अन्ततः फुट्यो एनआरएनए-समानान्तर कार्यसमिति गठन

सधैँको लफडा र किचलो हुने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पुन एक पटक फुटेको छ। नेपाली राजनीतिक दलको प्रभावमा गुटगत हुँदै पटकपटक टुक्रने र जुट्दै आएको यस संस्थाको अस्तित्व सङ्कटमा परेको छ। यसपालि त विवादरहित अधिवेशन होला की भन्ने आशा गर्ने सदस्यहरूमा पुन निराशा छाएको छ। प्रवासी नेपालीहरू जो यस संस्थासँग आबद्ध हुँदै आएका छन्, उनीहरूको मन कुँडिएको भने यो पहिलो पटक होइन।

यस संस्थाको ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा बद्री केसीका विजयी प्यानलले हिजो मात्र शपथ लिएका थिए। ११ औँ महाधिवेशनमा मतदान प्रक्रियामा धाँधली भएको भन्दै विवाद हुँदा सबै प्रक्रिया रोक्ने सहमति विपरीत एउटा पक्षले शपथग्रहण गरेपछि अर्को पक्षले समानान्तर कार्यसमिति चयन गरेको हो।

काठमाडौँमा ठुलै तामझामका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को ११ औँ महाधिवेशनमा निर्वाचन पनि भयो। मतका आधारमा अध्यक्षमा डा बद्री केसी पुनः निर्वाचित भएको घोषणा समेत गरियो। निर्वाचित पदाधिकारीहरूको घोषणा हुनासाथ निर्वाचनमा एक पक्षबाट पुरै धाँधली गरेको आरोप समेत लगायो। मत गणनामा गम्भीर त्रुटि देखिए पछि विवाद चरम उत्कर्षमा पुग्यो।

यस पटकको निर्वाचन विद्युतीय माध्यमबाट भएको थियो। निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेल मार्फत प्रेषित गरेको निर्वाचन परिणाम जस्ताको तस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सृजना हुन गई साइवर हेराहेरी मार्फत निर्वाचन परिणाम आएको भन्दै नाराबाजी समेत भएको थियो।

अस्ट्रेलियास्थित कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरेर निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै दुई उपाध्यक्षका उम्मेदवारहरूले चुनावी नतिजा अस्वीकार गरेका थिए।

निवर्तमान अध्यक्ष बद्री केसीले एकपक्षीय रूपमा शपथ लिएको आरोप लगाउँदै निर्वाचनसम्बन्धी विवादको टुङ्गो नलाग्दै गराइएको शपथ विधान विपरीत भएकाले त्यो मान्य नहुने बताउँदै अध्यक्ष कुल आचार्य र रविना थापाले छुट्टै भेला गरी महाधिवेशनलाई निरन्तरता दिनुभयो।

जिएनबीलाई प्राप्त रिपोर्ट अनुसार नयाँ कार्यसमितिको अध्यक्षमा राजेन्द्रकुमार शर्मा चयन हुनुभएको छ। उहाँ ११ औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो।

यसै गरी, नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोविन्द श्रेष्ठ छानिनु भएको छ। उपाध्यक्षका लागि सुरुको गणनामा नेपालबाट शून्य मत पाउँदै पराजित भनिएका डा.केशव पौडेललाई भेरो भोटिङले स्पेलिङ एरर सच्याए पछि विजयी घोषणा गरेको थियो। तर, उहाँले आफ्नो नाममा कुनै गल्ती नभएको , गल्ती नियतमा भएको भन्दै अहिले आफूलाई विजेता नै घोषणा गरिए पनि धाँधलीको खुलेर विरोध गर्छु भन्नुभएको छ। उहाँ बद्री केसी अध्यक्ष भएको प्यानलमा शपथ लिन अस्वीकार गर्दै समानान्तर नयाँ कार्यसमितिको उपाध्यक्षमा बस्नुभएको छ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अब्दुल वासित चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। त्यस्तै महासचिवमा बुद्धि सागर सुवेदी सर्वसम्मत रूपले चयन हुनुभएको छ।

उपमहासचिवमा सोम सापकोटा, प्रवीण गुरुङ र प्रमोद सिटौला चयन हुनुभएको छ भने सचिवमा कृष्ण गिरी, लोक दाहाल, दयानिधि सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन हुनुभएको छ। महिला सचिव विमला सापकोटा चयन हुनुभएको छ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा चयन हुनुभएको छ।

यता महिला संयोजकमा देवीका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणि सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शङ्कर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ।

त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ। अध्यक्ष शर्माले जानकारी दिए अनुसार सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुङ्गो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने भएको छ।

यसै गरी, जापानबाट अध्यक्षका प्रत्याशी महेशकुमार श्रेष्ठले पनि यो निर्वाचनको नतिजालाई अस्वीकार गर्नुभएको छ। उहाँले निर्वाचन समिति घोषणा गरेको परिणाम तुरुन्तै खारेज गरी अर्को नयाँ निर्वाचन गराउन माग गर्नुभएको थियो।

विरोधले उग्र रूप लिए पछि गैरआवासीय नेपाली सङ्घ, निर्वाचन समितिको कार्यालय, काठमाडौँले एक प्रेस विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्को मिति २०८० कार्तिक २ गते (अक्टोबर १९, २०२३) मा भेरो भोटिङ सोलुसनले विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम निर्वाचन समितिलाई इमेल मार्फत प्रेषित गरेको साथै, भेरो भोटिङले पठाएको निर्वाचन परिणाम जस्ताको तस्तै वाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सृजना भएको जानकारी गरायो। यस सम्बन्धमा भेरो भोटिङसँग वास्तविक जानकारी लिई सत्य तथ्य ब्यहोरा प्रकाशित गरिने ब्यहोरा प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुङ्गानाले भनेर विवादलाई क्षणिक थामथुम पारिएको थियो।

विकसित घटनाक्रमका कारण गैरआवासीय नेपाली सङ्घले मिति २०८०/०७/३ गतेका लागि तय गरिएका सम्पूर्ण कार्यक्रमहरू अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको तीनै जना कार्यकारी अध्यक्षहरूले एक विज्ञप्ति मार्फत जानकारी गराउनुभयो।

“गैरआवासीय नेपाली सङ्घको मिति २०८० /०७/२ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आज मिति २०८०/०७/३ गतेका लागि तय गरिएका सम्पूर्ण कार्यक्रमहरू अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा जानकारी गराउँदछौ, ” विज्ञप्तिमा भनिएको थियो।

उता, भेरो भोटिङले उम्मेदवारको नाममा स्पेलिङ एरर भएकाले परिणाम फरक पर्न गएको जानकारी दिइयो। यस पश्चात् पहिले पराजित उपाध्यक्ष का उम्मेदवार डा केशव पौडेललाई विजयी घोषणा गरियो।

तर, निर्वाचन परिणाममा गम्भीर त्रुटि भएको कारण अन्य दुई अध्यक्षका उम्मेदवारहरूले निर्वाचन परिणामलाई अस्वीकार गरे। असन्तुष्ट पक्षले शनिवार ललितपुरमा एक पत्रकार सम्मेलन गरेको थियो। बद्री केसीले आफूलाई आफै अध्यक्ष घोषित गरी शपथ लिएको र सो विधि अवैध भएको अध्यक्षका उम्मेदवारहरू महेश कुमार श्रेष्ठ र आर के शर्माले बताउनुभयो। पत्रकारहरूसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले निवर्तमान अध्यक्ष केसीले तीन जना अध्यक्षहरूबिच भएको सहमति उल्लङ्घन गरेको आरोप लगाउनुभयो।

यसै गरी पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष पदका अर्का उम्मेदवार आर के शर्माले भेरो नामक कम्पनीले गराएको मतदान र मतगणना प्रक्रियाबारे उल्लेख गर्दै यसमा गम्भीर गल्तीहरू भएका कारण आशङ्काहरू उत्पन्न भएपछि आफूहरूले छानबिन गर्न माग गरेकोमा निर्वाचन समितिले विवादको टुङ्गो नलाग्दै एकपक्षीय रूपमा केसी र उहाँ पक्षका उम्मेदवारलाई शपथ दिलाएको आरोप लगाउनुभयो।

उहाँ भन्नुहुन्छ “ विधान विपरीतको यस्तो शपथ हामीलाई मान्य छैन”। निर्वाचनका क्रममा भएका सबै अनियमितताहरूको छानबिन गर्न उहाँले माग गर्नुभयो। #जिएनबीबाट

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
अन्ततः फुट्यो एनआरएनए-समानान्तर कार्यसमिति गठन
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link