पपुवान्युगिनीलाई ५० रनले पराजित गर्दै घरेलू टोली नेपाल ट्राइनेशन टी–२० क्रिकेट सिरिजको उपाधि जित्न सफल भएको छ । उत्कृष्ट लयमा देखिएका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ब्याटसँगै बलिङमा पनि चम्किएपछि यो सिरिजमा नेपालले पपुवान्युगिनीलाई लगातार तेस्रोपटक हराउन सफल भयो । उपाधिसँगै दिपेन्द्रसिंहले अन्तराष्ट्रिय टी–२० क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको व्यक्तिगत उपलव्धि समेत आत्मसात गरे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको शुरूवात खास रहेन । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४.४ ओभरमा ३७ रनको साझेदारी गरे । भुर्तेल २५ रन बनाएर आउट भए भने आसिफले २९ रन बनाए । रोहित पौडेल मात्र २ रन बनाएर आउट भए भने आरिफ शेख र दिलिप नाथले खाता नै खोल्न सकेनन् ।
नियमित रुपमा विकेट झर्दै गएपछि एक समय नेपाल दवाव परेको नेपाललाई पुनः एकपटक दिपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । उनले संयमित भएर खेल्दै अर्धशतक पूरा गरेपछि मात्र नेपाल १६८ रनको सम्मानजनक योगफल तयार पार्न सफल भएको थियो । दिपेन्द्रले संयमित खेल खेल्दै ३८ बलमा ५ चौकाको सहयोगमा ५४ रनको अविजित पारी खेले भने इनिङको अन्त्यतिर करण केसीले विष्फोटक खेल खेल्दै १२ बलमा ३३ रन बनाए ।
पीएनजीका लागि सेमो कामियाले ३ विकेट लिए भने चाड सोपर, काबुआ मोरिए र रिले हेकुरेको नाममा समान १–१ विकेट रह्यो ।
प्रत्युत्तरमा १६९ रनको लक्ष्य पछ्याएको पपुवान्युगिनी १६.१ ओभरमा १२७ रन बनाएर अलआउट भयो । पीएनजीलाई कम स्कोरमा समेट्ने क्रममा दिपेन्द्रसिंह ऐरीले ४ विकेट आफ्नो नाम गराए भने करन केसी ३ विकेट हात पार्न सफल रहे । कप्तान सन्दिप लामिछानेको नाममा २ विकेट रह्यो ।
फाइनलका ‘म्यान अफ दी म्याच’ दिपेन्द्रसिंह ऐरी चुनिए । प्रतियोगितामा दुई अर्धशतक र एक शतकसहित २५५ रन पूरा गर्दै ७ विकेट समेत लिएका दिपेन्द्रसिंह निर्विवाद रुपमा ‘म्यान अफ दी सिरिज’ समेत घोषित भए । दिपेन्द्रले ३४ खेल खेल्दै टी–२० क्रिकेटमा १ हजार ३३ रन बनाइसकेका छन् ।
कुल १३ विकेट लिँदै करन केसी प्रतियोगिताको सवोत्कृष्ट बलर विकेट घाेषित भए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै