२०७९ असोजमा फेवाताल किनार, गैराको चौतारामा एउटा नयाँ होटल थपियो। तालको किनारबाट ६० मिटर छोडेर मात्र संरचना बनाउन पाइने मापदण्ड विपरित बनेको यो होटलको उद्घाटन वडाध्यक्ष विष्णु भट्टराईले गरे। फेवा किनारबाट करिब १० मिटरको दूरीमा रहेको होटलको माथिल्लो तलाबाट तालको दृश्य सुन्दर देखिने सञ्चालक ईश्वर बराल बताउँछन्।
बरालको होटल खुलेको दुई महिनापछि, त्यसको करिब २०० मिटर पर माधवप्रसाद पौडेलले ताल किनारामै २०३२ सालमा बनेको पुरानो घरमा एक तला थप्ने तयारी थाले। तर, निर्माणको काम आधा सकिन लाग्दा नगर प्रहरी सहित अनुगमनमा पुगेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले काम रोक्न निर्देशन दिए।
त्यहाँ जम्मा गरिएको गिटी–बालुवा फालियो, ठेकेदार र मजदुरलाई धपाइयो। …