वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले हरिशयनी एकादशी आज देशभर विशेष धार्मिक अनुष्ठानका साथ मनाउँदैछन्।
यस पर्वमा आज सनातन धर्मावलम्बीहरूले आ-आफ्नो घरको मठमा विधिपूर्वक तुलसीको बिरुवा रोपेका छन्। धार्मिक मान्यताअनुसार निर्जला एकादशीका दिन बीउ राखिएको तुलसीको बिरुवालाई आजकै दिन मठमा सार्ने परम्परा रहेको छ। बिहानै स्नान गरी शुद्ध चित्तले मन्त्रोच्चारण गर्दै बिरुवा रोप्ने र विशेष पूजाअर्चना गर्ने श्रद्धालुहरूको घर-घरमा चहलपहल देखिएको छ।
आज रोपिएको तुलसीलाई आगामी चार महिनासम्म अर्थात् कात्तिक शुक्ल एकादशी (हरिबोधनी एकादशी) सम्म विशेष श्रद्धाका साथ पूजा गर्ने गरिन्छ। आजकै दिनदेखि हिन्दु संस्कृतिमा ‘चतुर्मास’ व्रतको समेत औपचारिक आरम्भ भएको छ। पुराणहरूका अनुसार भगवान् विष्णु आजैका दिनदेखि चार महिनासम्म क्षीरसागरमा शयन गर्ने हुनाले यस एकादशीलाई हरिशयनी एकादशी भनिएको हो।
भगवान् विष्णु शयन गर्ने यस अवधिमा मांगलिक कार्यहरू (विवाह, व्रतबन्ध आदि) नगर्ने र आध्यात्मिक साधना तथा जप–तपमा ध्यान केन्द्रित गर्ने शास्त्रीय मान्यता रहेको छ। वैज्ञानिक दृष्टिले समेत अधिक अक्सिजन उत्सर्जन गर्ने र औषधिजन्य गुणले युक्त मानिने तुलसीलाई आध्यात्मिक रूपमा ‘विष्णुप्रिया’ का रूपमा पुजिन्छ। तुलसी रोपिएको घरलाई तीर्थ समान मानिने र त्यहाँ नकारात्मक ऊर्जा प्रवेश नगर्ने जनविश्वास रहिआएको छ।
यस अवसरमा आज राजधानीको बूढानीलकण्ठ, चाँगुनारायण, शोषनारायण, इचंगुनारायण, माछापोखरीस्थित नारायण मन्दिर लगायत मुलुकभरका विभिन्न विष्णु मन्दिरहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। एकादशीका अवसरमा आज धेरैले निराहार व्रत बसी फलाहार गर्ने र एकादशी महात्म्य श्रवण गर्ने गर्दछन्।
कात्तिक शुक्ल एकादशीमा तुलसीको विवाह नगरुन्जेलसम्म प्रत्येक दिन बिहान–बेलुका तुलसीको मठमा दीप प्रज्वलन गरी पूजा गर्ने क्रम आजैबाट शुरु भएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बीच सुरु भयो ‘ कोप’
- पहिरोको जोखिममा हाकुबेँसी, स्थानान्तरणका लागि स्थानीयको माग
- आज तिहारको चौथो दिन: विधिपूर्वक गाईको पूजा गरिँदै
- ला लिगा: फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाद्वारा एट्लेटिको मड्रिड पराजित
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने