गणतन्त्र नेपालकाे तेस्राे राष्ट्रपतिमा रामचन्द्र पाैडेल निर्वाचित

गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनुभयो।
नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको हो । सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाउनुभयो। उहाँले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उहाँलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो। कार्यक्रममा निर्वाचन अधिकृत महेश शर्मा पौडेलले निर्वाचनको मतपरिणाम घोषणा गरी नेता रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराउनुभएको थियो।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए ।
यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको छ । नयाँ संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरुबीच सहमति कायम हुन नसकेपछि संसदका बहुमत सदस्यले गोप्य मतदानबाट राष्ट्रपति चयन भएको हो ।
गत संघ र प्रदेशको चुनावी गठबन्धन पुनः एक भएपछि राष्ट्रपतिमा पौडेलको जीत सुनिश्चित भएको थियो । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति, जनमत लगायत आठ दलले समर्थन गरेका थिए ।

लोकतान्त्रिक योद्धा रामचन्द्र पौडेल 

विसं. २००१ साल असोजमा तनहुँको मिर्लुङ्स्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको हो। हाल व्यास नगरपालिका–८ बेलथुम्की स्थायी ठेगानाका पौडेल आमा ऋषिमाया पौडेल र पिता दुर्गाप्रसाद पौडेलका छोरा हुनुहुन्छ । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि उहाँ सो अन्यायविरुद्ध विद्रोही बन्दै राजनीतिमा होमिनुभएको हो।

नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेल सहभागी हुनुभयो । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभयो । ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत हुनुभयो । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी हुनुहुन्थ्यो । र, उहाँ संस्थापक केन्द्रीय सदस्य रहनु भयो ।

त्यस्तै ०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा हुनुहुन्छ।

पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री हुनुभयो । दोस्रोपटक ०४९ मा उहाँ स्थानीय विकास तथा कृषि मन्त्री हुनुभयो। ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित हुनुभयो । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गर्नुभयो । रामचन्द्रले ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भएर ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । ०६२ सालमा कांग्रेस महामन्त्री हुनुभयो।

माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि हुनुभयो । ०६३ सालमा उनी शान्ति तथा पुनर्निमाण मन्त्री हुनुभयो , जुन सरकारमा माओवादी पनि संलग्न थियो । ०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित हुनुभयो । ०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभयो । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित हुनुभयो । प्रतिनिधि सभा २०७४ को निर्वाचनमा पराजित भएका पौडेल गत संघीय निर्वाचनमा निर्वाचित भएका हुनुभयो ।
पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर  तथा संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गर्नुभएको छ । उहाँका  पाँच सन्तान छन् । पौडेलका तीनवटा पुस्तक प्रकाशित छन् । प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद लगायतका पुस्तक उहाँका कृति हुन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link