वर्षा माग्दै कालो नागलाई कुखुराको बली

लामो समयदेखि वर्षा नहुँदा दैनिक जनजीवन प्रभावित भएको जनाउँदै नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका स्थानीयले भूमेथानमा क्षमा पूजा गरेका छन्। २१ वैशाखमा  बिहानैदेखि दिनभर गाउँभरका स्थानीयवासीले झाक्री डिलबहादुर तामाङको नेतृत्वमा घ्याङस्वाराको एक हजार आठसय मिटर उचारमा अवस्थित जिलिङ भूमेथान महादेव र डुप्चेदेवी थानमा क्षमा पूजा गर्दै जलधारा गरेका छन्। स्थानीयवासीले पानी नपर्नुमा नागराजको रिसानी भएको जनाउँदै भूमेथान परिसरमा रहेको कालो नागलाई कुखुराको बली चढाएका जनाइएको छ।

“पुराना दिनमा भूमेथान रिसानी हुँदा वर्षात हुँदैनथ्यो।” झाक्री तामाङले भन्नुभयो, “अहिले पनि यस्तै भएको छ। खेतबारीमा लगाएका कृषिवाली मर्न थालेका छन्। पशुचौपायाले हरियो घाँस पाउन समस्या छ। जीवित प्राणीको जीवन जीउन गाह्रो भएपछि रिसाएका भगवान खुसी बनाउन जलधारा गरेका हौँ।”

भूमेथानमा जलधारा गरेपछि केही दिनमै पानी पर्ने यहाँको स्थानीयवासीको विश्वास छ। मूला झाक्रीले ठ्याङ्ग्रो बजाउँदै त्यसमा साथ दिन पुगेका स्थानीयले कुखुरा, जल, चामल, अण्डा र भेटी चढाएर दिनभर गरेको क्षमा पूजाले भगवान् खुसी हुनुभएको स्थानीय मङ्गल तामाङले विश्वास व्यक्त गर्नुभयो। “भगवानले बुझ्ने गरेर हामीले क्षमा पूजा गरेका छौँ। जलधारा गरेका छौँ।” उहाँले भन्नुभयो, “पूजाविधि, क्षमा पूजा र जलधारा गर्दा कतै बाधाविघ्न भएको छैन। भगवान् खुसी हुनुभएको छ।”

लामो समयदेखि वर्षात् नहुँदा उच्च पहाडी क्षेत्र पञ्चकन्या–४ आरुखर्कसहित यहाँको थप्रेक र आसपासमा किसानले रोपेको मकै खेती औँल्याउँदै थालेका छन्। पानीका मुहानहरु सुक्न थालेसँगै जीवित प्राणीको प्राण बचाउन कठिनाइ भएको वीरबहादुर तामाङले बताउनुभयो। “जलधारा गर्दै हामीले भगवान्लाई हामी जिवित प्राणी यसरी रमाउन चाहन्छौ। हामीलाई पानी चाहिन्छ। पानी दिनुप¥यो भन्ने वर माग्यौ” उहाँले भन्नुभयो। पञ्चकन्याका स्थानीय सहित नुवाकोटको विभिन्न स्थानमा पानी नपर्नुलाई भगवानाको रिसानी भएको जनाउँदै जलधारा गर्ने चलन पूरानो हो। भगवान इन्द्रको रिसानी हुदाँ पानी नपर्ने स्थानीयको विश्वासले सामुदाय अनुसार पण्डित, झाक्री, लामाहरुबाट क्षमा पूजा र जलधारा गर्दै किसानहरु पानी (वर्षा) पुकार्दै आइरहेका छन्।

आवरणः शाङ्केतिक तस्बिर

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link