कर्णाली- चिन्नेलाई ‘श्रीखण्ड’ नचिन्नेलाई ‘खुर्पाको बिंड’ भन्ने उखान जस्तै नै हो। केही समयअघि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक लेखा अधिकृतसँग यो यात्रा सुरु हुन्छ- काठमाडौँको शंखमुलबाट। नयाँ वानेश्वरबाट हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तर्फ काठमाडौँ–नेपालगञ्जको दिवा ३ वजेको बुद्ध एयर उडानका लागि ट्याक्सी भाडामा रु. ५ सय दिएर मित्रको डेरा हुँदै (पिकअप गर्दै) एयरपोर्ट लागिन्छ। त्यसै बेला अर्को एक सहउडान यात्री आफूलाई पनि तिनकुनेबाट लिफ्ट माग्छन् र एयरपोर्ट जान्छन्। तर नेपाली चलन/संस्कृति प्लेन आधा घण्टा ढिलो जेहोस् ३:३० मा उड्यो। ४:३० तिर नेपालगञ्ज उत्रियो। पूर्व तयारीका कारण सूर्खेतबाट भाडाको स्कोरपियो जिप नेपालगञ्ज विमानस्थल बाहीर हामीलाई गुडाउन तैयारी अवस्थामा रहेछ। उत्रिने वित्तिकै सुर्खेत तर्फ ४३ डिग्रीको तातो तापक्रममा गाडी भित्र पस्दा त आश्चर्य ! एसी पो रहेछ ! काठमाडौँ भन्दा स्वर्ग लाग्यो ! गाडी सुर्खेत फूपुको नाति रमेश पौडेलले व्यवस्था (भाडामा मिलाएको) गरेको थियो। भाडा मिलान प्रति दिन रु. ५ हजार थप डिजेल आफैँ हाल्नु पर्ने जम्मा ६ दिनको कुल खर्च रु. ४२ हजार। क्या सस्तो ५/६ जनाको क्षमतावान सान्दार ४ ह्वील ग्राण्ड न्यू गाडी कर्णली राजमार्ग हुँदै मुगुको गमगढी सम्मको यात्रा।
यो नीजि प्लेटको गाडी कोहोलपुर तर्फ गुड्यो। सुर्खेत तर्फ उकालो लाग्यो चिसापानीमा आर्मीको चेकीङ पछि गाडी ७ वजे भित्र सुर्खेत भित्रिने गरी गुड्यो। चालक धेरै अनुभवी १३ वर्षको उमेर देखि नै सुर्खेत–जुम्ला सडकमा ट्याक्टर चलाएको र गाडी (ट्याक्टर) मालिककै छोरीसँग प्रेम विवाह गरेकाले खप्पीस घरज्वाई परेकाले २२ वर्षको उमेरमा ११ वर्ष गाडी चलाएको अनुभवी व्यक्तिलाई प्रायः सबै अनुभव थियो। तर आङ् सिरिङ्ग हुने कुरा के थियो भने उसले सुर्खेतबाट जुम्ला खलंगा सम्मको यात्राको क्रममा विभिन्न ठाउँ, भिर, खोल्साहरू देखाउँर्दै यहाँ मेरो फलानो साथी, त्यहाँ फलानो साथी ट्याक्टरबाट खसेर मरे’ भन्थ्यो। म उसको छेउमा बसेको हुँदा निक्कै डर र जोखिमको यात्रा थियो। तर उ हाँसी खुसी गदै ठाउँ ठाउँका भट्टी र होटल, चिया पसलहरूमा जवानीका पहरेदार छोटी (तरुनी) र सेविकाहरूको रोचक प्रसंग पनि जोड्थ्यो। सानैमा आमा अर्कैसँग विवाह गरेर गएकाले माया नपाएर होला उ कठोर र निर्दयी पनि देखिन्थ्यो। जे होस चालक परिपक्क थियो।
यात्रा रोचक थियो किनभने मन्त्रालयको मेरो सहकर्मी श्रीकृष्ण भगवान अवतारको चरित्र र स्वभावको हुनुहुन्थ्यो। वर्णन के गर्नु आफैँ गर्नुस्। उहाँ हामी (चालक र म) भन्दा पछाडीको सिटमा चार व्यक्तिको विचमा विराजमान हुनुहुन्थ्यो। अन्य अतिथिहरू भिन्न भिन्न स्वभाव र भौगोलीक क्षेत्र (ईलाम, धादिङ र नवलपरासी)का तर उनिहरूको राजनीति सिद्धान्त एउटै बोकेका र मुगु जिल्लाको भाग्यरेखा (विकास योजना) कोर्ने जोतिषेहरू हुनुहुन्थ्यो। नेपालमा भूकम्प, राजनीति उथलपुथलबारे अफिसमा वसेर चिया गफ गर्दै भविश्यवाणी गर्ने धेरै जोतिषेहरू हुन्छन तर उहाँहरू विकासे जोतिषेहरू हुनुहुन्थ्यो। मेरा सहकर्मी उहाँहरूको सामुन्ने विचारा त नभनुँ अल्पमतमा पर्नुहुन्थ्यो। तर गफको बीच बीचमा उहाँ इराकको वगदादमा अमेरीकी मिसाइल पड्काए झैँ पड्काउनुहुन्थ्यो। मलाई कतै कमेन्ट गरौँ गरौँ लाग्थ्यो। तर हस्तक्षेप गरीन। यात्रा ३ दिनसम्म यही एवम रीतले चल्यो। मुगुको गमगढीमा काम सम्पन्न पछि हामी दुई आफ्नो मिसन पूरा गरी आनन्दले फिर्ता भयौँ।
अब यी कर्णाली दर्शन यात्रीहरूको छोटो परिचय पछि मेरो नियात्राको वर्णन गरौँ। म एउटा नेपाली पर्यटक भएकाले मेरो गिद्धे दृष्टिकोण पर्यटकीय हुन सक्छ, माफ गर्नुस्। हाम्रो यात्रा प्रथम दिन नेपालगञ्जबाट गाडीमा सुर्खेत बास र भोलीपल्ट विहानै ५:३० बाट सुरु हुन्छ। सुर्खेतर्को आचार्य चिया नास्ता पसलमा’ म कति भाग्यमानी (मेरो एउटा भूपू विद्यार्थीले विल तिरेपछि) जेरी, पुरी, तरकारी, चिया मस्ती डकारेपछि उत्तर पटि लागिन्छ। यात्रालाई दैलेख तर्फबाट नभएर कर्णाली तिरै तिर लागियो। बाटो हाल जुम्ला सदरमुकाम सम्मै कालोपत्र रहेकाले फिलीली चालकको सुरमा अगाडी वड्छ। दैलेख तर्फबाट वडीचौर पातलेखोला हुँदै कालीकोट तर्फ लाग्दा दुवै बाटाहरू भेटहुने डुङगेश्वर, सिद्धेश्वर शिवमन्दिर जुन दैलेखको पवित्र धार्मीक एवं पर्यटकीय मन्दिरमा पुगेर अडीन्छौँ। विहान ८/९ बजेको समय भएका कारण १/१ कप चिया पिएर सिद्धेश्वर मन्दिरको दर्शन र फोटो खिचेर हाम्रो यात्रा अगाडी वड्छ। रिठा वगरमा एउटा गुरुङ भट्टीमा खानाको लागि अडिन्छ। भित्रहरू यो यात्रामा कर्णाली र तिला नदीका चिसो पानीका मिठो स्वादका माछाका परिकार (फ्राइ र झोल)हरू प्रायः छ्यापछ्याप्ती पाइने हुँदा खान नविर्सिनु होला। यात्रा नदीको छेउबाट अगाडी वढ्ने हुँदा घना साल, चिलाउने, साज आदीका समशितोष्ण कोणधारी जंगल र सुन्दर कर्णालीको वगर हुँदै अगाडी वड्छ। ठाउँ ठाउँका (कर्णाली वारीका दैलेखलाई पनि मैले कर्णाली क्षेत्रमा राख्दछु) घरबास, खेतीपाती, पशुपालन, दिनचार्यहरू अवलोकन गर्दै अघि वड्छ। रिठा वगरको शुद्ध अर्गानीक दाल भात, तरकारी, अचार, लोकल कुखुरा वा खसीको मासु र असला जातका माछाका परिकार खाना र रुची र स्वाद अनुसार स्थानीय गाई भैँसीको घ्यू राखेर खाना खाईसकेपछी अगाडी लागिन्छ। तर यति मिठो र शुद्ध खानाको दर रेट कति ? नपत्याईदो, माछा मासु सहित भए १ सय ५० र शाहाकारी भए जम्मा रु. १ सय मात्रै। कर्णालीमा यात्रा गर्दा खानापानको पैसा खर्च धेरै छैन भनेपनि हुन्छ। यो लेखक २०४९ सालमा जुम्ला मुगु जाँदा रु. ८० थियो भने मुग्लिनमा रु. १८ थियो। हाल मुग्लिनमा कती छ ? जुम्ला मुगुमा रु. १०० छ, भन्नुस कर्णाली बासीको जीवनस्तर कहिले वढ्छ ? चेतनामा परिवर्तन कहिले आउला ? पक्कै निकट भविष्यमा आउँछ। उनीहरूको इमान्दारीता र स्थानीय स्रोत साधनले सही मूल्य पाउने छ।
लघु वर्णन सिन्जाको गर्नुपर्दा– कालीकोट सदरमुकाम मान्मा पुग्नु अघि तिला नदि र हुम्ला कर्णली संगम (दोभान) साईखोलामा पुग्दा बल्ल कर्णाली भनेको यस्तो पो रहेछ भन्ने अनुभव हुन थाल्छ। किनभने पहाड र भिरालो टाकुरामा अवस्थित मान्मा सदरमुकाम भूकम्पीय जोखीमका दृश्टीकोणले अत्यन्त जोखिम र खतरनाक देखिन्छ। तर पुरै चट्टानै चट्टान माथि भएकाले चट्टानै लडेत के गर्ने नत्र भने डाँडाको थुन्कोमा सदरमुकाम चारैतर्फ अवलोकन गर्दा अति नै रोमान्च लाग्छ। हुम्लाबाट प्लेनमा उड्दा यो सदरमुकाम आश्चर्य र रोचक ठाउँमा रहेको अनुभव हुन्छ। कालीकोट–मान्माको एक दिनको बसाई, घुमाई, हेराई गरे पछि भोलिपल्ट जुम्ला तर्फ अर्थात नाग्मा तर्फ लागिन्छ। सेतीघाट, नाग्मा, कालीकोट र जुम्लाका सिमाना रहेको एउटा चौबाटो मात्रै नभएर पुरानो व्यापारी नाका पनि हो। किनभने जुम्ला वा मुगु कालिकोट तर्फ पैदलयात्रा गर्दा यो ठाउँ भएर अगाडि वढ्नु पर्छ। अझ सिँजा खोला र तिला नदीको दोभान (संगम) भएकाले हाल यो ठाउँ एउटा प्रमुख नाका र जक्सनका रुपमा विकसित हुँदै छ।
लघु अवलोकन सिंजाको वर्णन कसरी गर्ने ? एरियल भ्यूबाट गरौँ किन भने सुन्दर सिंजा उपत्यकाका गाउँ घरहरूको घर आगनको भ्रमण गर्न पाईएन त्यसैले हामी नेपालीहरूको प्रायः धेरै जात जातिहरूको सभ्यताको उत्गम थलो सिंजा उपत्यका जुम्ला जिल्लाको सदरमुकाम खलंगा भन्दा धेरै भिन्नता छ। प्राकृतिक, सामाजिक र आर्थिक दृश्टीकोणले सम्वृद्धी सिंजा उपत्यकाका बस्तीहरू, खेतीपाती गर्ने खेतवारी, पुरातत्वीक एवं ऐतीहासिक सम्पदाका दृष्टिकोणले यो ठाउँ स्विजरल्याण्ड मनपराउने ले मनपर्नुपर्ने हो। तर हिजो भूलले दोलखाको जिरी उपत्यका मन पराएछन्। अर्थात विदेशीले नेपाल थोरै घुमे–फिरे देखे र चिने भन्नु पर्छ। तर नेपाल भूगोलमा सानो भएपनि महाकवी लक्ष्मीप्रसाद देवकोटाले भनेझैँ विशाल, शान्त र सुन्दर छ। जुम्लाका नदीहरूमाथि बनेका काठका पुलहरूको प्राविधिक र पुलमा देशका वीर महानपुरुषहरूको आकृति कुँदाईहरू हावापानी मौसम वातावरण अनुकुल बनेका घरबासहरू, सिंजा उपत्यकाको उर्वरा भूमिले उत्पादित खेतीपातीहरू विश्वको चर्चित रातो मार्सी (धान) चामल, गहुँ, चिनो, फापर, नं. १ मा स्वादिलो राजमा सिमिको परिकार, जुनु, जौ (उवा), काउनु, आलु, चिनो आदीको वास्तविक स्वाद खानेलाई थाहा होला। अरु के को वर्णन गरौँ ?? एक पटक भ्रमण गरेर हेर्नुस बल्ल मेरो आलेख र नियात्राको वर्णनको सार्थमता पाउनु हुने छ। गुच्ची च्याउ, नपोल्ने अल्लो (सिस्नो)को दाल, भेज खाना, कालिज, तित्राको मासुको सुप,बाख्राको मासु, असलमाछा (जापानीज ट्राउटमाछा) आदिले पुगेन भने स्थानीय घारको महको जडीबुटीको चिया (जम्मा रु. १० मा) खाने कि मधेशबाट भित्र्याइएको चामलबाट बनेका राष्ट्रिय जल (रक्सी) खाने विकल्प छ। अरु के को वर्णन गरौँ ?? एक पटक भ्रमण गरेर हेर्नुस बल्ल यो नियात्राको वर्णनको सार्थकता पाउनु हुनेछ।
त्यसैले प्राकृतीक सैन्दर्य र मानव सभ्यताको एउटा उत्गम स्थल जुम्ला सिंजा उपत्यका भ्रमण अवलोकन गर्नुस, २ वर्ष आयू बढाउनुस, कर्णाली बासीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन र आफूलाई रुपान्तरण हुन सिकौँ। नेपालको आन्तरिक पर्यटनलाई व्यापारीकरण गरी देश विदेशमा चिनाऔँ यही विजय दर्शन र शुभकामना छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार