मध्यरात गाग्रीमा पानीः महिलाको जाग्राम

खानेपानी खानेपानी अभावका कारण  महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको सङ्कट चुलिँदै जाँदा महोत्तरीका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम बस्नुपरेको हो।

“तीन दिनयता दिनभरि धारामा पानी झरेको छैन, राति झर्छ कि भन्ने आशमा धाराछेउमा पानी पर्खेर रात कटाइयो”, बर्दिबास–२ ॐ शान्तिचोककी गृहिणी फूलमाया मगर भन्नुहुन्छ, “धन्न, गए राति मध्यराततिर धारामा तुरुरु पानी झरेपछि जाग्राम बसेको प्रतिफल मिल्यो।” फूलमायाजस्तै उहाँका छिमेकी पर्मिला ठाकुर, नगिना महतो र वृन्दा भण्डारीले पनि मध्यराततिर बोतल, गाग्री, तसला, बाल्टिनसहितका भाडामा पानी भरेपछि एक दिनलाई ढुक्क भएको बताउनुभयो।

पानीका मुहान सुक्दै जाँदा यहाँका बस्तीमा पानीको सङ्कट पनि बढ्दै गएको छ। धारामा पानी आउँदैन, आए पनि गाग्री, बाल्टिन वा जार भरिँदैनन्। पानीको सङ्कट गहिरिदैँ जाँदा पूर्वपश्चिम रेल आयोजनाको भब्सीपुल नजिक रहेको बोरिङमा पानी थाप्नेको भीड लाग्ने गरेको छ। बस्ती क्षेत्रबाट पाँच सय मिटर दूरीमा रहेको सो बोरिङमा घाम अस्ताएपछि भने कोही जाँदैनन्। रेल्वेसम्बन्धी निर्माणकार्य प्रयोजनका लागि पानी आपूर्ति गर्न जडान गरिएको बोरिङले अहिले निकैलाई राहत भएको बर्दिबास–१४ लच्काचोकका गौरी साह बताउनुहुन्छ।

यसैगरी बर्दिबास जलेश्वर सडकखण्डको बर्दिबास–२ लच्काबाट बुद्धचोकसम्म ढल निर्माणको छ। निर्माणकार्यका लागि त्यहाँ ठूलो ट्याङ्कीमा ल्याइने पानीमध्ये बचेखुचेको स्थानीयलाई दिन केही त्राण मिलेको सोही वडाको दर्लामीटोलकी यशोदा तिमल्सिनाले बताउनुभयो। “ पानीको हाहाकार परेकै बेला ढल बनाउने काम परेछ। चाहिनेजति नपाए पनि घाँटी भिजाउनका लागि भए पनि पानी पाएपछि निकै राहत मिलेको छ”, उहाँले रासससँग भन्नुभयो।

बर्दिबासका १, २, ३, ४, ५, ६, ८ , १०, ११ र १४ नम्बर वडाका नागरिक खानेपानीका लागि धारामा आश्रित छन् तर भण्डारणकक्षमा पानी घट्दै गएपछि पालो मिलाएर पानी वितरण गर्न थालिएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ। संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाँलले पानीको स्रोतका रूपमा रहेका नदी र खोला सुकेपछि भण्डारणमा निकै कमी आएको उहाँले बताउनुभयो। अब पानीका स्रोतहरूको वैकल्पिक खोजी नभए आउने दिन अझै कष्टकर बन्ने उहाँको भनाइ छ।

महोत्तरीमा जेठ लागेदेखि नै पानी घट्दै गएको हो। जेठको मध्ययता त हाहाकार नै परेको बर्दिबास–१२ चल्कीबिजलपुराका नवराज कोइराला बताउनुहुन्छ। बर्दिबासका ७, ९, १२ र १३ नम्बर वडाबस्तीमा खानेपानीका लागि इनार र चापाकल मुख्यस्रोत हुन्। बर्दिबास–१२ मेघरोल र जुडीटोलमा चापाकल प्रयोग हुँदै आएको छ। मेघरोल बस्तीका विशुनदेव राय दनुवारले अहिले इनारमा र चापाकल पानी सुकेका बताउनुभयो।

पानीका मुहान सुक्दै गएपछि मानिसमात्र नभएर अहिले घरपालुवा पशु, चराचुरुङ्गी र वन्यजन्तुले पनि पानीको सङ्कट झेल्दैछन्। यसैगरी बालीनाली पहेँलिएर सुक्न थालेका छन्। यहाँका बस्तीबस्तीमा अहिले खानेपानीको सङ्कट बढेको छ।

बर्दिबास–९ पशुपतिनगरका ६० वर्षीय महेन्द्र महतोको घर अगाडिको इनारमा पानीका लागि झारिएको डोल डुब्न छाडिसक्यो। उहाँ भन्नुहुन्छ, “गर्मी अचाक्ली बढेको छ, पानीका स्रोत धमाधम सुक्दैछन्, अब पानीको सङ्कट निकै बढ्लाजस्तो छ। अब इनारले पानी ख्वाउला भन्ने आश मर्यो। लगत्तै पानी नपर्ने हो भने आजभोलिमै इनारमा पानी स्याप्पै सुक्छ होला।” पछिल्ला केही वर्षयता बर्सेनिजसो यस्तै सङ्कट भोग्नुपरेको महतोले बताउनुभयो।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गएको छ तर जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रमा भने समस्या थप विकराल बन्दैछ। बर्दिबास–२ का रामबाबु धमला पानीका मुहान सुक्दै गएपछि धाराबाट पानी कतिखेर चुहिन्छ भनेर ताक हेर्नुपर्ने अवस्था आएको  बताउनुहुन्छ। यसैगरी भङ्गाहा नगरपालिकाका– ३, ४ , ५ र ९ मा इनार र चापाकल सुकेपछि निकै समस्या छ। भङ्गाहाकै १, २, ६, ७ र ८ का आर्टिजिन बोरिङबाट पानी झर्न छाडेको भङ्गाहा–८ धर्मपुरका उपेन्द्र चौधरी थारू बताउनुहुन्छ। भङ्गाहाका यी वडाबाहेक आर्टिजिन बोरि¬ङ खानेपानीका स्रोत रहेका बलवा, लोहारपट्टी, रामगोपालपुर र औरही नगरपालिकामा पनि पानी झर्ने मात्रा निकै घटेको स्थानीय बताउँछन्।

यसैगरी गौशाला नगरपालिका क्षेत्रमा एकपछि अर्को इनार र चापाकल सुक्दैछन्। पानीका लागि साइकलमा गाग्री झुण्ड्याएर परपर जानुपरेको गौशाला–६ का तेजनारायण यादव बताउनुहुन्छ। जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा हाहाकारै परी नसके पनि सो क्षेत्रका खानेपानीको स्रोत चापाकल धमाधम सुक्दै गएका उहाँले बताउनुभयो।

बस्तीमा पोखरी, डबराडबरी (साना पोखरी) सबैजसो सुकिसकेका छन्, यसले पशुभाउ बचाउन निकै सकस भएको पशुपालक किसान हीरादेवी दाहालले गुनासो गर्नुभयो। यसका साथै वनक्षेत्रका पानी अडिने खाल्डाखुल्डी, जरुवा र डबरा सबै सुकेपछि चराचुरुङ्गी र वन्यजन्तु जोखिममा परेका छन्। पुरानो चारकोशे झाडी (फार्लाइन पनि भनिन्छ) मा पानी नभेटेपछि पानीको खोजमा वन्यजन्तु बस्ती पसेका छन्। हरिण, मृग, जरायोसहितका जनावर उत्तरको चुरे काछतिर र बँदेल, नीलगाई र दुम्सीलगायतका वन्यजन्तु दक्षिणका सघन बस्तीमा पसेका छन्। यसरी पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरिदिँदा किसान दोहोरो मारमा परेका छन्।

“यहाँ मान्छे र घरपालुवा जनावर जोगिन हाहाकार परेका बेला वन्यजन्तु पनि थपिएका छन्”, बलवा–१० धमौराका उत्तिम माझी भन्नुहुन्छ, “पानीकै सङ्कटबीच बाली पनि जोगाउन सकिएको छैन।” डिभिजन वन कार्यालय महोत्तरीले पानीको सङ्कट चुलिदै जाँदा पानीको खोजमा टाढाटाढा जान थालेपछि वनक्षेत्रमा वन्यजन्तु देखिन छाडेका जनाएको छ। “यहाँ वनभित्रका ताल, ससाना पोखरी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सबै सुकेका छन्, वनभित्र पानी भेटिन छाडेको छ”, कार्यालय प्रमुख सन्तोषकुमार झा भन्नुहुन्छ, “मान्छेमात्रै होइन यहाँ वन्यजन्तु जोगाउन पनि गम्भीर सङ्कट आउँदै छ।”

पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन कष्टकर छ, त्यसैमा पानीको समस्या थपिएको छ। बालीनाली तथा लहरा पहेँलिएर खङरङ्ग सुक्दै छन्। यो अवस्थाले पिरोलिएका नागरिक आकाशतिर फर्केर पानी पारिदिन ईश्वर पुकार्नुभन्दा अर्को विकल्प नभएको बताउँछन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link