एमनेस्टी नेपालको तीसौँ साधारण सभा धुलिखेलमा   

धुलिखेल, काभ्रे।विश्वविख्यात मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलको नेपाल शाखा (एम्नेस्टी नेपाल) को तीसौँ वार्षिक साधारण सभा यही चैत्र महिनाको १८ र १९ गते काभ्रेको धुलिखेलमा हुने भएको छ।एम्नेस्टी नेपालले आज एक विज्ञप्ती प्रकाशित गर्दै सो जानकारी दिएको हो।

साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरुमाथि छलफल गरी अनुमोदन गर्ने विज्ञप्तीमा उल्लेख छ।यसका साथै आगामी दुई वर्षको कार्यकालका लागि संस्थाको कार्यकारी बोर्ड र पुनरावेदन समितिको नयाँ नेतृत्व पनि साधारण सभाले चयन गर्नेछ।

एम्नेस्टी नेपालको तीसौँ साधारण सभामा संस्थामा आवद्ध समूह, युवा सञ्जाल एवम् समर्थक सदस्यहरुका तर्फबाट २ सय ५४ मताधिकार प्राप्त प्रतिनिधिहरु, बोर्ड तथा पुनरावेदन समितिका पदाधिकारीहरु, कर्मचारी, स्वयंसेवक, पर्यवेक्षक र एम्नेस्टी इन्टरनेशनलको अन्तर्राष्ट्रिय बोर्ड र अभियानका प्रतिनिधिहरु गरी ३ सयभन्दा बढीको सहभागिता रहने बताइएको छ।

सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न विशेष साधारण सभाद्वारा संशोधित विधानमार्फत संस्थाको गभर्नेन्समा आएको आमूल परिवर्तनपश्चात मताधिकार प्राप्त प्रतिनिधिहरूको संख्यामा उल्लेख्य वृद्धि भएका कारण तीसौँ साधारण सभा विगतका भन्दा निकै फरक हुने एम्नेस्टी नेपालले बताएको छ।सो विशेष साधारण सभाले गरेको युवा तथा समर्थक सदस्यहरूको समावेशीकरण तथा सहभागिताले एम्नेस्टी नेपालको सुशासन प्रक्रियालाई थप उदारीकरण र लोकतान्त्रिक बनाउने मात्र नभई आगामी दिनहरूमा स्पष्ट, सबल र स्पष्ट मानवअधिकार दिशातर्फ डोर्‍याउने एम्नेस्टीले अपेक्षा गरेको बताएको छ। 

साधारण सभाको उद्घाटन चैत्र १८ गते दिउँसो १ बजे धुलिखेलस्थित धुलिखेल नगरपालिकाको सभा हलमा हुनेछ, एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भन्नुभयो, साधारण सभाको उद्घाटनपछि बन्द सत्रको कार्यक्रम रहेको जसमा एम्नेस्टी नेपालका प्रतिनिधिहरूले गत वर्षमा गरिएको मानवअधिकारसम्बन्धी कार्यहरूको प्रभावको बारेमा समीक्षा गर्नुका साथै सन् २०२२ का लागि संस्थाको बजेट लगायत प्राथमिकताहरूको निर्धारण गर्नेछन्।उक्त बन्द सत्रमा संस्थाको आर्थिक प्रतिवेदनलाई छलफल गरी अनुमोदन गर्ने तथा केही मानवअधिकारसम्बन्धी प्रस्तावहरूमाथि पनि छलफल चलाई पारित गर्ने कार्यक्रमसमेत रहेको छ ।

बन्द सत्र पश्चात बेलुकी ५.३० बजे नेपालमा हिरासतमा हुने मृत्युका घटनाहरू रोक्नका लागि एम्नेस्टी नेपालले जारी राखेको अभियानसम्बन्धी एउटा कार्यक्रम आयोजना गरिने विज्ञप्तीमा उल्लेख छ।यस कार्यक्रमको लागि धुलिखेलस्थित एम्नेस्टी नेपालमा आबद्ध काठमाडौँ विश्वविद्यालय युथ नेट्वर्कका सदस्यहरूले हिरासतमा हुने मृत्यु विषयमा एउटा नाटक प्रदर्शन गर्नेछन्, जसमा नेपालमा दुर्व्यवहारयुक्त अनुसन्धान प्रक्रियाको दौरान कसरी प्रहरी नियन्त्रणमा मृत्युका घटनाहरू हुन्छन् र यी घटनाहरूमा कसरी कुनै पनि जवाफदेहिता स्थापित हुँदैन भन्ने कुरालाई देखाइने एम्नेस्टी नेपालले जानकारी दिएको छ।

चैत्र १९ गते एम्नेस्टी नेपालको नयाँ नेतृत्व चयनका लागि प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचन कार्यक्रमको निर्धारण गरिएको विज्ञप्तीमार्फत एम्नेस्टी नेपालले जानकारी दिएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
एमनेस्टी नेपालको तीसौँ साधारण सभा धुलिखेलमा   
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link