चितवनका बजारका तरकारी विषालु

चितवन जिल्लामा रहेका तरकारी बजारमा आउने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको पाइएको छ। कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ आएका फर्सी, भिन्डी, बोडी, टमाटर, भण्टा, काँक्रो, घिरौलालगयत तरकारीमा  विषादीको प्रयोग हुने पाइएको हो।

कँडेलका अनुसार कतिपय तरकारी अत्यधिक विषादीको प्रयोगका कारण उपभोग गर्न नहुने अवस्थामा पाइएको छ। उहाँले भन्नुभयो “कार्बामेट र अर्गाना फस्फेटको मात्रा परीक्षणका क्रममा अत्यधिक देखिएको छ।” उहाँका अनुसार यी दुवै तत्व तरकारीमा ३५ प्रतिशतभन्दा बढी भएमा उपभोग गर्न अयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने अवस्था हुन्छ।

कृषि विकास कार्यालय मातहतमा रहेको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणका क्रममा जिल्लामा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको अत्यधिक प्रयोग हुने गरेको पाइएको हो। महानगर फलफूल तथा तरकारी थोकबजार, रत्ननगर, चनौली, भण्डारालगायत क्षेत्रमा बिक्रीका लागि ल्याइएका तरकारीमा विषादीको प्रयोग भेटिएको हो। जिल्लामा रहेका तीन सय ७४ वटा एग्रोभेटबाट विषादी बिक्री वितरण हुने गरेको उहाँले बताउनुभयो।

तरकारी र कृषिजन्य उत्पादनका लागि ती एग्रोभेटहरूले रोग नासक, कीरा नासन र भिटामिनको प्रयोग अत्यधिक हुने गरेको छ। उहाँका अनुसार विषादीको मात्रा, विषादीको प्रयोगको समय, विषादीको लेवल हेरेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ। तीन वटा विषादीको प्रयोग एकैपटक गर्दा मानिसको स्वास्थ्यसँगै उत्पादन र जमिनमा असर गर्ने उहाँले बताउनुभयो।

विषादीको प्रयोग अत्यधिक हुन थालेसँगै जनगुनासो बढेपछि कार्यालयले नियमन तथा अनुगमन गरी व्यवसायीलाई सचेत गराउँदै आएको उहाँले बताउनुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
चितवनका बजारका तरकारी विषालु
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link