नेपाली इतिहास, सभ्यता र समाज निर्माणमा पालि भाषाको कुनै सम्बन्ध नरहेको बुझाइ नेपालका थुप्रै अध्येताहरूमा पाइन्छ। संभवत: यही भएर अध्येताहरूको ध्यान यतातिर कहिल्यै गएको पाइएन। यो प्राचीन भारतमा बोलिने एक प्रमुख जनभाषा हो। गौतम बुद्ध (ईपू ५६३–४८३) ले यसै भाषालाई माध्यम भाषाको रूपमा उपयोग गरी उपदेश दिनुका साथै प्रारम्भिक बौद्ध साहित्यको लेखन पनि यही भाषामा गरेको देखिन्छ। कतिपय भाषाको विकासमा यसको पनि प्रभाव रहने संभावनालाई नकार्न सकिँदैन। अध्ययनका लागि यो महत्त्वपूण पाटो हो भन्ने कुरा बिर्सनु मनासिब हुँदैन।
मानव सभ्यताको इतिहासमा गौतम बुद्धको सन्दर्भ पौराणिक नभएर एउटा ऐतिहासिक पाटो भएको कुरामा असहमति जनाउने अवस्था छैन। यसैगरी उनको जन्मस्थल लुम्बिनी वर्तमान नेपालको सरहदमा रहेकोमा पनि दुईमत भएन। भारतको प्राचीन इतिहास महावीर वर्धमान र गौतम बुद्ध (दुबैको समयकाल इसापूर्व छैटौं शताब्दी) को पदार्पणबाट नै खुल्दछ। यो मानव सभ्यताको प्रारम्भिककाल नभएर परिपक्व र बौद्धिक क्षेत्रमा आलोचनात्मक विमर्श गर्न सक्षम भइसकेको समय थियो। त्यहीबेला सभ्यताका अन्य कतिपय अवयवहरू पनि विकसित अवस्थामा थिए।
बुद्धकालीन परिवेशमा सम्पर्क वा जनबोलीका रूपमा प्रचलित भाषा प्राकृत नामबाट चिनिन्थ्यो भने त्यसैलाई मागधी भाषा पनि भनिन्थ्यो। विद्वान् पण्डितहरूको प्रयोजनका लागि संस्कृत भाषा व्यवहारमा थियो भने जनसाधारणका लागि दैनिक जीवनमा उही प्राकृत भाषा रहेको थियो। बुद्धका उपदेशहरू सर्वसाधारणदेखि दिग्गज विद्वान्हरूसँग गरिएका सम्वादको रूपमा पाइन्छन्।
बुद्धका उपदेशहरू संस्कृत भाषामा छन्दबद्ध गर्ने प्रस्तावलाई बुद्धले स्वीकृति दिएका थिएनन्। यसबाट संस्कृत भाषाको स्थान तत्कालीन धर्मगुरु, दिग्गज बौद्धिक र पण्डित वर्गमा लोकप्रिय भए पनि जनसाधारणको पहुँचमा नभएको देखिन्छ।
बुद्धको मनसुवा आफ्ना उपदेशहरू जनसाधारणको पहुँचमै रहोस् भन्ने बुझिन्छ। कालान्तरमा बुद्धका उपदेशहरू संस्कृत भाषामा लिपिबद्ध गरिए तर प्रारम्भिक बौद्ध साहित्य भने जनसाधारणले बोलीचालीका लागि उपयोग गरिरहेको पालि भाषामा नै रह्यो।
स्वयम्भू पुराणजस्ता पौराणिक साहित्यमा गौतम बुद्धको आगमन काठमाडौं उपत्यकामा भएको उल्लेख छ तर यो सन्दर्भ त्यही एउटा स्थानीय ग्रन्थलेबाहेक अन्यले उल्लेख गरेको पाइएको छैन्। गौतम बुद्धको काठमाडौं उपत्यका यात्रा गरी विभिन्न गतिविधिमा संलग्न रहेको भन्ने दाबी स्थानीयको महत्त्व दर्साउन पछि बनाइएको कथा मात्रै हो। किनभने इतिहास, पुरातत्वलगायतका कुनै पनि सामग्रीले यसलाई पुष्टि गर्न सकेको देखिँदैन।
नेपालमा पालि भाषाको अध्ययन काठमाडौं उपत्यकामा मात्रै नभएर उपत्यका बाहिर, दक्षिणको तराई क्षेत्र र नेपालको पश्चिमी भूभागमा पनि गर्न सकिन्छ। बुद्धको महापरिनिर्वाणको २३४ वर्षपछि बुद्धको जन्मस्थान लुम्बिनी र गृहनगर कपिलवस्तुमा मौर्य सम्राट अशोकले राखेको अभिलेख समेत विशुद्ध पालि भाषामा छैन। समयको अन्तराल र स्थानीय भाषिक भेदले पनि यस्तो भएको अनुमान गर्न सकिन्छ। यसबाट बुद्धकालीन समयभन्दा अघि र पछि पनि नेपालको विभिन्न भागमा पालि भाषा प्रचलनमा थियो भनेर बुझ्न सकिन्छ।
सर्वास्तिवाद नामको एक बौद्ध सम्प्रदायको ग्रन्थ ‘मूलसर्वास्तीवाद–विनयसङ्ग्रह’ ले भने गौतम बुद्धका उपवस्थापक (निजी सचिव) भिक्षु आनन्द काठमाडौं उपत्यका आएको वर्णन गरेको छ। वर्णनअनुसार काठमाडौं उपत्यकामा दक्षिणतिरबाट आउने उनी पहिलो व्यक्ति थिएनन्, त्यसवेला उपत्यकामा व्यापारी र अन्य वर्गकोसमेत आउजाउ हुन थालिसकेको थियो। भिक्षु आनन्द पनि व्यापारीहरूकै साथ लागेर काठमाडौंमा आएका थिए। सर्वसाधारणले तत्कालीन परिवेशमा सम्पर्कका लागि ठूलो भूगोलमा माध्यम भाषाको रूपमा पालि भाषा उपयोग गरेको देखिए पनि तत्कालीन काठमाडौं उपत्यकामा भने बेग्लै भाषाको अस्तित्व रहेको देखिन्छ। साथै दक्षिणी क्षेत्रमा सम्पर्क भाषाका रूपमा व्यापक तवरले पालि भाषा प्रयोग हुने भएका कारण स्थानीय भाषामा यसको प्रभावलाई बेवास्ता गर्न सकिँदैन।
काठमाडौं उपत्यकामा पाइएका लिच्छविकालीन अभिलेखहरू संस्कृत भाषामा छन्। हालसम्म पाइएका अभिलेखमा सबैभन्दा पुरानो शिलालेख राजा जय वर्माको हो। उक्त अभिलेख मात्रै नभएर त्यसपछिका सबै अभिलेख संस्कृत भाषामै रहेका छन्। ती अभिलेखमा प्रयुक्त कतिपय शब्दहरू इतर संस्कृतका छन्। लिङ्ग्वल, मापचोक, सिङ्करजस्ता करिब साढे दुई सय शब्दहरू स्थानीय बोलिचालीको नेपाल भाषाबाट लिइएका हुन् भनेर सजिलै ठम्याउन सकिन्छ। किनभने ती अधिकांश शब्दहरू अहिले पनि नेवार समाजको बोलीचालीमा प्रयोग भइरहेकै छन्। यसपछि संस्कृत भाषाको प्रभाव बढ्दै गयो र पालि भाषाको प्रयोग घट्दै गयो। पछिल्लो समय स्थानीय गैरसंस्कृत स्थाननामहरू पनि संस्कृतमा अनुवाद हुँदै गएको पाइन्छ। उदाहरणका लागि कीर्तिपुरस्थित ‘सागल’ टोललाई वंशावलीमा ‘गोपुर’ भन्ने शब्दको प्रयोग गरिएको छ। नेपाल भाषामा गाई पालन गरिने क्षेत्रलाई सागल भनिन्छ। संस्कृत भाषामा गोपुर भनिए पनि सागल शब्द आजसम्म प्रचलनमा छँदैछ।
यसैगरी काठमाडौं उपत्यकाको नेवार समाजमा ज्यापू समुदायको बाहुल्यता अझै पनि पाइन्छ। ज्यापू पालि भाषाबाट लिइएको शब्द हो। गाई, भैंसी, हाँस, भेडाआदिसँग सम्बन्धित समुदायलाई क्रमश: सापू, मेय्पू, हँय्पू, फैपू भनिन्छ तर ज्यापू शब्दको निर्माण त्यसरी भएको होइन। ती त ज्यापू समुदाय अन्तर्गतका हुन्। सापू, मेय्पू, हँय्पू, फैपू आदि शब्द नेपाल भाषाको भए पनि थरजति सबै दीर्घलेख्ने नेपाली भाषाको नियमअनुसार मात्रै लेखिएको होइन। नेपाली भाषाको व्याकरणको नियम लागू नहुने नेपाल भाषामा पनि लेखन तथा बोलिचाली दुबैमा दीर्घ उकार नै प्रयोग हुन्छ। तर ज्यापूका लागि नेवार समाजमा लेखन तथा बोलिचालीमा ह्रस्व उकार प्रयोग गरेर ‘ज्यापु’ भन्ने गरिन्छ। सापू, मेय्पू, हँय्पू, फैपू आदि शब्दसँग संस्कृत वा पालि भाषाको कुनै सम्बन्ध छैन तर ज्यापु शब्द संस्कृत वा पालि भाषाबाट बनेको छ। यी दुबै भाषामा ‘ज्या’ शब्दले भूमि वा धरतीको अर्थ दिन्छ। संस्कृत वा पालि भाषा बोल्नेहरू काठमाडौं उपत्यकामा आउँदा यहाँका पुुराना वासिन्दालाई ‘भूमिपुत्र’ वा ‘धरतीपुत्र’को अर्थमा सम्बोधन गर्दा ‘ज्यापुत्र’ (संस्कृत) वा ‘ज्यापुत्त’ (पालि) भनिएको र पछि त्यही शब्द अपभ्रंश भएर ‘ज्यापु’ रुढ हुन गएको देखिन्छ।
पालि र नेपाली दुई भाषालाई एकै ठाउँमा राखेर तुलनात्मक अध्ययन गर्दा छक्क पर्नुपर्ने गरी समानताहरू प्रकाश हुनेछन्। केही उदाहरण हेरौं: नेपाली भाषाको गणना पद्धतिमा उन्नाईस, उनन्तीस, उनन्चालीस, उनन्पचास भन्नाले एक घटी वीस, एक घटी तीस, एक घटी चालीस, एक घटी पचास भनेको हो। पालि भाषाको गणना पद्धतिमा पनि यही छ। यही पद्धति नेपाली भाषामा आएको हुनसक्ने सभावना धेरै देखिन्छ।
संस्कृत शब्द ‘स्तूप’ बुझाउने पालि शब्द ‘थूप’ हो। पालिको यो थूप शब्द नेवार समाजमा ‘थू’ र ‘थूर’ भएर अहिलेसम्म जीवित नै छ। ज्यापु र थू वा थूरजस्तै संस्कृत वा पालि भाषाबाट बनेका अन्य कतिपय शब्दहरू काठमाडौं उपत्यकामा खोज्न सकिन्छ। नेवार समुदायमा बोलिने नेपालभाषा भोटबर्मेली भाषा परिवारअन्तर्गत भएपनि यसमा भारोपेली भाषा परिवारको प्रभाव धेरै मात्रामा पाइन्छ। यो प्रभाव सुरुमा सर्वसाधारणमा पालि भाषा मार्फत र पछि बौद्धिक अभ्यासको क्रममा संस्कृत भाषाबाट भएको मान्ने आधारहरू छन्। कुनै पनि नयाँ भूगोलमा विद्वान्हरूभन्दा पहिले सर्वसाधारण नै पुग्छन्। पालि र संस्कृतमा कतिपय शब्दहरू उस्ताउस्तै हुन्छन्, उदाहरणका लागि धम्मको धर्म, कम्मको कर्म, दिट्ठीको दृष्टि आदि। नेपालमा शिलालेखलगायतका ऐतिहासिक स्रोतहरूमा संस्कृत भाषाको प्रयोग भएपछि पालि भाषा ओझेलमा पर्दै गयो। लेखन क्षेत्रमा संस्कृतकरण हुनाका साथै सबै कुरालाई संस्कृतको आँखाबाट मात्रै हेर्ने प्रवृत्तिले पालि भाषाको अस्तित्व नै नभएजस्तो हुनपुग्यो। यद्यपि स्थानीय भाषामा पालि भाषाको खोजी कार्यले इतिहास र सभ्यताका अनेक कुराहरू खुल्ने संभावना अधिक छ। ऐतिहासिक तथा भौगोलिक अवस्थितिको अध्ययन गर्दा यस क्षेत्रमा पालि भाषा पाइनु आश्चर्यको कुरा होइन। अध्ययनका लागि यो एउटा क्षेत्र हो र अध्येताहरूको ध्यानाकर्षण यतातर्फ हुनु जरुरी छ।
नेपालमा पालि भाषाको अध्ययन काठमाडौं उपत्यकामा मात्रै नभएर उपत्यका बाहिर, दक्षिणको तराई क्षेत्र र नेपालको पश्चिमी भूभागमा पनि गर्न सकिन्छ। बुद्धको महापरिनिर्वाणको २३४ वर्षपछि बुद्धको जन्मस्थान लुम्बिनी र गृहनगर कपिलवस्तुमा मौर्य सम्राट अशोकले राखेको अभिलेख समेत विशुद्ध पालि भाषामा छैन। समयको अन्तराल र स्थानीय भाषिक भेदले पनि यस्तो भएको अनुमान गर्न सकिन्छ। यसबाट बुद्धकालीन समयभन्दा अघि र पछि पनि नेपालको विभिन्न भागमा पालि भाषा प्रचलनमा थियो भनेर बुझ्न सकिन्छ।
यस्तै नेपालको पश्चिमी पहाडी भूभाग कर्णाली क्षेत्रको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उत्पत्तिस्थल मानिन्छ। दुई वा दुईभन्दा बढी भाषा र समाजसँगको अन्तरघुलनबाट भाषाहरूको विकास वा उत्पत्ति हुने हो। यस अर्थमा वर्तमानमा नेपाली भाषा भनी नाम पाएको प्राचीन ‘खश कुरा’मा पालि भाषाको प्रभावका सम्बन्धमा पनि अध्ययन गर्न सकिन्छ। पालि र नेपाली दुई भाषालाई एकै ठाउँमा राखेर तुलनात्मक अध्ययन गर्दा छक्क पर्नुपर्ने गरी समानताहरू प्रकाश हुनेछन्। केही उदाहरण हेरौं: नेपाली भाषाको गणना पद्धतिमा उन्नाईस, उनन्तीस, उनन्चालीस, उनन्पचास भन्नाले एक घटी वीस, एक घटी तीस, एक घटी चालीस, एक घटी पचास भनेको हो। पालि भाषाको गणना पद्धतिमा पनि यही छ। यही पद्धति नेपाली भाषामा आएको हुनसक्ने सभावना धेरै देखिन्छ।
यस क्षेत्रको एक महत्वपूर्ण उपत्यका ‘सुर्खेत’ लाई पुरालेखमा ‘सुरक्षेत्र’ भनेर उल्लेख गरिएको छ। सुर्खेतसँग अलि नजिकको सम्बन्ध देखाउने नाम ‘सुरक्खेत’ हुनसक्छ। क्षेत्र वा भूमिलाई पालि भाषामा ‘क्खेत’ भनिन्छ। यसरी नै अन्य दृष्टिकोणबाट पनि प्रशस्त मात्रामा पालि भाषाको तुलनात्मक अध्ययन गर्न सकिन्छ। कर्णाली क्षेत्रमा पाइएका खश साम्राज्यकालीन शिलालेखहरूको सूक्ष्म अध्ययन तथा व्याख्या हुन सकेको छैन। पालिभाषाको प्रभाव यी अभिलेखहरूमा पनि खोजिनु पर्दछ।
यो सानो लेखले नेपाली समाजमा पालि भाषाको प्रभावबारे एउटा सङ्केत वा अनुमानसम्म गरेको हो। यहाँ नेपाली र नेपालभाषाको मात्रै चर्चा गरियो। यस्तो लाग्दछ, अतीतमा पालि भाषा केही समुदाय वा भौगोलिक क्षेत्रमा जनबोलीका रूपमा र सोह्रमहाजनपद तथा अन्य जनपदमा माध्यम भाषाका रूपमा रहेको थियो।
संस्कृत भाषाको शुद्धता कायम राख्नका लागि व्याकरण तथा अन्य कुराहरूमा अलिकति पनि तलमाथि गर्ने छुट दिइएको थिएन। यस्तो अवस्थामा यो सर्वसाधारण तथा अशिक्षित वर्गमा दैनिक कामकाजको भाषा हुने संभावना न्यून छ। वर्तमान नेपालको दक्षिणतर्फको पूरै तराई भाग सोह्रमहाजनपद तथा जनपदहरूअन्तर्गत पर्दथ्यो र पालि वा पालि भाषाको प्रभाव रहेका अन्य भाषाहरू बोलिन्थ्यो भन्न सकिन्छ। यस अवस्थामा हाल यस क्षेत्रमा जीवित भाषाहरूमा पनि पालिलाई खोज्न सकिन्छ र वर्तमानको निर्माणमा पालि भाषाको योगदानलाई नकार्न सकिन्न। हिजोआज पूरै भारत र नेपालमा पालि भाषाको प्रशिक्षण न्यून त्यो पनि बौद्ध ग्रन्थ ‘त्रिपिटक’ को अध्ययनमा मात्रै सीमित छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
बसन्त महर्जन का अन्य पोस्टहरु:
- मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
- किन र कसरी विकास भयो बौद्ध धर्म–दर्शनका अनेकौं सम्प्रदायहरू ?
- सुमेधदेखि गौतम बुद्धसम्मको दीर्घ यात्रा: बौद्ध दर्शनको आधारभूत ज्ञान
- नेवार समाजमा छोरी
- सत्यमोहन जोशीसँगका सम्झना
- किन हुन सकेन विज्ञानको कसीमा राखेर धामीझाँक्रीको अध्ययन?
- दसैंमा पशुुबलि
- तीर्थ हो टुकुचा, कहाँ हराएको थियो र भेटिनलाई?
- गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी