“म अहिले यहाँ हिमालयमा छु । जहाँ हिमाल पग्लिरहेका छन् र हिमनदीहरू रेकर्ड लेभलमा छन् । अन्टार्टिका र ग्रीनल्याण्डमा जस्तै यहाँ पनि जलवायु परिवर्तनको गम्भीर असर देखिइरहेका छन्”, नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सगरमाथाको काखबाट भन्नुभएको छ।
सगरमाथा क्षेत्रको अवलोकनका लागि उहाँ आज बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ पुग्नुभएको थियो। उक्त क्षेत्रको अवलोकनका क्रममा सामाजिक सञ्जाल एक्स (ट्विट्र ) मार्फत भिडियो सन्देश दिँदै महासचिव गुटेरेसले जलवायु परिवर्तन रोकथामका लागि विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
उहाँले जलवायु परिवर्तनको असरका रूपमा पर्यावरण र मानव समुदायमा नाटकीय परिवर्तन देखिन थालेको बताउनुभएको छ ।
भिडियो सन्देशमा गुटेरेसले भन्नुभएको छ, “हामीले बाढी पहिरो देख्नुपरेको छ। यहाँको समुदाय नाटकीयरूपमा प्रभावित भइरहेको छ। हामीले यसलाई रोक्न जरुरी छ।”
जलवायु परिवर्तनका असरले हिमालय क्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि आफूले विश्वसमुदायको ध्यानाकर्षण गराउन चाहेको उहाँले बताउनुभएको छ । “हामीले बढ्दो तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्नसक्नुपर्छ । यसबाट हामी पछि हट्न सक्दैनौँ”, उहाँले भिडियो सन्देशमार्फत् भन्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता पुनःव्यक्त गर्नुभएको छ । उहाँले खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तक्रिया गर्नुभएको थियो ।
सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गर्नुभएको थियो । उहाँले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको बताउनुभएको हो।
महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेटमा स्थानीय समुदायले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई निवेदन गरेका थिए। स्थानीय बासिन्दाले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आदालतद्वारा रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, समर्थकबीच खुसीको माहोल
- उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
- खोटाङकाे बुइपामा कोक, जुस, वियरलगायत आयातित पेयपदार्थमा प्रतिबन्ध
- अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु
- सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
- पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
- हमासलाई ट्रम्पको चेतावनी
- लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
- ट्रम्पको होटल अगाडि च्याटजीपीटी एआईमार्फत विस्फोट गराइएको थियो साइबरट्रक