बहुधार्मिक देश नेपालमा शाक्त सम्प्रदाय

डा.लक्ष्मीप्रसाद खतिवडा

भौगोलिक आकारले सानै भए पनि नेपाल विविधताले भरिपूर्ण देश हो । यहाँ सामाजिक, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक, वानस्पतिक लगायत मूल्य, मान्यता र जीवनयापनमा समेत विविधता पाइन्छ । विभिन्न जात जाति, भाषा भाषी र धर्मावलम्बीहरुका विचार र भावनाका शृङ्खलामा उनिएको नेपाली समाज धार्मिक, सांस्कृतिक समिश्रणको नमुना हो । धार्मिक हिसाबले हेर्दा यस सम्मिश्रणमा शाक्त सम्प्रदायको व्यापकता धेरै ठ”लो छ । किनभने नेपालका सबै जाति, जनजाति कुनै न कुनै रूपमा शाक्त मतका अनुयायी भएको, रहेको प्रमाणित हुन्छ ।

सरकारी अभिलेख अनुसार नेपालमा १ सय २५ सांस्कृतिक, १ सय २९ भाषभाषी र १० धर्मावलम्बीहरू रहेका छन् । नेपालको यस विविधतालाई कलह होइन सम्पत्तिका रूपमा लिनुपर्छ तर राष्ट्रिय र अन्तर्राष्ट्रिय बिचौलिया प्रवृत्तिले गर्दा नेपालको धर्मको अध्ययन पाठ्यक्रमबाट समेत हटाइँदैछ । नेपालमा धर्मको बुझाइमा अनेक जिलिगाँठी बुनेर नेपाल अधार्मिक राष्ट्र हो भन्नेसम्मको विचार प्रशारण गरिन्छ तर संविधानतः नेपाल बहुधार्मिक देश हो । नेपालको संविधानको धारा ३ ले भन्छ- नेपाल बहुधार्मिक राष्ट्र हो । अनि यही संविधानको धारा धारा ४ ले भन्छ नेपाल धर्म निरपेक्ष राज्य हो । राष्ट्र र राज्य दुवैको भूगोल हुन्छ । जनता हुन्छ । सरकार हुन्छ र सार्वभौमसत्ता हुन्छ । हाम्रो संविधानको धारा ३ को बहुधार्मिक भूगोल, जनता र सार्वभौमसत्ता कुन हो र धारा ४ को धर्मनिरपेक्ष भूगोल कुन हो छुट्याउन सकिँदैन । स्मरण रहोस् भूगोल, जनता र सार्वभौमसत्ता नभएको राज्य हुँदैन । सरकारले शासकीय संरचनामा धर्मनिरपेक्ष नीति अवलम्बन गर्न सक्छ । यति सहज कुरालाई संविधानमा यति जटिल बनाइएको छ कि अदालतमा बहस गर्नु परेमा संविधानको धारा ३ अनुसारको नेपालको बहुधार्मिक भूगोल र धारा ४ को धर्मनिरपेक्ष भूगोल एउटै होइन भनेर संविधान अनुसार प्रमाणित गर्न सकिन्छ ।

नेपालका धर्म यहीँका हिमाल पहाड र तराइका सेरोफेरोमा जन्मिएका हुन् । केही धार्मिक परम्पराहरू आयातीत पनि छन् । नेपालका बोन, शाक्त, शैव, ब्रह्म, बौद्ध, वैष्णव, किराती आदि नेपाली नागरिकका संस्कारबद्ध परम्पराबाट निर्माण भएका धार्मिक सम्प्रदाय हुन् । धार्मिक सम्प्रदाय दैनिक पूजाआजा गर्ने धर्मसँगमात्रै होइन यो त पहिचानसँग पनि जोडिएको हुन्छ । जाति, भाषा, धर्म, संस्कृति भनेका राज्यको पहिचान मापन गर्ने एकाइ हुन् । कुनै पनि जाति वा धर्मको पहिचान राज्यसँग जोडिएको हुन्छ । जाति वा समुदायले आफ्नो पहिचान राज्यसँग जोड्न चाहनु नागरिकको अधिकार पनि हो । देशका प्रत्येक जनजातिको भाषा, धर्म, संस्कृतिको संरक्षण सरकारको दायित्वको कुरा हो ।

धार्मिक सम्प्रदाय दैनिक पूजाआजा गर्ने धर्मसँगमात्रै होइन यो त पहिचानसँग पनि जोडिएको हुन्छ । जाति, भाषा, धर्म, संस्कृति भनेका राज्यको पहिचान मापन गर्ने एकाइ हुन् । कुनै पनि जाति वा धर्मको पहिचान राज्यसँग जोडिएको हुन्छ ।

जगतको सृष्टि, स्थिति, प्रकृति, जन्म, मृत्यु आदिका बारेमा धर्म वा सम्प्रदायका आफ्नै धारणाहरू हुन्छन् । पुरुष र प्रकृतिको संयोजनबाट सृष्टि र वियोजनबाट प्रलयका क्रियाकलाप निरन्तर चलिरहन्छन् भनेर धर्म र दर्शनले भनेको हुन्छ । यो तथ्यलाई भौतिक विज्ञानले पनि नकार्न सक्दैन । परमाणुमा निहित ऋणात्मक र धनात्मक उर्जाले कुनै वस्तु सञ्चालनमा रहेको हुन्छ । क्वान्टम फिजिक्क्स पछि स्ट्रिङ थ्यौरी (जीवा सिद्धान्त) र वेभ थ्यौरी (तरङ्ग सिद्धान्त) ले त हरेक वस्तु पदार्थ वा शक्ति दुईमध्ये एक अवस्थामा मात्र अस्तित्वमा रहन्छ भनेको छ । पदार्थको स्थितिमा रहेको बेला मात्र कुनै वस्तुलाई हाम्रो आँखाले देख्न सक्छ । शक्तिको स्थितिमा रहेको अवस्थामा हाम्रो आँखाले देख्न सक्दैन । किनभने मानिसको आँखाले त्रिआयामिक स्थितिमात्र देख्न सक्छ ।

विज्ञानले सृष्टिको मान्यतालाई जसरी व्याख्या गरे पनि सृष्टिको शक्ति भनेको नारीरूप हो भन्ने शाक्त मतको धारणा हो । अर्थात् शक्तिलाई प्रधान देवता मानेर पूजा गर्ने सम्प्रदायलाई शाक्त भनिएको हो । शक्ति (देवी) को धेरै प्राचीन कालदेखि पूजा हुँदै आएको छ । अरु सम्प्रदायमा जस्तै शाक्त मतको उद्देश्य पनि मोक्ष नै हो तर शक्तिको सञ्चय गरी बलशाली बन्नु, शक्तिको उपासना गर्नु, शक्ति नै जीवन र सत्य हो भन्नु शाक्त सम्प्रदायको मूल सार हो ।

सिवालिक वा सपादलक्ष पर्वतको आसपासमा बस्ने नेपालीका पुर्खाले आमा नै सन्सारको स्रोत हो भन्ने ज्ञान यहीँ पाएको हो । आमा मानिस मात्र होइन सम्पूर्ण प्राणीजगतकै जननी हुन् । आमाबिना यस सृष्टिको कुनै अर्थ हुँदैन भन्ने विश्वास बलियो बन्दै गएपछि हाम्रा पुर्खाको आदिम समाज मातृप्रधान बन्यो । नारीमा रहेको प्रजनक शक्तिले देवत्वकरण प्राप्त गर्यो ।

क्वान्टम फिजिक्क्स पछि स्ट्रिङ थ्यौरी (जीवा सिद्धान्त) र वेभ थ्यौरी (तरङ्ग सिद्धान्त) ले त हरेक वस्तु पदार्थ वा शक्ति दुईमध्ये एक अवस्थामा मात्र अस्तित्वमा रहन्छ भनेको छ । पदार्थको स्थितिमा रहेको बेला मात्र कुनै वस्तुलाई हाम्रो आँखाले देख्न सक्छ । शक्तिको स्थितिमा रहेको अवस्थामा हाम्रो आँखाले देख्न सक्दैन । किनभने मानिसको आँखाले त्रिआयामिक स्थितिमात्र देख्न सक्छ ।

आत्मा, चेतना, स्थूलवस्तु, त्यसको उत्पति र आधार पञ्चतत्व हुन् । पृथ्वी, जल, तेज, वायु र आकाश (इथर) तत्वबिना मानिसको अस्तित्व नै हुँदैन । यस अर्थमा सबै मानिसहरू शाक्त सम्प्रदायको विचार बोकेर हिँडिरहेका छन् । अर्थात सम्पूर्ण नेपाली समाज शक्तिपूजक सम्प्रदायको समुच्चय हो ।

साहित्यिक, दार्शनिक धारबाट हेर्दा शक्ति पूजाको स्रोत वेदसम्म पुग्छ । जनजातिको कुरा गर्दा किरात जातिको स्रोत पनि वेदमा उल्लेख छ । आर्य, अनार्य, क्षेत्री, बाहुन, राई, लिम्बू, थारू, झाँगर, यादव, राजपुत,थकाली, कोच, राजवंशी, शेर्पा, तामाङ सबै जाति कुनै न कुनै रूपमा शाक्त मत मान्छन् । नेपालमा शाक्त दर्शनको प्राचीनतालाई हेर्दा वैदिक र पौराणिककालसम्म पुग्नुपर्ने हुन्छ । तर कतिपय शाक्त सम्प्रदायका अनुयायीहरूले यस धर्मलाई वैदिक धर्मभन्दा पुरानो मान्छन् । यस धर्मको विकास वैदिक धर्मसँग मेल खायो वा यसलाई पछिल्लो कालमा सनातन धर्ममा समावेश गरियो यस कुराको अध्ययन हुन बाँकी नै छ ।

वैष्णव सम्प्रदायमा विष्णुको पूजा; शैव सम्प्रदायमा शिवको पूजा गरिए जस्तै शाक्त सम्प्रदायमा भगवती शक्ति स्वरूपाको पूजा हुन्छ । शाक्त मतावलम्वीहरूका लागि शक्ति भन्नु नै स्त्री (देवी) अवतार हो । शाक्तहरूका पनि अनेक मत र मार्ग छन् । शाक्त मत तन्त्रको पूजा गर्ने पद्धतिको मार्ग हो । शाक्त सम्प्रदायको सिद्धान्त त्रिपुरा रहस्य, मालिनी विजय, कुलार्णव तन्त्र आदि ग्रन्थहरूमा उल्लेख छ । कतिपय शाक्तहरू वेद, पुराण, देवीमाहात्म्य, देवी भागवत, चण्डी आदिलाई पनि सिद्धान्तको स्रोत मान्छन् ।

वेद, पुराण, दर्शन, स्मृति, महाकाव्य, उपनिषद तन्त्रग्रन्थ आदि देवी वा शक्तिमाताका महिमाले भरिएका छन् । ऋग्वेदका मन्त्र स्त्री हि ब्रह्मा बभूविथ ( ऋग्वेद. ८.३३.१९) अर्थात नारी नै ब्रह्मा, ज्ञानका स्रोत, उत्पत्तिकी आधार हुन् भनिएको छ । त्यति मात्र होइन वेदमा नारीलाई सरस्वतीको रूप पनि मानिएको छ । प्रतितिष्ठ विराऽसि, विष्णुरिवेह सरस्वति । सिनिवालि प्र जायतां भगस्य सुमतावसत् । (अथर्ववेव १४.२.१५) अर्थात् हे सरस्वति ! तिमी यहाँ विष्णुजस्तै प्रतिष्ठित हौ । ए भाग्यमानी नारी ! तिमी सृष्टि गरेर भाग्यदेवको कृपा गर्छ्यौ ।

ऋग्वैदिक नारी शक्तिका रूपमा रहेका वाक, श्रद्धा र सरस्वती (त्रिदेवी) जस्तै शाक्त दर्शनले पनि शौम्य, काम्य र प्रचण्ड गरी तीन देवीको कल्पना गरेको छ । साङ्ख्य दर्शनले पनि प्रकृति र पुरुष (चित्, लोग्ने मानिस भनेको होइन) लाई मिलाउने शक्तिरूपी देवीको कल्पना गरेको छ ।

निगम र आगम दुवै शास्त्रमा शाक्तमतको विवरण पाइन्छ । निगम शास्त्र (वेदाचार) को मूल सूत्र ऋषि वादरायणको ‘अथातो ब्रह्म जिज्ञाषा’ हो भने शाक्ताचारको मूल सूत्र अगस्त्यको अथातो शक्तिजिज्ञाषा’लाई मानिन्छ । निगम शास्त्र अनुसार शक्तिदेवीको स्वरूप र उपासना पूर्णत वैदिक विधिमा आधारित हुन्छ भने आगम शास्त्र अनुसार देवी नै यस सन्सारको आदि र अन्त्य हुन भनेर तन्त्र र मन्त्र विधिमा आधारित हुन्छ ।

नेपालमा किरातकालदेखि नै शक्ति पूजाको परम्परा रहेको पाइन्छ तर मध्यकालदेखि चाहिँ व्यापकरूपमा शक्ति पूजाको विस्तार भएको पाइन्छ । आधुनिक कालमा पनि शक्तिपूजाको आकर्षण घटेको छैन । देवी मन्दिरहरूमा जानेको घुइँचो हेर्दा साधनामा फरक वृत्ति देखिए पनि शक्ति पूजा लोप भएको छैन भन्ने प्रमाणित हुन्छ ।

आगम मत अनुसार देवीका सगुण र निर्गुण रूपको उपासना हुन्छ । शाक्त आगमले तन्त्र साधनाका माध्यमबाट आध्यात्मिक अभ्यास गर्नु र मोक्ष प्राप्त गर्नुलाई मुख्य उदेश्य मान्दछ । साधना भनेकै आध्यात्मिक अभ्यास हो । यस्ता अभ्यास बाह्य र आन्तरिक गरी दुइ प्रकारका हुन्छन् । बाह्य ध्यानमा देवीको प्रतिमा स्थापना हुन्छ भने आन्तरिक ध्यानमा योगका माध्यमबाट कुण्डलिनी जगाएर सिद्धि प्राप्त गर्ने गरिन्छ । यहाँनिर शाक्त दर्शन र शैव दर्शन एक आर्कामा अन्तर्भूत भएको देखिन्छ । किनभने शाक्त र शैव दुवैमा तन्त्र विधि अनुसार साधना हुन्छ ।

शक्ति प्राप्त गर्ने इच्छाले निर्माण भएको शक्ति उपासना सार्वकालिक हो । वैदिक सनातन होस् वा जनजातिगत प्रकृतिपूजक धर्म होस् दुवै परम्परागत शक्तिकी देवीको पूजा तीन किसिममा वर्गीकरण गरेर गर्ने गरिन्थ्यो वा गरिन्छ ।

१, सौम्य रूप, २, काम्य रूप र ३, उग्र रूप । सौम्य स्वरूपिणी देवीको ईश्वरीय प्रतिरूप उमा, पार्वती, कमला, लक्ष्मी आदि हुन् । छठीमाई, अन्नपूर्णा, त्रिपुरा सुन्दरी आदि काम्य रूपका प्रतीक हुन् भने उग्र स्वरूपमा चण्डी, काली, डाकिनी, साकिनी आदि हुन् । हिजोआज तन्त्रको नाम सुन्ने वित्तिकै बोक्सी विद्या, कालो जादू, भूत प्रेत आदि कुरा बुझ्न थालिएको छ । तर यो भ्रममात्र हो । तन्त्र प्रणालीमा पञ्चमकार अर्थात मदिरा, मासु, माछा, मुद्रा र मैथुनलाई लिएर गलत अर्थ लगाइएको छ । त्यसैले यो भ्रम सिर्जना भएको हो । पञ्चमकारको सही अर्थ भनेको पञ्चमकार प्रयोगको अवस्थामा पनि उपासनालाई भुल्नु हुँदैन भनेको हो । अर्थात गृहस्थीले पनि शाक्त मत पालन गर्न सक्छन् । सिद्धिप्राप्तीका लागि घर छाडेर जोगी नबनेपनि सम्भव छ भन्ने कुरा बुझाउन नसकेर शाक्त मतावलम्बीहरू यौनाचारी हुन्छन् भनियो । शैव सम्प्रदायीहरूलाई लिङ्ग पुजक भनेजस्तै शाक्त सम्प्रदायका पञ्चमकारीलाई योनिपूजा गर्ने समुहमा राखियो । तर गुह्येश्वरी, कामाख्यमा पूजा गर्ने मानिसहरू त पहिले भन्दा बढेकै छन् । तान्त्रिक अभ्यास गर्ने केही भ्रष्ट र स्वार्थी तान्त्रिकहरूले तन्त्रमन्त्रको नाममा महिलाहरूमाथि लाञ्छना पुग्ने काम गरेको भरमा शाक्त मत लोप भएको मान्न सकिँदैन ।

नेपालमा किरातकालदेखि नै शक्ति पूजाको परम्परा रहेको पाइन्छ तर मध्यकालदेखि चाहिँ व्यापकरूपमा शक्ति पूजाको विस्तार भएको पाइन्छ । आधुनिक कालमा पनि शक्तिपूजाको आकर्षण घटेको छैन । देवी मन्दिरहरूमा जानेको घुइँचो हेर्दा साधनामा फरक वृत्ति देखिए पनि शक्ति पूजा लोप भएको छैन भन्ने प्रमाणित हुन्छ । नेपालका हरेक गाउँ र शहरमा देवी (शक्ति) आराधनाका मन्दिरहरू छन् । गुह्येश्वरी, दन्तकाली, वागेश्वरी, कमलाक्षी, छत्रेश्वरी, पाथीभरा, सिंहवाहिनी, छिन्ताङ भगवती, कमलामाई, विन्ध्यवासिनी, सखडा भगवती, तालबाराही, गढीमाई, दक्षिणकाली, शोभा भगवती, पाथीभरा जहाँसुकै होस् शक्तिको आराधना गर्ने श्रद्धालुको भीड लाग्छ । फरक यत्ति हो आजकल शाक्त साधना पद्धतिले धार्मिक पर्यटनको रूप पनि धारण गरेको छ ।

आवरण तस्बिर: विकिपेडिया

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

डा.लक्ष्मीप्रसाद खतिवडा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap