नेपालका कतिपय मन्दिर, विहारलगायत ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको सम्पूर्ण क्षेत्रमा वा ठाउँविशेषको फोटोग्राफी नगर्न सूचना टाँसिएको पाइन्छ। यसको अर्थ हो, फोटो खिच्नु हुँदैन। किन हुँदैन भनेर सोध्दा जवाफमा अनेक प्रकारका रहस्यमय कारण बताइन्छन्। ती जवाफ बुझिने खालका पनि हुँदैनन् किनभने बताउनेले नै पनि वास्तविकता थाहा पाएको हुँदैन।
सम्बन्धित संस्था वा समूहले पनि बुझेर फोटो खिच्न निषेध गरेको जस्तो लाग्दैन। त्यही तस्बिर पुस्तक, पत्रपत्रिकालगायतका माध्यममा प्रकाशित भइरहेका हुन्छन्। अरु त अरु मन्दिर परिसरमै पनि ती तस्बिरहरू बिक्रीमा राखिएका हुन्छन्। यो अत्यन्तै विरोधाभासपूर्ण कुरा हो।
फोटोग्राफी गर्नु हुँदैन भनिएका धेरै सम्पदा क्षेत्रमा केही रूपैयाँ दिएपछि निर्वाध रूपमा तस्बिर खिच्न पाइन्छ। सम्पदा क्षेत्रमा फोटो खिच्न नदिनुको खास कारण छ तर त्यो खास कारण बुझ्दै नबुझी त्यसको महत्त्व बढाउन खोजेझैं गरी फोटो खिच्न नमिल्ने नियम बनाउनुको अर्थ छैन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका बेलामा मूर्तिको फोटोग्राफी मात्र होइन, टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण नै गरियो। यसभन्दा अघिदेखि नै यस मूर्तिको फोटो सर्वसुलभ छ। टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइसकेको उक्त मूर्तिको फोटोग्राफी अझै पनि निषेध गरिनु ताजुप लाग्ने कुरा हो।
वास्तवमा चित्रकलालगायत कतिपय सम्पदाहरूको फोटोग्राफी गर्दा ‘फ्ल्यास’ का कारण रासायनिक असर पर्छ भन्ने डरले फोटो खिच्न हुँदैन भनिएको हो। यो नितान्त प्राविधिक कुरा हो। ‘फ्ल्यास’ को प्रयोगबिना पनि फोटो खिच्न सकिन्छ र असर पनि केही पर्दैन। मधुरो प्रकाशमा नै पनि सामान्य युक्तिले ‘फ्ल्यास’ को प्रयोगबिना राम्रोसँग फोटोग्राफी गर्न सकिने कुराको जानकारी नभएर पनि भ्रम छरिएको हुनसक्छ। बिरालो बाँधेर श्राद्ध गरेजस्तै गरी सम्पदाको फोटो खिच्न हुँदैन भनेर स्वयं सम्पदाविद्हरू पनि पाण्डित्याइँ छाँटिरहेका हुन्छन्।
तन्त्रमा आधारित मूर्ति तथा चित्रकलाहरूको फोटोग्राफी गर्न हुँदैन पनि भनिन्छ तर यो भनाइको पनि खासै औचित्य देखिँदैन। मूर्तिमा रहेका कुराहरू अरुले अर्थ लगाउलान् र अनर्थ हुन्छ भन्ने तर्क जायज छैन। ती तान्त्रिक मूर्ति वा चित्रकलाको अर्थ कसैले लगाउन सक्नु झन् उपलब्धिपूर्ण कुरा हो। तान्त्रिक पद्धतिअनुसार प्रतिष्ठापन गरिएका देवीदेवताको फोटोग्राफी गराइँदा त्यसमा रहेको शक्ति क्षीण हुन्छ भन्ने तर्क तन्त्रको सामान्य अर्थ नै थाहा नपाइ यससम्बन्धी जानिफकार बन्ने अभिष्ट मात्र हो। कतिपय चित्रकला तथा मूर्तिकलाका सन्देश प्रतीकात्मक हुन्छन् र खुल्लमखुल्ला फोटोग्राफी गर्न दिएर सर्वसाधारणको पहुँचमा पुर्याउँदा अनर्थ हुनसक्ने पनि बताइन्छ। वास्तविकता नबताउँदा भ्रम वा अज्ञानताले ठाउँ पाउने हुन्छ।
मन्दिरमा रहेका देवीदेवताका मूर्तिहरूको फोटोग्राफी खुलमखुला गर्न दिँदा यसको महत्व घट्छ भन्ने तर्क आफैंमा लङ्गडो छ। वास्तविकता त फोटोग्राफीका कारण त्यस स्थलको प्रचारप्रसारसँगै महत्त्व पनि बढ्छ। फोटोग्राफीकै कारण सम्पदाहरूको चोरी हुन सक्ने आशंका सम्वेदनशील त हो तर फोटोग्राफी गरिने भन्दा नगरिने मूर्ति नै बढी चोरिनुले त्यस धारणाको खण्डन गर्छ। यसरी नै चोरी भएर विदेशमा पुगिसकेका वा स्वदेशमै अलपत्र परिरहेका कतिपय नेपाली मूर्तिको पहिचान तथा प्रमाणित गर्न फोटोग्राफीकै मदत लिनुपरेको र यथास्थानमा पुन: स्थापना गर्न संभव भएको दृष्टान्तले यसको महत्त्व दर्शाउँछ।
फोटोग्राफी गर्नु हुँदैन भनिएका धेरै सम्पदा क्षेत्रमा केही रूपैयाँ दिएपछि निर्वाध रूपमा तस्बिर खिच्न पाइन्छ। सम्पदा क्षेत्रमा फोटो खिच्न नदिनुको खास कारण छ तर त्यो खास कारण बुझ्दै नबुझी त्यसको महत्त्व बढाउन खोजेझैं गरी फोटो खिच्न नमिल्ने नियम बनाउनुको अर्थ छैन।
बौद्धहरूले एक लोकेश्वरका रूपमा र हिन्दू धर्मावलम्बीले भगवान विष्णुका रूपमा पूजा गरिँदै आएको प्रसिद्ध मुक्तिनाथ मन्दिर (मुस्ताङ) को प्रमुख मूर्तिको फोटोग्राफी गर्न पहिल्यैदेखि निषेध थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका बेलामा मूर्तिको फोटोग्राफी मात्र होइन, टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण नै गरियो। यसभन्दा अघिदेखि नै यस मूर्तिको फोटो सर्वसुलभ छ। टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइसकेको उक्त मूर्तिको फोटोग्राफी अझै पनि निषेध गरिनु ताजुप लाग्ने कुरा हो।
मुक्तिनाथ मन्दिर भन्दा केही दूरीमा अवस्थित नरसिंह गुम्बाभित्र पनि पहिला फोटोग्राफी गर्न पाइँदैनथ्यो। नरसिंह शब्दले हिन्दू समाजमा प्रचलित भगवान विष्णुको एक अवतारलाई बुझाउँछ तर यो नामको गुम्बा हुनु आफैंमा कौतुहल लाग्ने विषय हो। वास्तविकता त त्यहाँ नरसिंहको मूर्ति नभएर मुख्य मूर्ति आचार्य पद्मसंभवको हो। उक्त मूर्तिको बगलमा रहेका भैरवको उग्र रूपको मूर्तिलाई नै नरसिंह (हिन्दू देवता विष्णुको एउटा अवतार) भन्ठानेको हुनुपर्दछ। स्थानीय ‘नारच्याङ’ शब्दलाई नरसिंह सुनेर भैरवलाई नै नरसिंह भनेर देखाउन बल मिलेको अनुमान गर्न सकिन्छ। यस गुम्बामा सहजै फोटोग्राफी गर्न पाइएको भए यस्ता खालका भ्रम उहिल्यै मेटिने थिए।
सप्तरीको छिन्नमस्ता मन्दिर भनिए पनि वास्तवमा त्यहाँ छिन्नमस्ताको मूर्ति नै छैन। दशमहाविद्याअन्तर्गत हिन्दू तान्त्रिक देवीहरूमा एक छिन्नमस्ता हुन्। फोटो नखिच्ने शर्तमा मूर्तिको अवलोकन गर्न त पाइयो तर उक्त मूर्ति महिषमर्दिनी भगवतीको भग्न मूर्ति पो रहेछ। कारणवश शीरको भाग भाँचिदैमा जुनसुकै मूर्ति छिन्नमस्ता देवीको हुँदैन। छेवैमा रहेको पोखरी सफा गर्दा पाइएको उक्त शीरविहीन मूर्तिलाई स्थापना गरेर त्यस मूर्तिलाई छिन्नमस्ता भन्न थालिएको बुझ्न गार्हो भएन। मूर्तिको सही पहिचान हुन नसक्दा एउटा भनेर अर्को मूर्ति स्थापना गर्ने गरेका दृष्टान्तहरू प्रशस्तै पाइन्छन्। लुम्बिनीमा गौतम बुद्धको जन्मअंकित माता मायादेवीको मूर्तिलाई एक समय रूपादेवी वा वनदेवीका रूपमा पूजा गर्ने तथा बली चढाउने गरेको दृष्टान्त पनि छ। भारतका कतिपय बुद्ध मूर्तिलाई भवानी, देवी, विक्रम बाबा वा अनेक बाबाको नामले पुकार्दै पूजा गर्ने गरेको पाइन्छ। प्रसिद्ध बोधगया मन्दिरको प्राङ्गणमा एक स्थलमा पाँच वटा बुद्धमूर्तिलाई लहरै राखेर पञ्चपाण्डव भनेर स्थापना गरिएका छन्। नेपाल र भारतका यी कुराहरूको फेहरिस्त बनाउँदा सूची लामै बन्छ। मूर्तिलाई नछोप्ने तथा निर्वाध रूपमा फोटोग्राफी गर्न दिने हो भने यी भ्रमहरूबाट सम्पदा मुक्त हुनेसंभावना धेरै हुन्छ।
विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीस्थित मायादेवी मन्दिरभित्र पनि फोटो खिच्न दिइँदैन तर खिच्नेहरूले लुकाएर खिचेको पाइन्छ। यहाँ फोटो नखिच्न भन्नुको एउटै कारण पुरातात्विक स्थल भएको र क्यामेराको ‘फ्ल्यास’ले त्यसमा असर पर्छ भन्नेबाहेक अरु विज्ञानपरक कारण केही देखिँदैन। यही पूरातात्विक महत्व राख्ने संरचनामाथि कर्मचारीहरू बेपरबाह हिड्ने र संरक्षण पनि नहुँदा मौसमअनुसार लेउ लाग्ने लगायतका दृश्यहरू देखिएको अवस्थामा क्यामेराको फ्ल्यासमा मात्र ध्यान दिनु हदैसम्मको मूढमति हो।
आवरण तस्बिरः मुक्तिनाथको पूजा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। उक्त भ्रमणका बेलामा मूर्तिको फोटोग्राफी मात्र होइन, टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण नै गरियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
बसन्त महर्जन का अन्य पोस्टहरु:
- मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
- किन र कसरी विकास भयो बौद्ध धर्म–दर्शनका अनेकौं सम्प्रदायहरू ?
- सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
- नेवार समाजमा छोरी
- सत्यमोहन जोशीसँगका सम्झना
- किन हुन सकेन विज्ञानको कसीमा राखेर धामीझाँक्रीको अध्ययन?
- दसैंमा पशुुबलि
- तीर्थ हो टुकुचा, कहाँ हराएको थियो र भेटिनलाई?
- गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी