ। यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link