२० दिनको लगातार प्रयासपछि कालीगण्डकी कोरिडोर प्रसारण लाइन मर्मत सम्पन्न

कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना-खुर्कोट प्रसारण लाइन मर्मत गरिएको छ।

विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण गरिएको हो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवा र ६ धिरच्याङमा प्रसारण लाइनका तीनवटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित एक सय ७६ मेगावाट विद्युत् गत असोज ११ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन्।

नेपाल विद्युत प्राधिकरणको गण्डकी प्रदेश ग्रिड शाखा पोखराका प्रमुख रोशन खड्काले बाढीले ढलाएका तीन वटा टावरको विकल्पमा एक वटा अस्थायी टावर बनाई तार तान्ने काम सकिएपछि शनिबार राती साढे १० बजे लाइन चार्ज गरिएको जानकारी दिए।

“नेपाल विद्युत प्राधिकरण र कालीग्ण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाका प्राबिधिक जनशक्ति परिचालन गरेर बाढीले क्षति पुर्‍याएको २० दिनमै मर्मत गरेर विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्न सफल भएका हौ,” उनले भने “यस क्षेत्रका सबै आयोजनाले उत्पादन गरेको विद्युत खपत हुने वातावरण बनेको छ।”

प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले क्षतिग्रस्त भएका तीनवटा टावरको विकल्पमा क्यानाडा प्रविधिको एकवटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गरिएको बताए। बेनी-जोमसोम सडकको भिरकाटे खण्ड देखि पारी रहेको अन्नपूर्ण गाउँपालिका-१ दोबाको औलामा अस्थायी टावर निर्माण भएको छ।

कालीगण्डकी वेसिनमा रहेका जलविद्युत आयोजनाहरु र महाशाखाका गरी २० जनाभन्दा बढी इन्जिनियर, त्यति नै संख्यामा प्राविधिक र ५० जना भन्दा बढी मजदुरहरु पछिल्लो १५ दिनयता परिचालन भएका थिए। अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनर्निर्माणको प्रक्रिया पनि सँगसँगै अगाडी बढाउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्रसारणलाइनको टावरमा क्षति पुगेपछि दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ती गराउँदै आएका अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ५ मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी-१, ७१ मेगावाट क्षमताको निलगिरी-२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link