लुम्बिनी विमानस्थलमा चलाउन चिनियाँ मन्त्रीसँग गुहार

लुम्बिनी भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङलाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेको छ।

सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वको टोलीले चिनियाँ मन्त्रीलाई विमानस्थलमा हवाई सेवा सञ्चालन र पर्यटन व्यवसाय विकासका लागि लगानी गर्न आग्रह गरेको हो। चिनियाँ कम्पनीले निर्माण गरेको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न चीनको सहयोग आवश्यक रहेका भन्दै ध्यानाकर्षण गराइएको  सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो। “नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनसँगै बुद्धको सन्देश विश्वव्यापी बनाउन सकिने भएकाले छिमेकी राष्ट्रको हिसाबले सहयोगका लागि पहल गर्न आग्रह गरेका हौँ”, श्रेष्ठले भन्नुभयो, “हामी चीनसँग नेपालको पुरानो सम्बन्ध रहेकाले लुम्बिनीमा चिनियाँ तीर्थयात्रुहरुलाई स्वागत गर्न सधैँ आतुर छौँ। चीनले हवाई सेवा सुरु गरे त्यो सपना साकार हुन्थ्यो भन्ने विषयमा ध्यानाकर्षण गराएका हौँ। चिनियाँ मन्त्रीबाट पनि सकारात्मक जवाफ पाएका छौँ।” लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका माध्यमबाट नेपाल र चीनको पर्यटकीय गन्तब्य मात्र नभई औद्योगिक विकासमा समेत टेवा पुग्ने श्रेष्ठले बताउनुभयो।

त्यसअवसरमा  मन्त्री रुइफेंङले चीनबाट नियमित उडान भर्ने विषयमा पहलकदमी लिने प्रतिबद्धता जनाउनुभयो। उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चीन सरकार तयारीमा जुटिसकेकाले चाँडै उडान हुने विश्वास व्यक्त गर्नुभएको थियो। “उहाँले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको बताउनुभएको थियो। हवाई सेवाका विषयमा पनि चीन सरकार सकारात्मक रहेको र तयारीमा जुटेको भन्ने जानकारी पाएपछि हामी उत्साहित भएका छौँ”, श्रेष्ठले भन्नुभयो।

बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवर्द्धन एवं नेपाल चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउने उद्देश्यका साथ लुम्बिनी भ्रमणमा आएको मन्त्री रुइफेंङले बताउनुभएको छ।

उहाँले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिनुभयो। भ्रमणका क्रममा कोषका उपाध्यक्ष डा लामाले लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकाले चीनबाट नियमित उडानका लागि पहल गर्न आग्रह गर्नुभएको थियो। “नियमित उडान हुँदा बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन हुनुका साथै बुद्धको सन्देश विश्वव्यापी बनाउन थप सहज हुन्थ्यो, त्यसकारण छिमेकी राष्ट्रको हिसाबले यहाँहरूले पहल गरिदिनुपर्‍यो। यसैगरी लुम्बिनी दर्शनका लागि चिनियाँ तीर्थयात्रुहरु यहाँ आउन सहज हुन्थ्यो”, त्यसअवसरमा उहाँले भन्नुभएको थियो।

चिनियाँ मन्त्रीले समेत चीनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभएको उपाध्यक्ष डा लामाले जानकारी दिनुभयो। “उहाँले आफूहरु लुम्बिनी र नेपालसँगको सहकार्यका लागि सदैव सकारात्मक रहेको र यो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको र चाँडै उडान हुने अवस्था बनाउन आफू पनि प्रतिबद्ध रहेको छु भन्नुभएको छ”, उपाध्यक्ष डा लामाले भन्नुभयो।

मन्त्री रुइफेंङसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्युरो प्रमुख हुआङ्ग झिहुइसहितको उपस्थिति रहेको थियो। मन्त्रीसहितको टोलीको स्वागतमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईलगायतको उपस्थिति थियो।  यसैगरी मन्त्री रुईफेंङले लुम्बिनीस्थित चिनियाँ विहारको समेत भ्रमण गर्नुभयो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link