राष्ट्रपति विद्यादेवी भण्डारी जेठ १७ गते बाजुराको बडिमालिका जाने क्रममा सुर्खेत उपत्यका पुगी वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित काँक्रेविहारको अवलोकन गर्नपुग्नुभयो। आजभोलि यो एक पर्यटकीय स्थलको रूपमा विकसित र चर्चित भएको छ। पूर्व–पश्चिम लाम्चो परेको डाँडाको पश्चिमी थुम्कोमा छरपस्टिएका पुरातात्विक अवशेषहरू जम्मा गरेर मन्दिरको पुनर्निर्माण गरिएको छ। सर्वसाधारणदेखि बौद्धिक वर्ग पनि यो निर्माणकार्य भएबाट खुसी देखिन्छन् तर यसलाई पुरातत्वको दृष्टिकोणबाट पर्गेल्ने काम खासै भएको पाइएन। यो पुरातात्विक महत्वको क्षेत्र हो र यसलाई पुरातत्वको दृष्टिकोणबाट हेर्ने कुरामा चुक्नु धेरै कुरा गुमाउनु हो। यसतर्फ खासै चर्चा नहुनुले नेपालमा पुरातत्व विज्ञान कति उपेक्षित रहेछ भन्ने दर्शाउँछ। साथै, पुरातत्व विज्ञानका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने वर्गले पनि यस बारेमा कुरा बुझाउन नसकेको स्वीकार गरी आत्मालोचना गर्नुपर्ने अवस्था छ।
सम्पदा तथा पुरातत्वसँग सम्बन्धित सबै सरोकार प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत हुन्छ। यही ऐनअनुसार पुरातत्व विभाग स्थापित र सञ्चालित छ। काँक्रेविहारको भग्नावशेषमाथि उत्खनन् तथा मन्दिरको पुनर्निर्माणलगायतका सम्पूर्ण काम पुरातत्व विभागबाटै भएको हो तर विभागकै केही पुरातत्व अधिकृतहरू आफैं यो पुनर्निर्माण कार्यसँग सन्तुष्ट छैनन्। विभागभित्र यसबारे छलफल गर्न उनीहरूलाई सहज लाग्दैन र हीनताबोध गरेर बस्न बाध्य छन्। पुरातत्व क्षेत्रकै भएर हुनसक्छ, आफ्नो दुखेको पोख्नकै लागि ती अधिकृतहरू यो पङ्तिकारको सम्पर्कमा आउँछन् र काँक्रेविहारमा बर्बाद नै भएको अभिव्यक्ति दिन्छन्। पदीय मर्यादाका कारण खुल्न नसक्नु बेग्लै कुरा हो तर उनीहरूको चिन्ता जायज छ। उत्खनन हुन सुुरु गरेदेखिको गतिविधिलाई नियाल्दै र लेख्दै आएकाले पनि हुनसक्छ उनीहरूले मलाई दुखेसो पोखेका हुन्। मन्दिरको पुन:निर्माण कार्य पुरातत्व विभागबाटै भएको हो तर उही विभागका अधिकृतहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् भन्ने सुन्दा असहज लाग्न सक्छ। यद्यपि काँक्रेविहारको मामिलामा भने यो नौलो कुरा होइन।
काँक्रेविहार भनिए पनि यहाँ विहार वास्तुकला देख्न पाइँदैन। बौद्ध जगत्मा विहार भनेका के कस्ता हुन्छन् र हुनुपर्छ भन्ने कुरामा अलमलिनु पर्दैन। बौद्धहरू पूजा तथा धर्मअभ्यास गर्ने स्थललाई विहार भनिन्छ। भिक्षु तथा भिक्षुणीको आवासगृहको रूपमा पनि विहारलाई नै लिइन्छ तर काँक्रेविहारमा यस प्रकारको वास्तुअवशेष केही पाइँदैन। शिखर शैलीको एउटा मन्दिर छ– त्यसैलाई विहार भनिएको हो। यसलाई किन विहार भनियो भन्ने सन्दर्भमा अलि पुरानो कुरा कोट्याउनुपर्ने हुन्छ। यस डाँडामाथि पुरातात्विक भग्नावशेष देख्ने वा प्रकाशमा ल्याउने पहिलो व्यक्ति योगी नरहरीनाथ हुन्। उनलाई सन् १९५९ मा यो भग्नावशेष प्राप्त भएको हो तर यो लामो समयसम्म उपेक्षित अवस्थामै रह्यो। सन् २००३ सम्म पनि पुरातात्विक अध्ययन हुन पाएन। नेपालमा बौद्धधर्मसँग सम्बन्धित स्तूप, मूर्ति वा केही वास्तु अवशेष देख्यो कि त्यसलाई विहार भनिहाल्ने चलन गैर बौद्धसमाजमा पाइन्छ। कला, संस्कृति र इतिहास क्षेत्रमा कार्यरत प्राज्ञिक व्यक्तित्त्वहरूमा समेत यो कमजोरी रहेको अवस्थामा सर्वसाधारणमा पनि यही हुनु अनौठो कुरा होइन। लाटीकोइली डाँडाको उक्त पुरातात्विक भग्नावशेष बौद्ध धर्मसँग सम्बन्धित भनेर योगी नरहरीनाथले ठम्याइहाले र बौद्ध भएकै कारण काँक्रेविहार भनिहाले। संभवत: उक्त स्थल वा थुम्को ‘काँक्रे’ शब्दसँग सम्बन्धित थियो र त्यहाँ बौद्ध पुरावस्तुहरू पाइएको आधारमा काँक्रेविहार नामकरण गरियो।
इस्वीको बाह्रौंदेखि पन्ध्रौं शताब्दीसम्म कर्णाली क्षेत्रलाई केन्द्र बनाइ एउटा ठूलो भूक्षेत्रमा खश साम्राज्य स्थापना भएको थियो। राजा नागराजबाट स्थापित यो साम्राज्य धार्मिक दृष्टिले मूलत: बौद्ध साम्राज्य थियो। जुम्लाको सिंजा उपत्यकालाई पहिलो र दैलेखको दुल्लू क्षेत्रलाई दोस्रो राजधानी बनाएर राज्य व्यवस्था सञ्चालन गरेको पाइन्छ। करिब तीन सय वर्ष यो साम्राज्य कायम रह्यो। यसअनुसार यस क्षेत्रमा बौद्ध सम्पदा तथा कलाकृति पाइनु आश्चर्यको कुरा होइन। केही सामग्रीको आधारमा सुर्खेत उपत्यका त्यति बेला बौद्धिक केन्द्रको रूपमा देखा पर्दछ। खश साम्राज्यमा जम्मा पन्ध्र जना राजाले राज्य गरेको पाइन्छ भने ती जम्मै राजाहरू बौद्ध धर्मका पक्षपाती थिए। उनीहरू अन्य क्षेत्र वा राज्यमा बौद्ध धर्मका लागि संरक्षक भएर सरसहयोग पनि गर्दथे भन्ने कुराको पुष्टि काठमाडौं उपत्यका र भारतका ऐतिहासिक स्रोतहरूबाट पनि खुल्दछ। काँक्रेविहार मन्दिरको निर्माण कुन राजाबाट कहिले भयो, कहिले र कसरी भत्क्यो भन्ने कुराको ठोस जवाफ पाइने प्रमाणको अभाव छ। लहडवाजीमा कसैले अनुमान गरेर लेखेको लेखलाई अर्कोले प्रमाण ठान्ने र त्यहीअनुसार फलाना राजा वा ढिस्काना राजा भनेर इतिहास बनाउनुुभन्दा ठोस अध्ययन हुनु जरुरी छ। वास्तवमा काँक्रेविहारका सम्बन्धमा ठोस अध्ययन भएकै छैन।
यो पुरातात्विक महत्वको क्षेत्र हो र यसलाई पुरातत्वको दृष्टिकोणबाट हेर्ने कुरामा चुक्नु धेरै कुरा गुमाउनु हो। यसतर्फ खासै चर्चा नहुनुले नेपालमा पुरातत्व विज्ञान कति उपेक्षित रहेछ भन्ने दर्शाउँछ। साथै, पुरातत्व विज्ञानका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने वर्गले पनि यस बारेमा कुरा बुझाउन नसकेको स्वीकार गरी आत्मालोचना गर्नुपर्ने अवस्था छ।
पुरातत्वको अध्ययनमा काँक्रेविहार एक प्रकारको नौटंकी हो। २०५७ सालमा यसको उत्खननका लागि नियुक्त पुरातत्वअधिकृत अध्ययन स्थलतर्फ रवाना हुनुअघि नै काठमाडौंमा लेखेको एक पत्रमा बौद्ध भनिए पनि काँक्रेविहार हिन्दूधर्मसँग पनि सम्बन्धित भनेर लेखेका थिए। यही आशयको समाचार १६ फागुनको नेपाल समाचारपत्र दैनिकमा पनि प्रकाशित भयो। केहीपछि तत्कालीन संस्कृति मन्त्री ओमकार श्रेष्ठ काँक्रेविहार पुगी सार्वजनिक रूपमा हिन्दू मन्दिर रहेको र हिन्दू मन्दिरको निर्माण गर्ने मन्तव्य व्यक्त गर्नुका साथै स्थानीय हिन्दू धर्मावलम्बीहरूलाई उक्साउने काम गरे।
काँक्रेविहारमा हिन्दू देवीदेवताको पनि मूर्ति देख्नु र धार्मिक सहिष्णुताको भाष्य बनाउनुमा पुरातत्व विभागको हदैसम्मको लापरबाही र विषयविज्ञको अभाव हो। पूरै खश साम्राज्य महायानी बौद्ध धर्मसँग सम्बन्धित हो र यस धर्म सम्प्रदायमा गणेश, भैरव, नाग, हनुमान तथा अन्य चरित्र पाइनुलाई अन्यथा लिनु हुँदैन। यी चरित्रहरू महायानी बौद्ध सम्प्रदायमा पनि हुन्छन् भन्ने कुरा थाहा नपाएर हिन्दू चश्मा लगाउन पुगेको भनेर अनुमान गर्न गाह्रो भएन। बौद्ध धर्म भनेर थेरवाद सम्प्रदाय मात्रै बुझ्नु पुरातत्व विभागको कमजोरी त हो नै, कसैले दिएको सुझाव सुन्न पनि तयार नहुनु भने गैरजिम्मेवारीपन हो। मूर्ति विज्ञानको मामिलामा पनि काँक्रेविहारमा धेरै मात्रामा चुक्नु लाजमर्दो कुरा हो।
स्थानीय निकाय काँक्रेविहारको पुनर्निमाण सम्पन्न गरी यसलाई पर्यटकीय स्थलको रूपमा प्रस्तुत गरी आयआर्जन गर्ने ध्याउन्नामा थियो भने पुरातत्व विभागको ध्यान ठेकापट्टा मिलाउने चक्करमा। यस क्रममा निर्माण कार्य अलपत्र पारेर ठेकेदारहरू भाग्ने तथा नयाँ ठेकेदार नियुक्त गर्ने क्रम लामो समय नै चलेर अन्तत: पुनर्निर्माण कार्य सम्पन्न भयो। पुनर्निर्माण कार्यसँगै उठेका पुरातत्वसम्बन्धी प्रश्नहरूको जवाफ अन्यत्रका लागि शिक्षाप्रद हुन्छ।
काँक्रेविहार मौलिक रूपमा कस्तो देखिन्थ्यो र कुन वास्तु संरचनामा बनेको भन्ने कुराको कुनै प्रमाण नपाइए पनि जग तथा प्राप्त ढुंगा र अन्यत्र पाइने शैलीको आधारमा शिखर शैलीको हुनुपर्ने अनुमान हुन्छ। यत्तिकै आधारमा एउटा काल्पनिक मन्दिरको स्केच तयार पारी त्यहीअनुसार पुनर्निर्माण कार्य सुरु गरिएको हो। वास्तवमा पुरातात्विक भग्नावशेषको प्राप्तिपछि त्यस क्षेत्रमा पुनर्निर्माण कार्य गरिहाल्ने चलन छैन। गौतम बुद्धसँग सम्बन्धित लुम्बिनी, बोधगया, सारनाथ, श्रावस्ती, वैशाली, कुशीनगर आदिको प्राप्ति ठूलै उपलब्धि हो। ती क्षेत्र मात्रै नभएर नालन्दालगायतका सयौं पुरातात्विक स्थलमा पुनर्निर्माण कार्य नहुनुको कारण तत्कालीन ब्रिटिश सरकार तथा वर्तमान भारतीय सरकारसँग बजेट नभएर होइन। लुम्बिनीमा पनि पुनर्निमाण नभएर संरक्षण कार्य मात्रै भएको छ। यी स्थलहरूमा पुनर्निर्माण कार्य थाल्नुको अर्थ हो, त्यसको ऐतिहासिकता र पुरातात्विक महत्व नासिनु। काँक्रेविहारमा यही ऐतिहासिकता र पुरातात्विक महत्व मास्ने काम विधिपूर्वक भएको छ।
मौलिक नक्सा वा आकार प्रकारका बारेमा कुनै जानकारी प्राप्त नभएको अवस्थामा काँक्रेविहार जस्तो रूपमा प्राप्त भएको थियो त्यस्तै रूपमा संरक्षण गरेको भए त्यसको आधिकारिकता जीवन्त रहन्थ्यो। भविष्यमा अध्ययन गर्ने अध्येतालाई सहज पनि हुन्थ्यो। मन्दिर कसैले भत्काएको वा भूकम्पले ढलेको हुनसक्ने अनुमान छ। यसबारे अझ थप जानकारी प्राप्त हुने संभावना थियो। भग्नावशेषहरूलाई यथास्थानमा संरक्षण गरी आगन्तुकलाई सोही दृष्य अवलोकन गराउनु इतिहाससँग सम्बन्धित विषय हुन्थ्यो तर अहिले पुराना र नयाँ अवयव जोडजाड पारेर नयाँ निर्माणको वास्तु संरचना मात्रै तयार भएको छ। इतिहास, संस्कृति, पुरातत्व तथा कलाका अध्येतालाई काँक्रेविहार निल्नु न ओकल्नुको द्विविधामा पारेको छ– अन्यलाई रमाइलो मात्रै।
काँक्रेविहारको पुनर्निर्माणका क्रममा भएको अर्को नाकाम हो– यसमा रहेका पुराना मूर्तिकलालाई कुरूप बनाउनु। काँक्रेविहारमा रहेका पुरातात्विक भग्नावशेषहरूको महत्व भन्नु यसमा कुँदिएका बौद्ध कलाकृतिहरू पनि हुन्। यसैको आधारमा पनि तत्कालीन कलाशिल्पको अध्ययन गर्न सकिन्थ्यो। टुटेफुटेका मूर्तिहरू नै सही, कला अन्वेषकलाई त्यसले जति सघाउने हुन्छ, नयाँ निर्मित मूर्तिहरूले सघाउनुको सट्टा अलमल्याउने हुन्छ। अहिले टुटफुट भएका मूर्तिहरूमा ढुंगाको धुलो जमाएर टाँस्ने प्रविधि प्रयोग गरी मूर्तिलाई आकार दिन खोजिएको छ तर भद्दा देखिन्छ। मौलिकता समेत हराएको छ। यो विधिको प्रयोग मौलिक मूर्तिको प्रतिकृति प्राप्त भएको अवस्थामा मात्रै सार्थक हुन्छ र यसका लागि दक्ष जनशक्तिको दरकार पर्दथ्यो तर पुरातत्व विभाग यसतर्फ पूर्णत: उदासीन रहेको पाइयो।
काँक्रेविहार सुर्खेत उपत्यकाको एउटा पर्यटकीय आकर्षणको स्थल भएको छ र केही वर्षदेखि यहाँ प्रवेश शुल्क उठाएर आम्दानीको स्रोत पनि बनाएको छ। कतिपयलाई लाग्दो हो, इतिहास, संस्कृति, पुरातत्व तथा सभ्यताको संरक्षण यसरी हुन्छ तर ‘यसरी हुँदैन’ भन्ने शिक्षा दिने उपयुक्त उदाहरण पनि यही भएको छ। इतिहास, संस्कृति, पुरातत्व तथा कलाका विद्यार्थीले काँक्रेविहारको अवलोकनमा आउँदा हुन्छ तर यहाँबाट सिकेर जाने पाठ भनेको यस्तो गल्ती अन्यत्र गर्नु हुँदैन भन्ने हो।
तस्बिर: बसन्त महर्जन
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
बसन्त महर्जन का अन्य पोस्टहरु:
- मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
- किन र कसरी विकास भयो बौद्ध धर्म–दर्शनका अनेकौं सम्प्रदायहरू ?
- सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
- नेवार समाजमा छोरी
- सत्यमोहन जोशीसँगका सम्झना
- किन हुन सकेन विज्ञानको कसीमा राखेर धामीझाँक्रीको अध्ययन?
- दसैंमा पशुुबलि
- तीर्थ हो टुकुचा, कहाँ हराएको थियो र भेटिनलाई?
- गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी