म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएको छ। ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा बाढी पसेर क्षति पुगेको हो।
आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले मङ्गलबार रातिदेखि रेलेखोलामा आएको बाढीले इन्टेक पुरिँदा भौतिक संरचनामा क्षति पुगेको बताउनुभयो। “खोपारा क्षेत्रको पाखोमा पहिरो गएपछि दुई घण्टासम्म खोला सुक्ने र बाढी आउने गरेको थियो”, उहाँले भन्नुभयो, “गेग्रानसहितको बाढीले इन्टेकमा थुप्रिएर बाँधको भौतिक संरचनामा क्षति पुगेको हो।”
दुई वर्षअघि निर्माण सुरु भएको उक्त आयोजनाले आगामी असारभित्र परिक्षण उत्पादन गर्ने तयारी गरेको थियो। करिब ९० प्रतिशत भौतिक प्रगति भएको आयोजनामा बाढीले पुर्याएको क्षतिका कारण परिक्षण उत्पादन सुरु गर्ने समयतालिका प्रभावित बनेको आयोजनाका इञ्जिनियर आयुष भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार बाँध, पाइपलाइन, विद्युत् गृह निर्माण सकिएको छ भने आयोजनाको उपकरण जडान र प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ।
सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँध बनाएको थियो। बाँध नजिकै ५०/५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माण भएका छन्।
बाँधबाट विद्युत् गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान सकिएको इञ्जिनियर भट्टराईले बताउनुभयो। उहाँका अनुसार विद्युत् गृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ।
सुरुङ र नहरको विकल्पमा पाइपलाइबाट पानी ल्याएर पाँच सय पाँच मिटर माथिबाट विद्युत् गृहमा खसालिने योजना रहेको आयोजना कार्यालयले जनाएको छ। आयोजनाले नारच्याङको बेंसीगाउँबाट लेकगाउँ हुँदै बाँध र रेलेखर्कस्थित विद्युत् गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाइएको अन्नपूर्ण–४ का कार्यवाहक वडाध्यक्ष श्याम पुर्जाले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- खोटाङको ‘तुवाचुङ मिनी ग्रेटवाल’ जहाँ भरिन थाले पर्यटक
- कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
- खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
- जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …
- अमेरिकाः मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशको निर्देशन
- २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता, आपको हार, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
- हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
- केजरीवालले हारे चुनाव, भाजपाका प्रवेश वर्माको जित
- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
- कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू
