बागलुङमा बाढी-पहिरोको वितण्डा: १२ को मृत्यु, ६१ घर-गोठ ध्वस्त

असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण बागलुङ जिल्लाका निसीखोला र तमानखोला क्षेत्र गम्भीर रूपमा प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार बाढी र पहिरोका कारण जिल्लाभर १२ जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन्।

विपद्का कारण ५१ घर र १० गोठ गरी कुल ६१ वटा घर-गोठ पूर्ण रूपमा बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ। निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिकाका साथै ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न बस्तीहरू पहिरोको उच्च जोखिम र क्षतिमा परेका छन्। विशेष गरी निसीखोला–४ मा मात्रै २० कच्ची र २ पक्की घर ध्वस्त भएका छन् भने ११ घर जोखिममा परेका छन्।

भौतिक पूर्वाधारतर्फ दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय नै बगाएको छ। यसबाहेक तीन वटा झोलुङ्गे पुल बगेका छन् भने दुई वटा प्रहरी चौकी, दुई वटा जलविद्युत् आयोजना, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन्। बाढी-पहिरोका कारण २५६ वटा पशुचौपाया नष्ट हुनुका साथै २१५ वटा कुखुरा मरेका छन्।

तमानखोला–३ धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड –९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ।

ढोरपाटन –७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ। तमानखोला–४ सन्तरमा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

यस्तै गलकोट –१ फैरसोतमा बाढीले दुई पक्की र तीन कच्ची घर, दुई होटल तथा रिसोर्ट र एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बागलुङ नगरपालिका–३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ। काठेखोला – १, २, ६ र ७ मा एक घर तथा चार गोठमा क्षति पुगेको छ। बाढीपहिरोमा मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन्। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिए।

बागलुङको निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराएको छ। गाउँपालिकाभित्र मानवीय तथा भौतिक क्षति पुर्याएपछि गाउँपालिकाले तत्कालै नगद तथा खाद्यन्न राहत उपलव्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए।

गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको हो। गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति रु ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु ३० हजार र जोखिममा रहेका परिवारलाई रु १० हजारका दरले राहत उपलब्ध गराइएको छ।

पाँच जना मृतकको परिवारलाई रु ५० हजारका नगद राहत उपलब्ध गराइएको थियो भने घरमा क्षति भएका २४ परिवारलाई रु ३० हजारका दरले र घरमा आंशिक क्षति भएका २१ परिवारलाई रु १० हजारका दरले सहयोग प्रदान गरिएको छ। निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति भएको छ भने २१ जनाको घर उच्च जोखिममा रहेको छ। साथै चामाल तथा त्रिपालसमेत प्रदान गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link