पानीको बिलसमेत तिर्न नसक्ने भीभीआईपी र भीआईपी

अहिले काठमाडौ उपत्यकाको तिर्खा मेट्न मेलम्चीको पानी वितरण गर्न थालिएको छ । पानी वितरण र व्यवस्थापनको चुनौतीबाट गुज्रिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई भने सरकारी तथा सार्वजनिक निकायमा जडान भइसकेको धारामा पानी पठाउने कि धाराको लाइन नै बन्द गर्ने भन्ने दवाव छ । किनभने केयुकेएलको बक्यौता सूचीमा, विभिन्न सरकारी निकाय उद्योग, ठूला होटल तथा केही घरायसी ग्राहकको खातामा अहिले ३० करोड भन्दा बढी बक्यौता बाँकी छ । जसमा सरकारी कार्यालय कै बक्यौता ६ करोड भन्दा माथि छ ।
अहिलेसम्म केयुकेएलले ३० करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको बताए पनि त्यसमा त्रिपुरेश्वर शाखाको विवरण अझै समेटिएको छैन । यो शाखाको समेत बक्यौता जोड्ने हो भने यो आकडा अझ धेरै हुन्छ ।
केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले निरन्तर ताकेता गर्दा पनि सरकारी तथा सार्वजनिक निकायले पानी प्रयोग गरेबापतको ६ करोड ५१ लाख ३ हजार ७ सय ६६ रुपैयाँ तिर्न आनाकानी गरिरहेको बताए ।
साधारण ग्राहकले नियमित महसुल भुक्तानी नगरे नयाँ धारो जडान नगर्ने र ग्राहक विवरण नै खारेज गर्ने नीति लिएको केयुकेएलले सरकारी कार्यालयको हकमा के गर्छ त ? प्रवक्ता राई भन्छन्– सरकारी निकाय भएकाले ती निकायका नाममा जडान भएको धारो बन्द गर्न समस्या पर्छ । त्यसैले यो बक्यौता हरेक वर्ष उकालो लागिरहेको छ ।
सामान्य ग्राहकले पानीको शुल्क नतिर्दा केयुकेएलले धाराको लाइन काट्ने गरेको छ तर सरकारी तथा सार्वजनिक निकायको हकमा यो नियम कार्यान्वयन गर्न असफल भएको छ । केयुकेएलका प्रवक्ता राईले करोडौं बक्यौता भएका सरकारी धारोमा अहिले पनि नियमित पानी पठाउनु परिरहेको स्वीकार गरेका छन् । केयुकेएलको विवरण अनुसार, राष्ट्रपति भवन शीतल निवासदेखि, प्रधानमन्त्री निवास बालुवाटारको नाममा समेत लाखौं बाँकी छ । प्रधानन्यायाधीश देखि सभामुख निवासमा जोडिएको धाराको नाममा पनि बाँकी देखिन्छ ।


केयुकेएलको बक्यौता विवरणमा आर्थिक रुपमा सधैं सबल रहँदै आएका विभिन्न मन्त्रालय, सुरक्षा निकाय सहित नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौ महानगरपालिका समेतको नाम चढेको छ ।


प्रवक्ता राईले भीभीआईपी र भीआईपीहरूको निवास भित्रको बक्यौता विवरण सार्वजनिक गर्न नमिल्ने र सम्बन्धित शाखाबाट पटक पटक ताकेता गर्दा समेत कुनै पनि निकायले पानीको शुल्क तिर्न चासो नदेखाएको बताए । यति हुँदा पनि केयुकेएल, ती कार्यालय अथवा सरकारी निवासमा जडान भएका धाराको लाइन काट्न सक्ने अवस्थामा छैन ।
केयुकेएलको बक्यौता विवरणमा आर्थिक रुपमा सधैं सबल रहँदै आएका विभिन्न मन्त्रालय, सुरक्षा निकाय सहित नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, काठमाडौ महानगरपालिका समेतको नाम चढेको छ ।
पानीको बक्यौता चुक्ता गर्न नेपाल टेलिकमलाई पनि पटक पटक पत्राचार गरेको तर शुल्क भुक्तानीका लागि सम्पर्क मै नआएको केयुकेएलले जनाएको छ । यस्तै सामान्य ग्राहकले ३ महिना नियमित शुल्क भुक्तानी नगरे लाइन काट्ने नेपाल टेलिकम जस्तै नेपाल विद्युत् प्राधिकरणले पनि केयुकेएललाई लाखौं शुल्क तिर्न बाँकी छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नाममा पनि केयुकेएलको बक्यौता छ ।


३० करोड भन्दा बढी बक्यौता उठाउन नसकेको केयुकेएलले अहिले पनि काठमाडौं उपत्यकामा पाइपका अतिरिक्त यिनै पैसा नतिर्ने सरकारी ग्राहकलाई ट्यांकर मार्फत समेत खानेपानी वितरण गर्दै आएको छ । शुल्क नतिर्ने ग्राहकको सेवा अवरुद्ध गर्ने प्रक्रिया अघि बढाउँदा तालुक निकायबाट दबाब आउने तर शुल्क भुक्तानीका लागि गरेको पत्राचारको वास्ता नगर्ने प्रवृत्ति छ । सरकारी संस्थानहरूलाई अहिले मेलम्चीको धारो जडान प्रक्रिया अघि बढेपछि पनि कैयौं पटक पत्र काटेको छ तर शुल्क तिर्न कुनै पनि निकायले चासो नदिएको केयुकेएलका प्रवक्ता राईले बताए ।
केयुकेएलको बक्यौता सूचीमा, विभिन्न कल–कारखाना, फ्याक्ट्री तथा उद्योग व्यवसायीको शीर्षकमा २८ लाख ४९ हजार ८ सय ९४ रुपैयाँ शुल्क उठ्न बाँकी छ । घरायसी ग्राहकबाट उठ्न बाँकी २३ करोड ६ लाख ९५ हजार ४ सय ६९ रुपैंया उठ्न नसकेपछि केयुकेएलले अहिले मेलम्चीको धारो जडान गर्दा त्यस्ता ग्राहकको ३ पुस्ते विवरण भिडाएर कालो सूचीमा रहेका ग्राहकलाई नयाँ धारो जडान नगर्ने नीति लिएको प्रवक्ता राईले बताए ।
केयुकेएलको बक्यौता सूचीमा सबैभन्दा धेरै महाराजगञ्ज शाखाका ग्राहक छन् । जहाँ शीतल निवास, वालुवाटारका अतिरिक्त, विभिन्न राजदूतावास, अस्पताल, सुरक्षा निकायको कार्यालय समेत रहेका छन् । महाराजगञ्ज क्षेत्रका ग्राहकबाट नै ८ करोड ७५ लाख ६० हजार १ सय ५२ रुपैंया महसुल उठ्न बाँकी रहेको केयुकेएलले जनाएको छ । जसमा सरकारी निकायमा जडान भएको धारा तथा ट्यांकर सेवा बापतको रकम २ करोड ७२ लाख ५ हजार ४ सय ९७ रुपैयाँ बाँकी छ ।
महाराजगञ्ज क्षेत्रका विभिन्न उद्योग धन्दाबाट २८ लाख ४९ हजार ८ सय ९४ रुपैंया र घरायसी ग्राहकबाट ५ करोड ७५ लाख ४ हजार ७ सय ६१ रुपैंया उठाउन बाँकी छ । केयुकेएलको धेरै बक्यौता रहेको अर्को क्षेत्र क्षेत्रपाटी हो । यो क्षेत्रबाट ७ करोड ४१ लाख ८१ हजार १ सय २ रुपैंया उठाउन बाँकी रहेको प्रवक्ता राईले बताए । जसमा धेरै होटल तथा सेवा क्षेत्रका ग्राहक कालो सूचीमा परेका छन् ।
यस्तै संसद भवन तथा विभिन्न अस्पताल र सामान्य ग्राहकबाट नयाँ बानेश्वर शाखाले ५ करोड २३ लाख ७९ हजार ४ सय ८१ रुपैंया उठाउन सकेको छैन । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले त्रिपुरेश्वर, कमलादी, ठिमी, कीर्तिपुर शाखाको बक्यौता विवरण तयार भइरहेको जनाएको छ । यी क्षेत्रमा मेलम्चीको पानी वितरण प्राथमिकता र तयार कम भएकाले कालो सूचीमा परेका ग्राहकको विवरण संकलनमा ढिलाइ भएको हो । जसमा त्रिभुवन विश्व विद्यालयदेखि परीक्षा नियन्त्रण कार्यालय समेतको नाममा वर्षौंदेखि बक्यौता रहेको छ ।
यसबाहेक, केयुकेएलको ललितपुर शाखाले पनि मन्त्री निवाससहित विभिन्न सरकारी निकायबाट समेत ६ करोड ६२ लाख १४ हजार २ सय ८५ रुपैयाँ असुल्न सकेको छैन । केयुकेएलको बक्यौता सूचीमा मन्त्री निवास पुल्चोकको बक्यौता नै एक करोड भन्दा माथि छ । यस्तै भक्तपुर शाखाबाट १ करोड ५५ लाख ५८ हजार ३ सय ६२ रुपैंया उठ्न बाँकी छ ।
केयुकेएलले मेलम्चीको पानी नियमित वितरण सुरुभएपछि कालो सूचीमा परेका सबै ग्राहकको लाइन बन्द गर्ने र नयाँ धारा जडान नगर्ने चेतावनी सहित सबै निकायलाई पत्र काटेको जनाएको छ । प्रवक्ता राईले पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरिए सरकारी निकायको धारो समेत बन्द गर्न सकिने जनाउ दिए । राईका अनुसार यसका लागि तालुक निकाय मार्फत केयुकेएलले प्रक्रिया अघि बढाइ रहेको छ ।

तस्बिरः काठमाडौँ लगन टोलको एउटा घरमा मेलम्चीको पानी ट्याङ्कीमा हालिँदै। 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

यशोदा भण्डारी/काठमाडौँ का अन्य पोस्टहरु:
पानीको बिलसमेत तिर्न नसक्ने भीभीआईपी र भीआईपी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link