हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णमा मानव पाइला परेको जुन ३ को दिनले अन्नपूर्ण आरोहण दिवसका रुपमा चासो र चर्चा कमाएको छ। सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेपछि मात्रै विश्वमा हिमाल आरोहणको सुरुवात भएकाले पनि यस दिनको गरिमा र महत्व चुलिएको हो।
फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ। अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।
सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन हिमाल भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यो हिमालले विश्वको सबैभन्दा जेठो हिमालको उपाधि हासिल गर्नुले यसको विशिष्ट महत्व रहेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी बताउनुहुन्छ।
“पर्वतारोहण एवं पदयात्रा पर्यटन नेपालको विशिष्टता हो”, उहाँले भन्नुभयो, “आरोहणको जेठो हिमालका रुपमा यसको गरिमालाई बढाउनका लागि प्रत्येक वर्ष जुन ३ को दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का रुपमा भव्यताका साथ मनाउने गरिएको छ।”
अन्नपूर्ण आरोहण दिवसको महत्वलाई दृष्टिगत गर्दै नेपाल पर्यटन बोर्डको आयोजना एवं ट्रेकिङ एजेन्सिज एशोसिएनशन अफ नेपाल (टान) गण्डकी प्रदेश र नेपात पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सहकार्यमा यसवर्ष पर्यटन राजधानी पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पाखेरेलले बताउनुभयो।
नेपाल सरकार परराष्ट्र मन्त्रालयको सहकार्य एवं पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको साथ र सहयोग गरेको कार्यक्रमअन्तर्गत दिवसको पूर्वसन्ध्यामा जेठ २० गते कास्कीको धम्पुसदेखि धिताल गाउँ हुँदै अस्तामसम्म विदेशी कूटनीतिज्ञहरू पदयात्रामा सहभागी बन्नुभएको उहाँले जानकारी दिनुभयो।
पदयात्रा सहभागी कूटनीतिज्ञलाई स्थानीयले बाजागाजा सहित स्वागत गरेका थिए। अन्नपूर्ण आरोहण दिवसमा भाग लिन आउनुभएका अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलङ्का, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूत, दूतावासका उच्च अधिकारी, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू उत्साहपूर्ण रुपमा पदयात्रामा सहभागी बन्नुभएको थियो।
सहभागी अधिकांश कूटनीतिज्ञहरूले पदयात्रासहित यहाँको प्रकृतिको मुक्तकण्ठले प्रशंसा गर्दै प्रकृति तथा वातावरण जोगाउन आग्रह गर्नुभएको थियो। अन्नपूर्ण आरोहण दिवसको मूल समारोहका अवसरमा भोलि समारोहपूर्व विविध संस्कृति झल्काउने र्याली प्रदर्शनी गरिने जनाइएको छ। कार्यक्रममा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पासहित अन्य हिमाल आरोहण गरेका पर्वतारोही पनि सहभागी हुने र उनीहरूलाई सम्मान गरिने जनाइएको छ।
अन्नपूर्ण आरोहण दिवसकै दिन अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट कास्कीको पर्यटकीय गाउँ घान्द्रुकसम्म चौथो संस्करणको अन्नपूर्ण म्याराथनको आयोजना गरेको छ भने टान गण्डकीले भ्यु फेवा राउन्ड फेवा पदमार्गमा पदयात्राको आयोजना गरेको छ।
फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउनुभयो। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्छ। आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ।
सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो। अन्नपूर्णको सफल आरोहण भएकै दिनलाई अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाउने गरिन्छ।
हर्जोकको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताउनुभयो। “मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उहाँले भन्नुभयो, “अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ।”
मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको अन्तरसम्बन्ध रहेको उपाध्यक्ष आचार्यले बताउनुभयो। मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोड प्रति बिक्री भएको पर्यटन व्यवसायीहरूको भनाइ छ। जुन पुस्तक विश्वमा धेरै प्रति बिक्री हुने मध्येमा पर्दछ।
“हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू आठ हजार मिटरभन्दा अग्लो हिमालमा गए,” हर्जोगले आफ्नो पुस्तकमै लेख्नुभएको छ, “हिमालमा फ्रान्सेली झन्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन ? भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो।”
हातखुट्टा गुमाए, विश्वको सम्मान पाए
अन्नपूर्णको सफल आरोहण गरेपछि हर्जोगले बाँकी जीवन भने थप पीडामा बिताउनु पर्यो। आरोहणको क्रममा उहाँको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए। उहाँले ३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहण गर्नुभएको थियो। फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिनुभएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो। नेपालबाट फर्कंदा भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर उहाँ आफ्नै जन्मथलो फर्किनुभएको थियो। फ्रान्समा पनि राम्रो उपचार नभएपछि उहाँले अमेरिका पुगेर कृत्रिम हातखुट्टा राख्नुभएको थियो।
नेपालका तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गर्नुभएको थियो। हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस र चिकित्सक मार्सेलोसहितको टोलीले मोहन शमशेरलाई भेट गरेको थियो। तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो। हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो।
हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उहाँलाई झन्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो। हर्जोगले आफ्नो पुस्तकमा ‘हिमाल चढ्दा के हुन्छ, हुँदैन’ भनी अविवाहित बसेको र अन्नपूर्ण चढेपछि बिहे गरेको उल्लेख गर्नुभएको छ। हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो। नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो। सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामाकरण गरेको छ।
पदमार्गको प्रचारप्रसार गर्न प्रवेशविन्दुमा पर्ने नारच्याङमा विसं २०७७ मा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्वस आयोजना गरेको थियो। कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामाकरण अन्नपूर्ण हिमालबाट गरिएको छ। अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको बताउनुभयो। “हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको अहिले पहिचान भएको छ,” अध्यक्ष पुनले भन्नुभयो “प्रकृतिको वरदान मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउन पहल थालेका छौँ।”
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ। दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो। “हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै पदमार्ग तयार गरेका छौँ,” उहाँले भन्नुभयो, “अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ।”
पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पार्न अध्ययनको काम अन्तिम चरणमा पुगेको छ। अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले यस वर्ष विनियोजन भएको रु ५० लाख बजेटबाट आश्रयस्थलको क्षमता विस्तार थालिएको र गुरुयोजनाअनुसार सङ्घीय, प्रदेश सरकारबाट स्रोत जुटाएर पूर्वाधार विस्तार गरिने बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने