अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा जिल्लाका स्थानीय तहमा चालु आर्थिक वर्षको वैशाखसम्मको अवधिमा एक हजार पाँच सय ६४ उजुरी परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले कार्यालय मातहतका जिल्लामध्ये रौतहट, बारा र पर्सा जिल्लाका स्थानीय तहमा सबैभन्दा धेरै उजुरी आउने बताए । ‘‘चालु आवको १० महिनामा रौतहटका स्थानीय तहसम्बन्धी चार सय ३० उजुरी दर्ता भएका छन्,’’ उनले भने,‘‘दोस्रो धेरै उजुरी पर्नेमा बारामा तीन सय ९७ र पर्सा जिल्लामा तीन सय ५२ वटा उजुरी परेका छन् । ’’
कार्यालय मातहत चालु आवमा सबैभन्दा कम उजुरी भने रामेछाप र रसुवा जिल्लामा परेको छ । जहाँ १० महिनामा तीन–तीन वटा मात्रै उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले स्थानीय तहमा विधिको शासन र सुशासन कायम राख्न जरुरी रहेको बताए । ‘‘मधेस प्रदेशका स्थानीय तहमा भएका विकृतिको उजुरीको सङ्ख्या उच्च रहेको छ,’’ उनले भने,‘‘स्थानीय तहले सुशासन कायम गर्दै यहाँ देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्न आवश्यक भइसकेको छ ।’’ उनले अख्तियारमा उजुरी पर्दैमा डराउन नपर्नेसमेत धारणा राखे ।
प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरै खालका उजुरी आउने गरेको बताए । ‘‘स्थानीय तहमा विशेष गरेर सार्वजनिक खरिद र निर्माण प्रक्रियामा उजुरी धेरै आउने गरेका छन्,’’ उनले भने,‘‘ गलत इष्टिमेट तयार पार्ने । खरिद प्रक्रिया र कानुनको परिपालन गर्ने संस्कारको निकै कम देखिएको छ । उपभोक्ता समितिले जिम्मा लिएको काम अर्काे ठेकेदारमार्फत काम गराउने गलत प्रवृत्तिको पनि विकास भइरहेको छ ।’’
गत आवमा कार्यालय मातहतका १२ जिल्लामा नौ सय १८ वटा उजुरी अख्तियारमा परेका थिए ।
नायब प्रहरी उपरीक्षक श्रेष्ठले अख्तियार कार्यालय हेटौँडाले चालु आवको १० महिनामा एक हजार ३९ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ । जबकी गत आवभरिमा भने चार सय ५४ वटा उजुरी फर्छ्योट गरेको थियो । कार्यालयका अनुसार चालु आवको १० महिनामा पाँच सय २५ उजुरी फर्छ्योट गर्न बाँकी छ, भने गत आवको पनि चार सय ६४ उजुरी फर्छ्योट गर्न बाँकी छ ।
हेटौँडा कार्यालय मातहत मधेस प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका नौ जिल्ला पर्ने गर्छन् । जसमा रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपालाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट र रामेछाप जिल्ला पर्दछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाल विद्यार्थीको अभावमा बेनीका दुई विद्यालय बन्द
- पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने
- धुलिखेल-साँगा सडक खण्ड कालोपत्र सुरु
- आजका लागि निर्धारित विनिमय दर
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
