नेपाल प्रिमियर लिग: सुदूरपश्चिमको लगातार दोस्रो जित, आज कर्णाली र लुम्बिनी भिडन्त

जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा शुक्रवार सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ भने शनिवार (आज) दुई महत्त्वपूर्ण खेलहरू हुँदै छन् ।

शुक्रवार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि जोस ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्कासहित ६८ रनको विस्फोटक अर्धशतकीय पारी खेले । विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ तथा दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे । पोखराका जिम्मी निशम, आकाश चन्द र डान डाउथवेटले समान २–२ विकेट लिए ।

१९४ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा ८ विकेट गुमाएर १७५ रनमा समेटियो । पोखराका कप्तान कुशल भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्कासहित ५२ रन बनाए भने जिम्मी निशमले २५ बलमा २ चौका र ५ छक्कासहित ४७ तथा डान डाउथवेटले ३७ रन जोडे । सुदूरपश्चिमका हर्मित सिंहले २ तथा स्कट कुगेलेइन, दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १–१ विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिमले २ खेलबाट ४ अङ्क जोडेको छ भने पोखरा एभेन्जर्सले लगातार दोस्रो हार बेहोरेको छ ।

यसैबिच, एनपीएल अन्तर्गत आज (शनिवार) कीर्तिपुरमै दुई खेल हुँदै छन् । पहिलो खेल बिहान ११:१५ बजे कर्णाली याक्स र लुम्बिनी लायन्सबिच हुनेछ । अझै जितविहीन कर्णाली पहिलो जितको खोजीमा मैदान उत्रँदा लुम्बिनी लायन्स लगातार दोस्रो जितको लक्ष्यमा छ । लुम्बिनीले यसअघि चितवन राइनोजलाई ६ विकेटले हराएको थियो ।

दोस्रो खेल दिउँसो ३:३० बजे काठमाण्डु गुर्खाज र विराटनगर किङ्सबिच हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराए पनि दोस्रो खेलमा सुदूरपश्चिमसँग हार बेहोरेको थियो । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले भने पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै लगातार दोस्रो जितको खोजीमा छ ।

एनपीएलमा रोमाञ्चक प्रतिस्पर्धा जारी छ ।

#एनपीएल #क्रिकेट #नेपालप्रिमियरलिग 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link