तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान: व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते सहिद दिवसको अवसरमा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना गर्दै आएको अल्ट्रा म्याराथन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण गर्ने र प्रतिभा पहिचान तथा उजागर गर्ने अभियान भएको उहाँले बताउनुभयो। पर्यटकीय स्थल व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ सहिद गाउँ पुलिमराङमा ४४ किलोमिटर लामो दुरीको म्याराथन हुने नगरपालिकाले जनाएको छ।
उनका अनुसार यस प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउनेछ। नगर प्रमुख न्यौपानेले भने, “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ। यसका साथै मगर र गुरुङ समुदायको कला, संस्कार, संस्कृति प्रवर्द्धनमा टेवा पुगेको छ।”
मानुङकोटबाट अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दौड सञ्चालन हुनेछ।
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिक स्थल र ऐतिहासिक क्षेत्रलाई एउटै मालामा जोड्ने कार्य गरेको बताए। उनका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैँमा पर्यटन सम्भावनाले भरिपूर्ण छ। यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगिरहेको गुरुङको भनाइ छ।
नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिए। धावकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोली परिचालन गरिने उनले बताए। सहभागी धावकलाई आवश्यक सूचना, मार्ग निर्देशन र सुरक्षा व्यवस्थामा कुनै कमी नहुने उनको भनाइ छ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट २०० भन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः रु.८५ हजार ७७, रु।६५ हजार ७७ र रु।५५ हजार ७७ नगद पुरस्कार प्रदान गरिनेछ भने पाँच जना धावकलाई सान्त्वना पुरस्कार स्वरूप रु।१६ हजार ७७ प्रदान गरिनेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीमितलाई एक लाख उपचार सुविधा कायम, ओपिडीमा सीमितता
- टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली
- अपराध गरेर विदेश लुकेका १० जनालाई इन्टरपोल सहयोगमा नेपाल फर्काइयो
- सञ्चारमाध्यम उल्लङ्घनमा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन
- निर्वाचन आयोगद्वारा नागरिक शिक्षा स्रोत सामग्री सार्वजनिक
- आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
- बुवाको पहिचान नहुँदा एघार वर्ष आमाको नामबाट नागरिकता
- कृषि क्षेत्र सुस्त, उद्योग र सेवा चलायमान, चालु आवको वृद्धिदर ३.५%
- आज उच्च पहाड र हिमालमा बदली, तराईमा तुँवालोको सम्भावना
- मुस्ताङ निर्वाचन : ३६ देखि ६८९ मतदातासम्मका केन्द्र, ३९ स्थान कायम