नेपाललाई ट्राइनेशन टी–२० सिरिजको उपाधि

पपुवान्युगिनीलाई ५० रनले पराजित गर्दै घरेलू टोली नेपाल ट्राइनेशन टी–२० क्रिकेट सिरिजको उपाधि जित्न सफल भएको छ । उत्कृष्ट लयमा देखिएका ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी ब्याटसँगै बलिङमा पनि चम्किएपछि यो सिरिजमा नेपालले पपुवान्युगिनीलाई लगातार तेस्रोपटक हराउन सफल भयो । उपाधिसँगै दिपेन्द्रसिंहले अन्तराष्ट्रिय टी–२० क्रिकेटमा हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको व्यक्तिगत उपलव्धि समेत आत्मसात गरे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको शुरूवात खास रहेन । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४.४ ओभरमा ३७ रनको साझेदारी गरे । भुर्तेल २५ रन बनाएर आउट भए भने आसिफले २९ रन बनाए । रोहित पौडेल मात्र २ रन बनाएर आउट भए भने आरिफ शेख र दिलिप नाथले खाता नै खोल्न सकेनन् ।

नियमित रुपमा विकेट झर्दै गएपछि एक समय नेपाल दवाव परेको नेपाललाई पुनः एकपटक दिपेन्द्रसिंह ऐरीले सम्हालेका थिए । उनले संयमित भएर खेल्दै अर्धशतक पूरा गरेपछि मात्र नेपाल १६८ रनको सम्मानजनक योगफल तयार पार्न सफल भएको थियो । दिपेन्द्रले संयमित खेल खेल्दै ३८ बलमा ५ चौकाको सहयोगमा ५४ रनको अविजित पारी खेले भने इनिङको अन्त्यतिर करण केसीले विष्फोटक खेल खेल्दै १२ बलमा ३३ रन बनाए ।

पीएनजीका लागि सेमो कामियाले ३ विकेट लिए भने चाड सोपर, काबुआ मोरिए र रिले हेकुरेको नाममा समान १–१ विकेट रह्यो ।

प्रत्युत्तरमा १६९ रनको लक्ष्य पछ्याएको पपुवान्युगिनी १६.१ ओभरमा १२७ रन बनाएर अलआउट भयो । पीएनजीलाई कम स्कोरमा समेट्ने क्रममा दिपेन्द्रसिंह ऐरीले ४ विकेट आफ्नो नाम गराए भने करन केसी ३ विकेट हात पार्न सफल रहे । कप्तान सन्दिप लामिछानेको नाममा २ विकेट रह्यो ।

फाइनलका ‘म्यान अफ दी म्याच’ दिपेन्द्रसिंह ऐरी चुनिए । प्रतियोगितामा दुई अर्धशतक र एक शतकसहित २५५ रन पूरा गर्दै ७ विकेट समेत लिएका दिपेन्द्रसिंह निर्विवाद रुपमा ‘म्यान अफ दी सिरिज’ समेत घोषित भए । दिपेन्द्रले ३४ खेल खेल्दै टी–२० क्रिकेटमा १ हजार ३३ रन बनाइसकेका छन् ।

कुल १३ विकेट लिँदै करन केसी प्रतियोगिताको सवोत्कृष्ट बलर विकेट घाेषित भए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
नेपाललाई ट्राइनेशन टी–२० सिरिजको उपाधि
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link