हाल देशभर मनसुनी तथा स्थानिक वायुको प्रभाव कायम रहेकाले कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यी पाँचै प्रदेशमा अत्यन्त जरुरी नभए असोज १७ गतेदेखि २० गतेसम्म यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज १७) दिउँसो र राति देशभर सामान्य तथा आंशिकदेखि पूर्ण रूपमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी प्रदेशको तराई, कर्णाली र बागमतीका पहाडी क्षेत्र तथा यी पाँचै प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। भारी वर्षाका कारण बाढी र भूस्खलनको उच्च जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले राससलाई दिएको जानकारीअनुसार, जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म यी प्रदेशहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेकोले उच्च सतर्कताका लागि यात्रा प्रतिबन्धको अनुरोध गरिएको हो। बागमती, कमला र कोशी नदीहरूमा जल स्तर खतरनाक सङ्केतमा पुग्ने सम्भावना रहेको उहाँले बताउनुभयो। बाढी तथा भूस्खलन प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सर्न प्रोत्साहन दिइएको छ भने सुरक्षा निकाय र स्थानीय तहहरूलाई उच्च सतर्क रहन निर्देशन दिइसकिएको छ।
प्रवक्ता महतले भन्नुभयो, “अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रवार देखी २० गते सोमबारसम्म लामो यात्रा नगर्न अनुरोध गरेको छु।” साथै, जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई वर्षा र सडक अवस्थाका आधारमा सवारी सञ्चालनसम्बन्धी निर्णय लिन र सुरक्षा बल तथा स्थानीय सरकारहरूलाई तयारी अवस्थामा रहन तथा डोजर र एक्स्काभेटर जस्ता उपकरणहरू जोखिमपूर्ण राजमार्ग र सडकहरूमा तैनाथ राख्न निर्देशन दिइएको छ। जोखिम क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित उचाइका स्थानहरूबारे जानकारी राख्न र आवश्यक परे सहयोगीहरूलाई पनि सुरक्षित स्थानमा लान प्रोत्साहित गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले पनि कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसरी मनसुनी वर्षाका कारण देशका विभिन्न भागमा जनजीवन कठिन बन्दै गएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मावि सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा: राज्यको ध्यान कहिले जाने?
- पुल नहुँदा अस्थायी डाइभर्सनकै भर: बाढी आउनासाथ ठप्प हुन्छ पाँचथरको यातायात
- चरा संरक्षणमार्फत पर्यावरणीय सन्तुलन र पर्यटन विकासको बहस
- जर्मन सरकारको अनुदानमा धुलिखेल खानेपानीको पुन:निर्माण
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम:चट्याङसहित मध्यम वर्षाको सम्भावना
- श्रमदानबाट ठडियो धरानमा ज्येष्ठ नागरिक उद्यान
- नेपालगन्ज भन्सार: दस महिनामा ६८.२ प्रतिशत मात्र राजस्व संकलन
- समुद्री स्रोतको दिगो संरक्षण र अन्तर्राष्ट्रिय दिवस
- आज विश्व वातावरण दिवस