राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नै वन तथा वातावरण मन्त्रालयबाट समयमा सहमति नआएपछि दाताहरूले आफ्नो प्रस्ताव फिर्ता गरेको जानकारी गराएको छ । समितिका अनुसार बाँस रोप्नका लागि रु चार अर्ब ८८ करोड ४० लाख (३७ मिलियन अमेरिकी डलर) अनुदान दिन फ्रान्सको दाता ‘रिफरेस्ट एक्सन’ तयार थियो । तर लामो समयसम्म सहमति पाउन नसकेपछि अनुदान उपलब्ध नगराउने भन्दै सन्देश पठाएको समितिले जनाएको छ ।
समितिका अध्यक्ष डा किरण पौडेलले पुराना दाता फर्किए पनि नयाँ दातासँग थप पैरवी भइरहेको जानकारी दिनुभयो । “धेरै मेहनत गरेर हामीले बल्लबल्ल बाँस रोप्न लगानी गर्ने इच्छुक दाता भेटाएका थियौँ । परियोजनाको डिजाइन तयार भए पनि वन मन्त्रालयबाट परियोजना स्वीकृत नभएपछि लगानी नगर्ने भन्दै दाता फर्किएका हुन्”, उहाँले भन्नुभयो, “अब भने मन्त्रालय पनि चुरेमा बाँस रोप्न सकारात्मक छ, मन्त्रालयसँग सहकार्य गरेर हामीले नयाँ दाताको रुपमा एसियाली विकास बैंकसँग छलफल र पैरवी अगाडि बढाएका छौँ ।
उहाँका अनुसार एसियाली विकास बैंक (एडिबी) सँग चुरेमा बाँस रोप्न ३० मिलियन अमेरिकी डलर (करिब चार अर्ब सात करोड) रुपैयाँ आर्थिक सहयोगका लागि प्रस्ताव गरिएको छ । “एडिबीले उपलब्ध गराउन लागेको उक्त रकममध्ये ५० प्रतिशत अनुदान र ५० प्रतिशत ऋण उपलब्ध गराउन खोजेको छ । कूल रकमको दुई तिहाइ अनुदान र एक तिहाइ मात्रै सहुलियत दरमा ऋण उपलब्ध गराउन हामीले पहल गरिरहेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “नेपाल कार्बन व्यापारमा जाने तयारी गरिहेको छ । चुरेमा उत्पादन भएका बाँसले कार्बन उत्सर्जन न्यूनीकरण गरेवापत आर्थिक लाभ लिन सक्छ । कार्बन क्रेताको रुपमा विभिन्न निजी क्षेत्र इच्छुक देखिन सक्छन् ।”
पौडेलले मुलुकको पूर्र्वी क्षेत्रमा एक करोड बाँस र पश्चिम क्षेत्रमा एक करोड बाँस गरी दुई करोड बाँस राप्ने समितिको योजना रहेको बताउनुयो । उहाँका अनुसार उक्त बाँस रोप्ने परियोजनाका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएपछि वित्तीय सहयोगका लागि वैदेशिक दाताहरुसँग सहयोगको अपिल गरिएको हो ।
“चुरेको माटो संरक्षण गर्न, बाँसबाट स्थानीय रोजगारी वृद्धि तथा हरित अर्थतन्त्र सुधार गर्न, वातावरणीय संरक्षण तथा कार्बन उत्सर्जन कटौतीमा सहयोग गर्ने लक्ष्यका साथ समितिले बाँस रोप्ने तयारी गरेको हो”, उहाँले भन्नुभयो, “चुरेको माटो जोगाउन सकिएन भने भूक्षय तथा पहिरोका कारण त्यहाँ खानेपानीको स्रोत सुक्ने र चरम अभाव भोग्नुपर्ने समस्या उत्पन्न हुन सक्छ तसर्थ माटो बचाउन बाँसले सहयोग पुग्ने र बाँसले जमिनमुनि पानी रिचार्ज गरिरहन सहयोग पुग्ने छ ।”
बाँस रोपेपछि चुरेका खाली रहेका भूभागको सदुपयोग गर्दै अर्थतन्त्र विकासमा सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो । पौडेलले दुई करोड बाँस रोप्नका लागि एक सय मिलियन अमेरिकी डलर आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँस रोपेर पाँच वर्षमा प्रतिफल प्राप्त हुने भएकाले हरित अर्थतन्त्रमा सुधार आउने छ ।”
समितिको बोर्ड सदस्य डा सुस्मिता ढकालले बाँसले चुरेको वातावरण संरक्षण, आर्थिक आयआर्जन सुधार, रोजगारी वृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । “बाँस छिटोछिटो वृद्धि हुने वनस्पति भएकाले हरियाली बढाउन प्रभावकारी र यसले हावा शुद्ध पार्न तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा सहयोग गर्छ”, उहाँले भन्नुभयो, “बाँसले विभिन्न प्रजातिका जनावरलाई वासस्थान प्रदान गर्छ, जसले जैविक विविधता जोगाउन र स्थानीय समुदायलाई रोजगारीका अवसर सिर्जना गर्दछ ।”
बाँसबाट टोकरी, कुचो, फर्निचर, ढोका, खाट, र अन्य दैनिक सामग्री बनाउन सकिन्छ । घर बनाउने, झोलुङ्गे पुल र ग्रीन हाउस निर्माणमा यसको प्रयोग गर्न सकिन्छ ।
दासले नेपालमा बाँसबाट बनाइने सामग्रीको माग उच्च रहेको र ग्रामीण क्षेत्रमा घरायसी सामानका लागि व्यापक प्रयोग गरिने बाँसको फर्निचर, हस्तकलाका सामग्री र औद्योगिक उत्पादनका लागि अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेको बताउनुभयो । उहाँले सरकार, निजी क्षेत्र र समुदाय मिलेर बाँस खेती प्रवर्द्धन गरेमा दीर्घकालीन लाभ प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।
जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले बाढी पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि बाँसले सहयोग गर्ने बताउनुभयो । “अरु भन्दा बाँस हलुका खालको वनस्पति हो । चुरेको माटो कमजोर रहेकाले ठूला बिरुवाले पहिरोको खतरा बढाउँछ । चुरेको माटो सुहाउँदो वनस्पति बाँस हो”, उहाँले भन्नुभयो, “साना मझौला उद्योग प्रवर्द्धनमा सहयोग गर्छ । चुरेमा बाँस र निगालो दुवै विरुवा रोपेमा हरियाली प्रवर्द्धन भइ पारिस्थतिकीय प्रणालीको सन्तुलन कायम गर्छ । जलवायु परिवर्तन न्यूनीकरणमा बाँसको भूमिका हुन्छ ।”
उप्रेतीका अनुसार चुरे क्षेत्रमा भूक्षयका कारण नदीहरूमा बालुवा र गिट्टी जम्मा हुने समस्याले नदीको बहाव परिवर्तन गरी बाढीको जोखिम बढाउँछ । बाँस रोप्दा भूक्षय कम हुने, नदीजन्य प्रकोप नियन्त्रण गर्न सहयोग मिल्ने उहाँको भनाइ छ ।
बाँस खेतीलाई दीर्घकालीन रूपमा प्रवर्द्धन गर्न तीनै सरकारबीच समन्वय, निजी क्षेत्र, र समुदायबीच सहकार्य अनिवार्य रहेको विज्ञहरुको सुझाव छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार