- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४४ प्रतिशत रहेकोछ।
- आयात १९.१ प्रतिशतले, निर्यात २९.१ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.९ प्रतिशतले घटेकोछ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा १४.८ प्रतिशतले बढेको छ।
- शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा रहेको छ।
- कुल विदेशी विनिमय सञ्चिति रु.१४०१ अर्ब २१ करोड र अमेरिकी डलरमा १० अर्ब ६९ करोड रहेको छ।
- संघीय सरकारको खर्च रु.७७९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५८२ अर्ब ७७ करोड रहेकोछ।
- विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.१ प्रतिशतले बढेकोछ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेकोछ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेकोछ।
यी हुन चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत गरेका मुख्य बुँदा। यसले नै नेपालको समग्र आर्थिक अवस्थाको चित्रण गरिरहेको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार २०७९ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो। यो महङ्गी सरकारले आँकलन गरेको सीमाभन्दा बढी हो। आवमा मुद्रास्फीति सात प्रतिशतभन्दा कममा राख्ने सरकारको लक्ष्य हो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.३५ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७९ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार, समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ फागुन महिनामा यी क्षेत्रहरुमा क्रमशः ६.३१ प्रतिशत, ७.३६ प्रतिशत, ७.६९ प्रतिशत र ७.५६ प्रतिशत मुद्रास्फीति रहेको थियो। २०७९ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.१० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.१३ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २.१९ प्रतिशत, १०.३३ प्रतिशत र ४.९६ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.५८ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार, २०७९ फागुन महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ८.५६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.२६ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ७.४५ प्रतिशतले बढेको छ।
बढेको विप्रेषण
नेपाल राष्ट्र बैङ्कका अनुसार, चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ। गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो। फागुनसम्म विप्रेषण सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ आएको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार, फागुनमा मात्रै एक खर्ब चार अर्ब रुपैयाँ बढी विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। गत माघसम्म छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। चालु आवको आठ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव ८ प्रतिशतले वृद्धि भई छ अर्ब नौ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष यस्तो अप्रवाह २ दशमलव ६ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५४ दशमवल तीन प्रतिशतले वृद्धि भई तीन लाख ५१ हजार सात सय ६१ पुगेको छ। त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८ प्रतिशतले वृद्धि भई एक लाख ९२ हजार पाँच सय ५९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४० दशमलव तीन प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ४ अर्ब ८० करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो। अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो।
घटेको निर्यात
नेपाल राष्ट्र बैङ्कका अनुसार, भारततर्फ ३७ दशमलव पाँच प्रतिशत र चीनतर्फ चार दशमलव नौ प्रतिशतले निर्यातमा कमी आएको छ। अन्य मुलुकतर्फको निर्यात छ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार, समीक्षा अवधिमा निर्यातसँगै विदेशी वस्तुको आयातमा पनि कम भएको छ। गत आवको तुलनामा आयात १९ दशमलव १ प्रतिशतले घटेर १० खर्ब ५८ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ। अवधिमा भारतमा १७ दशमलव छ प्रतिशत र चीनमा २१ दशमलव सात प्रतिशतले आयातमा कमी आएको हो। यस्तै, अन्य मुलुकबाट हुने आयातमा समेत २१ दशमलव चार प्रतिशतले कमी आएको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार, वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, सुन, अन्य स्टेशनरी सामानलगायतका वस्तुको आयात बढ्दा सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको हो। निर्याततर्फ भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ भने आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट कमी आएको उल्लेख छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार, समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले कमी आई ९ खर्ब ५३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४ दशमलव पाँच प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात/आयात अनुपात नौ दशमलव नौ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार, अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव तीन प्रतिशत थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८५ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ४७ अर्ब तीन करोड रुपैयाँ बराबरको भएको थियो।
गभर्नरको आत्मविश्वास
नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताउनुभएको छ।
गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो,‘‘बैङ्क तथा वित्तीय संस्था तरलताको अभावको कारणले बच्नको लागि सहयोग पुगेको छ। विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगको बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी बढेको अवस्था छ। यसरी समग्रमा बैङ्क तथा वित्तीय संस्थाको सुरक्षाको सन्दर्भमा नेपालका वित्तीय संस्था र वित्तीय क्षेत्र सुरक्षित छ। सानोतिनो धक्काले कतै अप्ठ्यारो पर्ने अवस्था देख्दैनौँ। राष्ट्र बैङ्कको नीति प्रयोगको कारण यो अवस्था आएको छ। अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको कमजोरी समेतलाई हेर्दा हामी अहिलेको अवस्थाले आगामी दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ। यसको लागि उद्योगी व्यवसायी र बैंकर्स उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा अघि बढ्नुहुनेछ।’’
गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो। उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताउनुभयो। उहाँले सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो हरेको बताउनुभयो। उहाँले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनुभयो। उहाँले पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै आएको बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार