चितवनका ६ पालिकाबाट करदाता सेवा सुरु

चितवन जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ। भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो।

नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो। आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रत्ननगर, कालिका र राप्ती नगरपालिकामा गएको माघबाट सेवा सुरु गरिएको थियो। त्यसको केही समयपछि खैरहनीबाट सेवा सुरु गरिएको हो। गएको चैत १९ गते माडीबाट सेवा सुरु गरिएकोमा आजदेखि इच्छाकामनामा सेवा सुरु गरिने उनले बताए।

यसैबीच, आन्तरिक राजस्व विभागका सूचना प्रविधि निर्देशक पदमबहादुर भण्डारीले छवटै पालिकाका अधिकृत र सहायकस्तरका दुईदुई जना कर्मचारीलाई सोमबार एक दिने प्रशिक्षण दिएका छान्। सो क्रममा प्रविधिसँग सम्बन्धित र अन्य विषयहरुका बारेमा उहाँहरुलाई जानकारी गराइएको थियो। पालिकाहरुले व्यक्तिगत प्यान, व्यावसायिक प्यान दिन सक्ने छन्। करदाताको आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संसोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षा दिनसमेत सक्ने छन्। ती विषयमा पनि छलफल भएको खड्काले जानकारी दिए।

ती पालिकाका करदाताको अनुगमन, अनुसन्धान र कर परीक्षणलगायतका काम भने आन्तरिक राजस्व कार्यालयबाटै हुने छ। कार्यालय भरतपुरमा रहेकाले भरतपुर महानगरपालिकामा भने केन्द्र सञ्चालनमा ल्याइएको छैन। आन्तरिक राजस्व कार्यालय भरतपुरमा ७४ हजार करदाता रहेका छन्। यस कार्यालयले यस आर्थिक वर्षमा रु २९ अर्ब ८१ करोड ७७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। हालसम्म रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link