अमेरिकी अध्यागमन नीतिले भावी एआई नेतृत्वकर्तालाई धपाउँदै

लेक्स झाओ

अमेरिकी ट्रम्प प्रशासनले एच-वान बी भिसाका लागि नयाँ शुल्क प्रस्ताव गरेको छ भने ग्र्याजुएसनपछि अमेरिकामा १ देखि ३ वर्षसम्म काम गर्न पाइने ‘अप्सनल प्राक्टिकल ट्रेनिङ’ (ओपिटि) कार्यक्रमका लागि १ लाख अमेरिकी डलरसम्म शुल्क लगाउने विषयमा विचार गरिरहेको छ। सन् २०२४ मा करिब ४ लाख १९ हजार विदेशी नागरिकले ओपिटि मार्फत काम गरिरहेका थिए। क्यानडा, बेलायत वा अस्ट्रेलियाका विश्वविद्यालयहरू छाडेर अमेरिकी विश्वविद्यालय रोज्नुको मुख्य कारण नै धेरैका लागि यही ओपिटि सुविधा थियो।

केही हप्ताअघि मात्रै हालैका वर्षहरूमा देखिएका सबैभन्दा प्रतिभावान अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्येका एक जना अमेरिकाको सबैभन्दा ठुलो प्रतिस्पर्धी मुलुक चीन फर्किए भन्ने समाचारले धेरैको ध्यान तानेको थियो। कार्नेगी मेलन युनिभर्सिटीबाट पिएचडी गरेका याङ जिलिनले चीन फर्किएर ‘मुनशोट एआई’ स्थापना गरे, जसको ‘किमी के३’ ओपन मोडललाई अहिले ओपनएआई र एन्थ्रोपिक  का मोडलहरूसँग तुलना गर्न थालिएको छ। उनले अमेरिकामा आफ्नो कम्पनी किन खोलेका थिइनन्? याङले गुगल र मेटामा इन्टर्नसिप गर्नुका साथै एप्पलबाट जागिरको अफर समेत पाएका थिए। तर, उनी आफ्नै कम्पनी खोल्न चाहन्थे र अमेरिकी भिसा प्रणालीले उनलाई अमेरिकामा बसेर कम्पनी खोल्ने सहज वातावरण दिएन।

केही विज्ञहरूले एआईमा पिएचडी गर्ने हरेक विदेशी विद्यार्थीको प्रमाणपत्रसँगै ‘ग्रिन कार्ड’ टाँसिदिनुपर्ने सुझाव दिँदै आएका छन्—उनीहरू गलत पनि छैनन्। तर यो सोच र ओपिटि कार्यक्रम दुवैले के मान्छन् भने—उत्कृष्ट मस्तिष्क भएका युवाहरू पहिले अमेरिकी ठुला टेक कम्पनीमा केही वर्ष काम गर्छन् र अनुभव हासिल गरेपछि मात्र आफ्नै कम्पनी खोल्छन्। अब परिस्थिति त्यस्तो रहेन।

एआईले सबै कुरालाई सुगम र तीव्र बनाइदिएकाले कार्य अनुभवको महत्त्व पहिले जस्तो रहेन। अहिलेका संस्थापकहरू पिएचडी सकिने बित्तिकै वा अध्ययनकै क्रममा २० देखि २५ वर्षको उमेरमै कम्पनी सुरु गरिरहेका छन्। फ्रन्टियर एआई कम्पनी सुरु गर्न सक्ने क्षमता भएका व्यक्तिहरूको सङ्ख्या सानो छ, र तीमध्ये दुई-तिहाइभन्दा बढी विदेशी हुन्। ग्रिन कार्डको पर्खाइमा अरू कसैको कम्पनीमा ५ वर्ष वा सोभन्दा बढी समय बिताएर आफ्नो विचार पुरानो भएको हेर्न यो पुस्ता तयार छैन।

यस्तो अवस्थामा अमेरिकाले के गरिरहेको छ? यसले आफ्नो अध्यागमन प्रणालीलाई झन् जटिल र सुस्त बनाउँदै लगेको छ। १ लाख डलरको ओपिटि शुल्कका अतिरिक्त “व्यापक भिसा दुरुपयोग” रोक्ने नाममा पढाइ सकिएपछि अमेरिकामा बस्न पाइने अवधि ६० दिनबाट घटाएर ३० दिनमा सीमित गरिएको छ। यसको अर्थ पिएचडीको अन्तिम वर्षमा रहेका विद्यार्थीहरू आफ्नो विचारलाई कसरी व्यापारीकरण गर्ने भन्ने सोच बनाउनुको साटो छिटो जागिर कसरी खोज्ने भन्ने दबाब र तनावमा बिताउन बाध्य हुनेछन्। ट्रम्प प्रशासनले जन्मसिद्ध नागरिकताको अधिकार समाप्त गर्ने प्रयास पनि गरिरहेको छ, जुन आप्रवासीहरूका लागि अर्को आकर्षण थियो। उद्योग क्षेत्रले विरोध गर्नुअघि अधिकारीहरूले त अमेरिकी प्रयोगशालाहरूमा कार्यरत विदेशी कर्मचारीहरूलाई फ्रन्टियर मोडलहरूमा पहुँच रोक्ने विचार समेत अघि सारेका थिए।

अन्य देशहरूले अमेरिकी नीतिको यो कदमलाई ध्यानपूर्वक हेरिरहेका छन् र यसको फाइदा आफ्नो पक्षमा उठाइरहेका छन्। क्यानडाले अमेरिकी एच-वान बी भिसा वाहकहरूका लागि विशेष कार्यक्रम ल्यायो, जुन तोकिएको सीमाभन्दा बढी आवेदन परेकाले एकै दिनमा बन्द गर्नुपरेको थियो। अस्ट्रेलिया, फ्रान्स र अन्य देशहरूले अमेरिकामा रहेका अनुसन्धानकर्ताहरूलाई लक्षित गरेर खुलेरै भर्ना अभियान चलाइरहेका छन्।

चीनले त यो अवसर अझ अगाडि नै पहिचान गरिसकेको थियो: उसले सन् २००८ मा ‘थाउजन्ड ट्यालेन्ट्स प्लान’ सुरु गर्‍यो र एक दशकभित्र ७ हजारभन्दा बढी दक्ष जनशक्ति फिर्ता लग्यो। अमेरिकाले विज्ञान क्षेत्रको बजेट कटौती गरिरहँदा चीनले भने हालै अनुसन्धान बजेट बढाएको छ, जुन धेरैका लागि ठुलो प्रोत्साहन साबित भइरहेको छ। जोर्डनको शरणार्थी परिवारमा जन्मिएर किशोरावस्थामा अध्ययनका लागि अमेरिका आएका ओमार याघी ले गत वर्ष रसायनशास्त्रतर्फ नोबेल पुरस्कार साझेदारका रूपमा जितेका थिए। उनले हालै युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेको प्रोफेसर पद छाडेर बेइजिङस्थित सिङ्हुवा युनिभर्सिटीमा जिम्मेवारी सम्हालेका छन्, जहाँ उनले एआईको प्रयोग गरी नयाँ सामग्रीहरूको खोजीलाई तीव्र बनाउने संस्थानको नेतृत्व गर्नेछन्।

नेसनल फाउन्डेसन फर अमेरिकन पोलिसीको प्रतिवेदन अनुसार सन् २००० यता अमेरिकाले रसायन, चिकित्सा र भौतिकशास्त्रमा जितेका नोबेल पुरस्कारमध्ये ४०% आप्रवासी वैज्ञानिकहरूले जितेका छन्।

प्रतिवेदन अनुसार, “उच्च सङ्ख्यामा आप्रवासी नोबेल पुरस्कार विजेताहरू हुनुले अध्यागमनप्रतिको खुलापनलाई दर्साउँछ, जसले कम्प्युटर तथा सूचना प्रविधि, क्यान्सर अनुसन्धान लगायत विभिन्न विज्ञान र प्रविधि क्षेत्रहरूमा अमेरिकालाई विश्वकै अग्रणी अनुसन्धान गन्तव्य बनाउन मद्दत गरेको छ।”

यदि अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आउन र बस्न कठिन बनाइरह्यो भने यो स्थिति धेरै समय टिकिरहने छैन। आज, सन् २०२२ मा स्थापित पेन्टागनको ‘अफिस अफ स्ट्र्याटेजिक क्यापिटल’ ले राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण मानिएका प्रविधिहरू निर्माण गर्न कम्पनीहरूलाई १ करोडदेखि १५ करोड अमेरिकी डलरसम्म ऋण दिन्छ। तर हामीलाई अब एउटा ‘अफिस अफ स्ट्र्याटेजिक ह्युमन क्यापिटल’ को आवश्यकता छ, जसले महत्त्वपूर्ण क्षेत्रका प्रतिभाशाली अन्तर्राष्ट्रिय एआई विद्यार्थीहरूलाई पहिचान गरेर भन्न सकोस्— “यो लिनुहोस् तपाईँको दीर्घकालीन अमेरिकी भिसा, यो लिनुहोस् १ करोड डलर, र गएर प्रविधि निर्माण गर्नुहोस्।”

आगामी सेप्टेम्बरमा अमेरिका र चीनबिच एआई सम्बन्धी वार्ता हुँदैछ। चिप निर्यात नियन्त्रण पक्कै पनि छलफलको तातो विषय हुनेछ। तर मानिसले कहाँ बसेर कम्पनी खोल्ने भन्ने कुरालाई निर्यात नियन्त्रणले रोक्न सक्दैन भन्ने सत्य उनीहरूले स्वीकार गर्ने छैनन्। दशकौँसम्म अमेरिका पहिलो रोजाइ थियो, तर अब स्थिति त्यस्तो रहेन।

अध्यागमन सुधार हुन वर्षौँ लाग्नेछ र अहिले भइरहेको क्षतिलाई पछि सच्याउन गाह्रो हुनेछ। दशकौँदेखि म र मेरो परिवार जस्ता मानिसहरूका लागि अमेरिकातर्फको अध्यागमन ‘एकतर्फी ढोका’ जस्तै थियो: तपाईँ आउनुहुन्थ्यो, बस्नुहुन्थ्यो र यहीँ निर्माण गर्नुहुन्थ्यो। तर अब त्यो ढोका दुवैतर्फ खुल्छ। याङ जिलिन र ओमार याघी त केवल देखिएका प्रमुख उदाहरणहरू मात्र हुन्। उनीहरू नै अन्तिम हुने छैनन्, र यदि अमेरिकाले समयमै कदम चालेन भने, एआई प्रतिभाको दौडमा चीन धेरै अगाडि निस्कनेछ।

लेक्स झाओ भेन्चर क्यापिटल फर्म वान वे भेन्चर्स का म्यानेजिङ पार्टनर हुन्।

(अन्तर्राष्ट्रिय प्रविधि र नीति सम्बन्धी डिजिटल पत्रिका ‘रेस्ट अफ वर्ल्ड’ मा प्रकाशित विचारको सम्पादित अनुवाद)

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link