सत्ताको गोलचक्करः आइतबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली

नेपालमा चलिरहेको सत्ताको गोलचक्करमा आइतबारदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुने भएको छ। प्रधानमन्त्री पदमा नियुक्तिको लागि शुक्रबार नै उहाँले राष्ट्रपति समक्ष दावी पेश गर्नु भएको छ।
राष्ट्रपतिवाट नयाँ सरकार गठनको लागि आह्वान भए लगतै नेपाली कांग्रेसका र एमालेका नेतहरू राष्ट्रपति कार्यालय पुग्नु भएको थियो।

कांग्रेस सभापति शेर बहादुर देउवा सहित राष्ट्रपति कार्यालय पुग्नु भएका एमाले अध्यक्ष ओलीले कांग्रेस र एमालेका १ सय ६५ सासंदहरूको हस्ताक्षर पेश गर्नु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनका लागि आइतवार साँझ ५ बजे सम्मको समय दिएर प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको थियो।

यसअघि प्रतिनिधि सभामा पाँचौँ पटक विश्वासको मत लिने क्रममा बहुमत सिद्ध गर्न नसकेपछि १८ महिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त हुनुभएको छ।

यस पटक विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले ६३ भोट पाउनुभयो। एक सदस्य तटस्थ बस्दा प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत खस्यो। मतदानमा २५८ सांसद सहभागी थिए।

प्रधानमन्त्रीले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) को मात्र मत पाउनुभयो। प्रचण्ड पदमुक्त भएसँगै नेकपा (माओवादी केन्द्र) नौ वर्षपछि प्रमुख प्रतिपक्ष दलको हैसियतमा पुगेको छ। २०७२ असोज २५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएयता माओवादी केन्द्र सत्ताको नेतृत्व साझेदारीमा थियो। २०७७ मा भएको प्रतिनिधि सभा विघटनको छोटो अवधिमा भने माओवादी केन्द्र निकटका केही मन्त्रीहरू सरकारबाट फिर्ता भएका थिए तर एकीकृत दल नेकपाले नै सरकारको नेतृत्व गरेको थियो।

पछिल्लो डेढ वर्षको अवधिमा प्रधानमन्त्री प्रचण्डले एमाले, कांग्रेससँग आलोपालो साझेदारी गरेर सरकारको नेतृत्व गर्नुभएको थियो। पाँच पटकमध्ये तीन पटक प्रचण्डले गठबन्धन हेरफेर गरेकै कारण विश्वासको मत लिनुपरेको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link