चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । यो बुधबार, मार्च १५ देखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ ।
महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।
चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै मार्च २८, २०२० अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउने छन् ।
यस्तै सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन् । सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानी जहाजबाट साङ्घाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूह भित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि बिनाभिसा यात्राको अनुमति दिएको छ ।
राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका अनुसार महामारी प्रारम्भ हुनुअघि अर्थात् सन् २०१९ मा छ करोड ५७ लाख अन्तर्राष्ट्रिय पर्यटकले चीन भ्रमण गरेका थिए । विश्वका अधिकांश मुलुकले आफ्नो अर्थतन्त्रलाई गतिशील तुल्याउने उद्देश्यले महामारीका कारण बन्द गरिएको यात्रा अनुमति पुनः खुला गरेपछि चीनले पनि गत वर्षको उत्तरार्द्धमा यात्रा अनुमति दिएको हो ।
बन्दाबन्दीको अवस्थामा महिनौँ घरभित्रै छटपटिका चिनियाँले शून्य कोभिड रणनीतिको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन गरेका थिए । महामारी नियन्त्रणका नाममा आफ्नो राजनीतिक एवम् वैयक्तिक स्वतन्त्रता हनन भएको प्रदर्शनकारीको तर्क थियो ।
यसैबीच चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताउनुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र मुख्यवक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुले बताउनुभयो।
“आधुनिकीकरणतर्फको बाटो: राजनीतिक दलहरूको दायित्व” भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेताहरू भेला हुने पनि हुले बताउनु भएको छ । सन् २०१७ मा चीनले बेइजिङमा यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो।
यसैगरी देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ।
बैठकले सिपिपिसिसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति गठनको निर्णय गरेको हो । स्थायी समिति बैठकले विशेष समितिका सञ्चालक एवम् उपनिर्देशकको नामावली पनि अनुमोदन गरेको छ ।
बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समतिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा सिपिपिसिसी राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले गर्नुभएको थियो ।
अध्यक्ष वाङले विशेष सल्लाहकार निकायको रूपमा आफ्नो भूमिका अझ सशक्त हुने जानकारी दिँदै सिपिपिसिसी राष्ट्रिय समितिको स्थायी समितिका सदस्यहरूलाई राजनीतिक परामर्शका गतिविधिहरू सावधानीपूर्वक व्यवस्थापन गर्न आग्रह गर्नुभयो । स्थायी समितिको बैठक गत आइबारदेखि प्रारम्भ भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बारपाकीले बिर्सन नसकेका भूकम्प
- नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि
- ०७२ भूकम्पको एक दशक -भत्किएका संरचना अझै बनेन्
- तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
- आज १९औँ लोकतन्त्र दिवस
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
