बुटवलमा घुम्ती व्यवसाय र बाढी व्यवस्थापनको समस्या जटिल बन्दै

व्यवस्थापनको लागि बुटवल उद्योग वाणिज्य सङ्घले नगरप्रमुख खेलराज पाण्डेलाई बुझायो ज्ञापन पत्र

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले घुम्ती व्यवसायलाई व्यवस्थित गर्न आग्रह गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।

सङ्घबाट गएको पदाधिकारीको टोलीले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयलाई कार्यकक्षमा भेटघाट गरी ज्ञापन पत्र बुझाएको हो । सङ्घले विना दर्ता सञ्चालन गरिने त्यस्ता घुम्ती व्यवसायका कारण दर्ता गरेर राज्यलाई राजश्व तिरेर सञ्चालन गरेका व्यवसायीलाई समस्या भएकाले विना दर्ता सञ्चालित त्यस्ता व्यवसायलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।

ज्ञापन पत्र बुझाउँदै सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले त्यस्ता व्यवसायलाई व्यवस्थित गर्न सकियो भने दर्ता प्रक्रियामा आउँदा राजश्व सङ्कलनमा पनि सकारात्मक प्रभाव पर्ने र दर्ता गरेर सञ्चालन गरेका व्यवसायीलाई पनि न्याय हुने बताउनुभयो ।

‘बुटवल उपमहानगरपालिका क्षेत्र भित्र अवैधानिक रूपमा फर्निचर, ग्रील र सिरक डसना बनाउने घुम्ती व्यवसायीका कारण वैधानिक रूपमा कर, राजस्व तिर्ने र स्थानीय तहमा दर्ता भई कारोबार गर्ने व्यवसायीलाई प्रत्यक्ष रूपमा नकारात्मक प्रभाव पार्ने हुँदा अविलम्ब यस प्रकारका घुम्ती व्यवसायीलाई निरुत्साहन र नियन्त्रणका लागि अनुरोध गर्दछौ ।’ ज्ञापन पत्रमा भनिएको छ ।

त्यस अवसरमा सङ्घका अध्यक्ष अर्याल सहित उद्योग उपाध्यक्ष सुरज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कार्यकारी निर्देशक मदनकुमार कार्की, परामर्शदाता कुसुम ज्ञवाली लगायत सहभागी हुनुहुन्थ्यो ।

त्यसै अवसरमा सम्भावित बाढीबाट हुन सक्ने जोखिम व्यवस्थापनको लागि समेत आग्रह गरिएको छ । बुटवल उप–महानगरपालिका वडा नं.३ बमघाट चुरे पहाड र गोल पार्क क्षेत्रमा वर्षाको पानीको प्राकृतिक निकासको रूपमा सिद्धार्थ राजमार्गबाट भूमिगत गराउन माग पुलचोक, इलाका प्रहरी कार्यालय पूर्व र नेपाली सेना, नेपाल खानेपानी संस्थान पश्चिम पट्टीका खोल्साको पानीको प्राकृतिक निकासलाई असर गरेको बताइएको छ ।

मानव निर्मित भौतिक संरचनाले बहाव क्षेत्र साँघुरो बनाउँदै गएका कारण केही दिन अगाडिको मुसलधारे वर्षासँगै आएको बाढीले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली, रुपन्देही उद्योग सङ्घ र राष्ट्रिय समाचार समितिको लुम्बिनी प्रदेश कार्यालय हुँदै बुटवल बजारको मुख्य व्यापारिक क्षेत्र अमरपथको मूल सडकमा पस्दा अधिकांश पसलमा ठुलो धनमालको नोक्सान भएको थियो ।

त्यस्तै बुटवल उप–महानगरपालिकामा वडा नं. ४ र ५ मा पर्ने अमरपथको उत्तर खण्ड (काठेपुल) सडकमा हरेक वर्षा याममा हुने डुबानको कारणले यस क्षेत्रका व्यवसायीहरूले ठुलो नोक्सानी व्यहोर्नु परेको छ । त्यस कारण यसको तत्कालीन र दीर्घकालीन समाधानको खोजी गर्न सङ्घले आग्रह गरेको हो ।

यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने बुटवलको मुख्य बजार हिउँद याममा नदी किनारमा बनाइने अस्थायी बजार जस्तै हुने र त्यसले सरकारको कर, राजस्व, बहाल कर, व्यवसाय कर र सम्पत्ति करका साथै आयकरसँगै रोजगारीमा समेत धेरै प्रभावित पार्ने भएकाले समयमै त्यसको व्यवस्थापन गर्नुपर्ने अध्यक्ष अर्यालले बताउनुभयो ।

त्यसको व्यवस्थापनको लागि बमघाट क्षेत्रबाट पुलचोक पूर्व आएपछि ठाउँ ठाउँको खोल्सामा ड्याम बनाई माथिबाट आउने माटो, ढुङ्गा, मुडा, काठमा दाउरा समेतका वस्तुहरू थिग्रने र पानीको गतिलाई कम गराउन सकिने अर्यालले बताउनुभयो । इलाका प्रहरी कार्यालय दक्षिण छेउबाट तिनाउ नदीमा जाने गरी निर्माण भएको ड्राइभर सनलाई तत्काल खोली वैकल्पिक व्यवस्थापन गर्नुपर्ने, जीर्ण भएको बुटवल उप–महानगरपालिकाको स्वामित्वमा रहेको साबिक महिला शिल्पकलाको भवन हटाउनु समेत सुझाव दिइएको छ ।

त्यस्तै दीर्घकालीन सोच सहित खोल्साको पहिलेको बहाव क्षेत्र संरक्षणको अभियान सञ्चालन गर्नुपर्ने, हाल साबिक गर्ने बहानामा अतिक्रमित खोल्सा बहाव क्षेत्रलाई पुनर्स्थापित गराउनुपर्ने, पानीको बहावलाई प्रभावित गर्ने गरी भएको सार्वजनिक निजी निर्माणलाई घटाउनु पर्ने, सापकोटा मिष्टान्न भण्डार र मुक्तिनाथ कस्मेटिक बिचबाट पश्चिम जाने बाटोको उचाइ अमर पथ भन्दा होचो बनाई कदाचित ओभरफ्लो भएर आउने पानी त्यही गल्ली भएर खोल्सामा जाने प्रबन्ध मिलाउनु पर्ने सुझाव दिइएको छ ।

बाढीका कारण मुख्य बजार क्षेत्रमा हुने क्षतिका कारण आर्थिक मन्दीको मारमा परेका व्यवसायीलाई विशेष राहतका साथै घरदैलोको स्थानीय सरकारले लिँदै आएको कर तथा राजश्व छुटको घोषणा गरोस् भन्ने समेत आफूले चाहेको अध्यक्ष अर्यालले बताउनुभयो ।
त्यस अवसरमा नगरप्रमुख पाण्डेले सङ्घले उठान गरेका कुराहरूमा आफू सकारात्मक रहेको र यी समस्या समाधानको लागि हर सम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
बुटवलमा घुम्ती व्यवसाय र बाढी व्यवस्थापनको समस्या जटिल बन्दै
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link