च्याम्पियन्स लिग २०२२ : सेमिफाइनल समीकरण पूरा

युरोपियन च्याम्पियन्स लिग फुटबल २०२२ को सेमिफाइनलमा इंग्लिश क्लब म्यानचेष्टर सिटीले स्पेनी महारथी रियल म्याड्रिडको सामना गर्नुपर्ने भएको छ।त्यस्तै अर्को अंग्रेज टोली लिभरपुलले स्पेनकै भिल्लारियलसँग प्रतिश्पर्धा गर्नेछ।गएराति सम्पन्न क्वार्टरफाइनलका अन्तिम दुई खेलपछि निकालिएको ड्र अनुसार यो समीकरण तयार भएको हो।

गत रात सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग तनावपूर्ण रूपमा गोलरहित बराबरीमा समाप्त भएपछि म्यानचेष्टर सिटी पहिलो लेगमा एट्लेटिको म्याड्रिडविरुद्ध हात पारेको १–० जितको आधारमा सेमिफाइनल प्रवेश गरेको हो।

त्यस्तै लिभरपुल र पोर्चुगलको बेनफिकाबिचको दोस्रो लेगको खेल ३–३ को बराबरीमा समाप्त भयो।पहिलो लेगमा हात पारेको ३–१ को जीतका आधारमा बेनफिकालाई ६–४ ले पछि पार्दै लिभरपुल पछिल्ला पाँच वर्षमा  तेस्रोपटक प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो।

त्यसअघि मंगलवार सम्पन्न खेलमा चेल्सीसँग ३–२ ले पराजित भए पनि पहिलो लेगमा हात पारेको ३–१ को जितका आधारमा समग्रमा ५–४ गोलले अगाडि रहँदै रियल म्याड्रिड सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो।मंगलबार राति रियलको घरेलू मैदानमा चेल्सीले ७५ मिनेटभित्र ३ गोल गर्दै ४–१ को अग्रतासहित च्याम्पियन्स लिगको इतिहासमा एउटा अर्को अभूतपूर्व ‘कमब्याक’को कथा बुनिसकेका थिए।तर रियलका क्रोएशियन प्लेमेकर लुका मोडरिकको जादुमयी पासमा रोड्रिगोले ८० औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।अतिरिक्त समयको छैठौँ मिनेटमा करिम बेन्जेमाले रियलका लागि निर्णायक गोल गर्दै डिफेन्डिङ च्याम्पियन चेल्सीको सेमिफाइनल सम्भावनालाई समाप्त पारिदिए।

अर्को खेलमा जर्मन जायन्ट बार्यन म्युनिखलाई पाखा लगाउँदै ‘अन्डरडग’ मानिएको भिल्लारियल अप्रत्याशित रूपमा प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो।

पहिलो लेगमा ०–१ गोलले पछाडि रहेको बार्यनका लागि दोस्रो लेगमा रोवर्ट लेवान्डोस्कीले एक गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए।तर भिल्लारियलका स्यामुएल चिकेइजाले खेलको ८८औँ मिनेटमा गोल गरेपछि बार्यनको यात्रा क्वार्टरफाइनलमै समाप्त भएको हो।

सेमिफाइनलको पहिलो लेगका खेलहरू अप्रिल २७ र २८ मा हुनेछन् भने दोस्रो लेगको खेल मे ४ र ५ मा खेलिनेछन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
च्याम्पियन्स लिग २०२२ : सेमिफाइनल समीकरण पूरा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link