सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा ८५ रनमा अलआउट भएको थियो। यो स्कोर एनपिएल फाइनलको सबैभन्दा कम योगफल हो।
लुम्बिनीका बलरहरूको उत्कृष्ट प्रदर्शनले सुदूरपश्चिमको इनिङ्स ध्वस्त बन्यो। कप्तान रोहित कुमार पौडेलले ह्याट्रिकसहित ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। उनले ११औँ ओभरमा दीपेन्द्र सिंह ऐरी, दिपक बोहरा र पुनित मेहरालाई लगातार आउट गरेका थिए। यस्तै, रुबेन ट्रम्पलमानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट हात पारे भने शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए। सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए भने कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन जोडे।
८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा नै पूरा गर्यो। ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै पहिलो ओभरमै दीपेन्द्र सिंह ऐरीलाई ४ छक्का प्रहार गरे। उनले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाए। डार्सी सर्टसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका दिनेशलाई हेमन्त धामीले आउट गरे। सर्ट १४ रनमा बोल्ड भए। कप्तान रोहित पौडेलले १६ रन, निरोशन डिकवेलाले अविजित ११ रन जोडे भने दिलिप नाथले विजयी रन प्रहार गरे।
लुम्बिनीले लिग चरणमा सुरुमा तीन हार बेहोरे पनि पछिल्ला ६ खेलमा लगातार जित हासिल गर्दै सानदार पुनरागमन गरेको थियो। यससँगै लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन बनेको छ भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युएईलाई हराउँदै नेपालले जित्यो तेस्रो संस्करणको एसीसी प्रिमियर कप, सन् २०२७ को एसिया कपमा छनोट
- हेरालु र जालीको भर: जोगियो मकै बाली
- लेकाली जंगलको ‘रातो च्याउ’बाट मनग्गे आम्दानी
- एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई आमनेसामने
- विश्व प्राथमिक उपचार दिवस आज
- डलरको दर कति – आजको लागि विदेशी मुद्राको विनिमय दर
- भोटेकोशी बाढीको भग्नावशेष र बालुवा-माटो हटाउन मात्रै ९५ अर्ब बढी लाग्ने अनुमान
- च्याम्पियन्स लिग: बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको सानदार जित
- देशभर कुशे औँसी मनाइँदै: घरघरमा कुश भित्र्याइँदै, बाबुको मुख हेर्ने दिन
- प्रतिनिधिसभा बैठक आज बस्दै