समानुपातिक मतगणना अन्तिम चरणमा: रास्वपाको अग्रता कायमै, जसपालाई राष्ट्रिय दल बन्न सकस

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले आज बिहान ६:३० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कूल १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ।

गत फागुन २१ गते भएको निर्वाचनमा कुल १ करोड ९ लाख ७७ हजार मत खसेको थियो। अब करिब २ लाख ७० हजार मत मात्र गणना गर्न बाँकी छ।

दलगत अवस्था र प्राप्त मतको विवरण

हालसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख १९ हजार ६१९ मतका साथ पहिलो स्थानमा रहेको छ। यो कुल गणना भएको मतको ४७.५९ प्रतिशत हो।

मुख्य प्रतिस्पर्धी दलहरूको अवस्था यस प्रकार छ:

राजनीतिक दल प्राप्त मत प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी ५१,१९,६१९ ४७.५९%
नेपाली काँग्रेस १७,४७,७३७ १६.२८%
नेकपा (एमाले) १४,४८,३१८ १३.४९%
नेपाली कम्युनिस्ट पार्टी ८,०३,६२७ ७.४८%
श्रम संस्कृति पार्टी ३,७८,५८७ ३.५२%
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३,२९,४५७ ३.०७%

यसबाहेक जनता समाजवादी पार्टी (जसपा) नेपालले १,७४,३०६, राष्ट्रिय परिवर्तन पार्टीले १,७१,४९७ र जनमत पार्टीले ७८,९४९ मत प्राप्त गरेका छन्।

राष्ट्रिय दलको मान्यता र थ्रेसहोल्डको चुनौती

कानुनी व्यवस्था अनुसार राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुका साथै समानुपातिकमा कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ।

पछिल्लो तथ्याङ्क अनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालले मात्र १ प्रतिशत हाराहारी मत प्राप्त गरेको छ। गणना हुन बाँकी मत थोरै भएकाले जसपालाई ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएर राष्ट्रिय दल बन्न निकै चुनौतीपूर्ण देखिएको छ।

सिट बाँडफाँटको अनुमान

हालसम्मको गणना आधारमा प्रारम्भिक हिसाब गर्दा रास्वपाले ५८, काँग्रेसले १९, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४–४ सिट पाउने सम्भावना देखिएको छ। निर्वाचन आयोगले सबै क्षेत्रको अन्तिम परिणाम आएपछि मात्र आधिकारिक सिट सङ्ख्या घोषणा गर्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link