लुम्बिनीमा सत्तासमीकरण फेरिने

रुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनीमा पनि सत्ता समीकरण बदलिने भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री भएका लिला गिरिलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

गिरिलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । गत पुस २७ गते सात दलका ५६ र दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा गिरि नियुक्त हुनुभएको थियो । उहाँले माघ ५ गते विश्वासको मत पाउनुभएको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी सरकारमा छन् । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले भने बाहिरबाट समर्थन गरेका थिए । तर, अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा गएका छन् । मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादी सहितको गठबन्धनमा छ ।

राप्रपा मात्रै मुख्यमन्त्रीको दल नेकपा एमालेको पक्षमा उभिएको छ । मुख्यमन्त्रीलाई समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री गिरि अल्पमतमा पर्नुहुन्छ ।

माओवादीले समर्थन फिर्ता लिएपछि अरु साना दलहरुले पनि फिर्ता लिने निश्चित देखिएको छ । यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत नपाएको अवस्थामा गिरि नेतृत्वको सरकार स्वतः ढल्छ । संविधानको धारा १६८ (२) अनुसार आठ दलीय गठबन्धनको सरकार बन्छ । किनकी आठदलीय गठबन्धनसँग प्रदेशसभाको बहुमत अर्थात् कुल ५० मत हुन्छ । कांग्रेसका २७, माओवादी केन्द्रका १० , जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ ।

केन्द्रको सत्ता समीकरण यथावत रहेमा लुम्बिनीमा हालका मुखयमन्त्रीको पक्षमा नेकपा एमालेका २९ जना र राप्रपाका ४ जना गरी ३३ जना मात्र सांसद देखिन्छन् ।

संविधानको धारा १६८ (३) को प्रक्रियामा गएमा प्रदेशसभाको सबैभन्दा ठूलो दलकोरुपमा २९ सांसद रहेको एमालेको नेतृत्वमा नै सरकार बन्नेछ । एमालेकै नेतृत्वमा सरकार बनेपछि विश्वासको मत नपाए मात्र १६८ (५) अनुसार प्रदेशसभाको कुनै सदस्यको नेतृत्वमा सरकार बनाउन बाटो खुल्दछ ।

लुम्बिनी प्रदेशमा नयाँ समीकरणअनुसारको मुख्यमन्त्री कसले लिने भन्ने विषयमा कांग्रेस र माओवादीको प्रतिस्पर्धा चलिरहेको छ । कांग्रेसले अघिल्लो कार्यकालको सहमति कार्यान्वयन नगरी पुरै समय माओवादी नेतृत्वमा सरकार चलेको भन्दै अब आफुले पालो पाउनुपर्ने दाबी लिएको छ । तर, माओवादीले लुम्बिनीमा आफ्नो आधार क्षेत्र र सहमतिका लागि सजिलो हुने भन्दै पहिलो पटकमै नेतृत्व लिने गरी केन्द्रमा दबाब बढाएको छ ।

लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ सरकारको नेतृत्व लिने तयारीमा हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महराले दाबी गरिरहनुभएको छ ।

कांग्रेस संसदीय दलका नेता चौधरीले माओवादीले यसअघिकै सरकार सहमतिमा नेपाली कांग्रेसलाई अवसर नदिएकाले अहिले स्वभाविक रुपमा कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताउनुभयो । उता माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले कांग्रेसको दावी स्वभाविक भएपनि आफूहरुको आधार इलाका भएकाले केन्द्रमा दावी गरिरहेको बताउनुभएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link